Logo
१२ श्रावण २०८१, शनिबार
(May 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्ट्रेलियाको नयाँ बजेट : भिसा आकांक्षी विद्यार्थीलाई कस्तो प्रभाव पार्छ ?

२ जेठ, काठमाडौं । अस्ट्रेलिया सरकारले गत मंगलबार ल्याएको आर्थिक वर्ष २०२४र२५ को बजेटमा आप्रवासनबारे केही परिवर्तन गरिएका छन् ।

अधिकांश परिवर्तनले नेपाली भिसा आकांक्षीहरूलाई असर नगर्ने रजिस्टर्ड माइग्रेसन एजेन्ट सनत गुप्ता बताउँछन् । गुप्ताका अनुसार स्थायी रूपमा बसोबास गर्ने गरी अस्ट्रेलियाको अध्ययन भिसा आकांक्षी विद्यार्थीहरूलाई भने केही प्रभाव पार्नेछ ।

आप्रवासन योजना स्तरहरूमा कमी, ४८२ भिसाका लागि एक वर्षे अनुभव र नेशनल इन्नोभेसन भिसाजस्ता विषयमा बजेटमा गरिएको केही संशोधनबाट उनीहरू प्रभावित हुन सक्छन् ।

बजेटमा गत वर्ष बसाइँसराइको लागि व्यवस्था गरिएको एक लाख ९० हजार स्थानलाई घटाएर यसपटक १ लाख ८५ हजारमा झारिएको छ । यो सबैजसो कटौती सीप क्षेत्रबाट गरिएको हो । यसले प्रत्यक्ष रूपमा १८९, १९०, ४९१ र इम्प्लायर स्पोन्सर्ड क्याटेगोरी अन्तर्गतको भिसा प्रभावित हुनेछन् । आगामी वर्ष यी स्थानहरूमा आप्रवासीहरूबीच कडा प्रतिस्पर्धा हुने गुप्ता बताउँछन् ।

धेरै असाधारण नेपाली प्रतिभाहरूले ग्लोबल ट्यालेन्ट भिसा प्राप्त गर्न नसकेको गुप्ता बताउँछन् । अस्ट्रेलिया सरकारले आगामी वर्षको लागि सार्वजनिक गरेको बजेटमा व्यवस्था गरिएको नेशनल इन्नोभेसन भिसा ती नेपालीका लागि उपयोगी हुनसक्ने उनको बुझाइ छ ।

‘ग्लोबल ट्यालेन्ट भिसा प्राप्त गर्न चाहने नेपाली विद्यार्थीले अब तयारी थाल्नुपर्छ र यो खुल्ने बित्तिकै यसपटक धेरै नेपाली विद्यार्थीले फाइदा उठाउन सक्छन्,’ गुप्ता भन्छन् ।

बजेटले नेपाली विद्यार्थीलाई अनुकूलता थप्न सक्ने अर्को परिवर्तन ४८२ भिसाका लागि एक वर्ष अनुभवको व्यवस्था हो । टेम्पररी स्किल सर्टेज सबक्लास ९४८२० बाट स्थायी भिसा आवेदन दिन मिल्छ । यसअघि यो भिसा आवेदन दिन दुई वर्ष कामको अनुभव हुनुपर्ने व्यवस्थालाई नयाँ बजेटले संशोधन गरेर एक वर्षमा झारेको छ ।

‘नोभेम्बर २०२४ देखि ४८२ भिसा आवेदकहरूले २ वर्षको सट्टा एक वर्षको अनुभव मात्र देखाए हुने व्यवस्था लागू हुनेछ’ माइग्रेसन एजेन्ट गुप्ता भन्छन्, ‘धेरै नेपाली विद्यार्थी छन् जोसँग एक वर्षको मात्र कार्यानुभव छ, अब उनीहरूले स्पोन्सर गर्न चाहने रोजगारदाता खोज्नासाथ ४८२ भिसा आवेदन दिनसक्छन् ।’

आम्दानी करमा परिवर्तन

बजेटले अस्ट्रेलियामा रहेर वर्षभरि पूर्णकालीन काम गर्दा करको दर घटाइएको छ । जुलाई १ बाट लागू हुनेगरी गरिएको नयाँ व्यवस्थाअनुसार वार्षिक १८ हजार २०० अस्ट्रेलियन डलर कमाउनेले कर तिर्नुपर्दैन ।

त्यस्तै, १८ हजार २०१ देखि ४५ हजार डलरसम्म कमाउनेले १६ प्रतिशत, ४५ हजार एक डलरदेखि १ लाख ३५ हजारसम्म कमाउनेले ३० प्रतिशत, १ लाख ३५ हजार एक डलरदेखि १ लाख ९० हजारसम्म ३७ प्रतिशत र १ लाख ९० हजारभन्दा बढी कमाउनेले ४५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।

बजेटमा एज केयर र चाइल्ड केयरमा काम गर्नेहरूलाई आगामी वर्ष पनि तलब बढाउने घोषणा गरिएको छ ।

थपिएका अप्ठ्यारा

विद्यार्थीको सङ्ख्या सीमित गर्ने नीतिको कार्यान्वयनको क्रममा ४८५ भिसामा अस्ट्रेलिया बसिरहेका ३५ वर्ष कटेका नेपालीहरू भने प्रभावित हुन सक्छन् । यद्यपि यी नीतिगत बदलाव कार्यान्वयनको विस्तृत खाका भने आइसकेको छैन ।

त्यस्तै, स्थायी आवास (पीआर) पाउने आप्रवासीको सङ्ख्या घटाउने नीति अनुरूप विदेशी विद्यार्थी भर्नाको कोटा प्रणाली लागू गर्ने भएको छ । यो व्यवस्था लागू भएसँगै तोकिएको कोटाभन्दा बढी कुनै पनि शिक्षालयले विदेशी विद्यार्थी भर्ना गर्न सक्दैनन् र बढी विद्यार्थी भर्ना गर्ने हो भने विश्वविद्यालयहरूले विद्यार्थीका लागि आवासको पनि व्यवस्था गर्नुपर्छ ।

सरकारको नयाँ आप्रवासन रणनीति अनुरूपका परिवर्तनहरू लागू भइरहेको सन्दर्भमा भिसा र स्थायी बसोबासका आकांक्षी विद्यार्थीहरूले सावधानीपूर्वक काम गर्नुपर्ने गुप्ता सुझाउँछन् ।

 

प्रकाशित मिति: May 15, 2024

प्रतिक्रिया दिनुहोस्