Logo
२ जेष्ठ २०८१, बुधबार
(April 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशका विभिन्न ४ सय ६७ ठाउँमा डढेलो

गण्डकी प्रदेशका विभिन्न ४ सय ६७ ठाउँमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब ८ हजार २ सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ ।

सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए । हिमाली जिल्ला मुस्ताङबाहेक प्रदेशका १० वटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी नवलपुरमा झण्डै २५ सय ५३ हेक्टर र सबैभन्दा कम मनाङमा २ हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो ।

सबैभन्दा बढी म्याग्दीमा ८१ र मनाङमा एक स्थानमा डढेलो लागेको वन अधिकृत थापाले जानकारी दिए । नवलपुरमा ८० स्थानमा, पर्वतमा ५५, बागलुङमा ५२, स्याङ्जामा ५२, गोरखामा ५१, कास्कीमा ४५, तनहुँमा २६ र लमजुङमा २४ स्थानमा डढेलो लागेको उनको भनाइ छ ।

नवलपुरपछि सबैभन्दा बढी बागलुङमा १६ सय ८५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । पर्वतमा १४ सय १६ हेक्टर, म्याग्दीमा नौ सय २२, कास्कीमा सात सय ५०, स्याङ्जामा चार सय ९७, गोरखामा दुई सय १५, तनहुँमा एक सय ८४ र लमजुङमा ५१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ ।

डढेलोले धनजनकोसमेत क्षति निम्ताएको वन अधिकृत थापाले जानकारी दिए । बागलुङको तमानखोला गाउँपालिकामा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको र दुई जना घाइते भएको उनको भनाइ छ । ताराखोला गाउँपालिकामा स्थानीयवासीको घरगोठ जलेको र पशुधनको क्षति भएको उनले बताए । म्याग्दीमा पनि डढेलो नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएको जनाइएको छ ।

निर्देशनालयका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्यूफिट काठ र एक चट्टा दाउरा क्षति भएको छ । वन क्षेत्रमा हुने बोटबिरुवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आँकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताए ।

‘डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा पनि धनजनकोसमेत क्षति हुन्छ’, उनले भने ।

डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्‍याइरहेको वन अधिकृत थापाले बताए । उनले गर्मीयाममा वनमा हुने पातपतिंगर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको उनको भनाइ छ ।

मानवीय कारणले नै डढेलो लाग्ने गरेको अधिकृत थापाको भनाइ छ । ‘५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ’, उनले भने, ‘पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढिरहेको देखिन्छ ।’

प्रकाशित मिति: Apr 29, 2024

प्रतिक्रिया दिनुहोस्