Logo
१२ श्रावण २०८१, शनिबार
(May 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कान्स : मेरिल स्ट्रिपलाई मानार्थ पाम-दे ओर, रेडकार्पेटमा चम्किए स्टार (तस्वीर)

काठमाडौं । फिल्म लिजेन्ड मेरिल स्ट्रिपलाई मानार्थ पाम-दे ओर सम्मान प्रदान गर्दै कान्स फिल्म फेस्टिभलको ७७ औं संस्करण फ्रान्समा सुरु भएको छ । नेपाली समयानुसार मंगलबार राति भएको फेस्टिभलको ओपनिङ समारोह भव्य देखियो ।

सम्मान ग्रहण गर्दा स्ट्रिपका आँखा हर्षासुले भेरिएका थिए । उनले भनिन्, ‘म ४० वर्ष लाग्दै थिएँ र मलाई मेरो करिअर सकिएको जस्तो लागेको थियो ।’ दुई मिनेटसम्म गड्गडाहट ताली र स्ट्यान्डिङ ओभेसनसहित उनलाई सम्मान प्रदान गरियो ।

७४ वर्षीया ओस्कार विजेता अभिनेत्री यो सम्मानपछि खुसीले स्टेजमै नाचेकी थिइन् । फ्रान्सेली स्टार जुलिएट बिनोचेले उनलाई सम्मान प्रदान गरिन् । बिनोचेले स्ट्रिपलाई ‘अन्तर्राष्ट्रिय खजाना’ भएको बताइन् ।

समारोहमा स्ट्रिप ‘स्टार वार्स’ फेम्ड हलिउड निर्देशक जर्ज लुकाससँगै सहभागी थिइन् । फेस्टिभल समापन समारोहमा पनि लुकासलाई मानार्थ पाम-दे ओर प्रदान गर्ने तयारी छ ।

स्ट्रिप पाँच दशक लामो करिअरमा कीर्तिमान २१ पटक ओस्कार मनोनित भएकी छन्, जसमध्ये तीन अवार्ड उनले जितेकी छन् । ओपनिङ समारोहअघि स्ट्रिपसहितका सेलिब्रेटी रेडकार्पेटका आकर्षण बने ।

१० दिनसम्म चल्ने महोत्सवमा अन्तर्राष्ट्रिय सेलिब्रेटीले फेसन प्रस्तुत गरे । ओपनिङ फिल्मको रुपमा लि सिडु स्टारर ‘सेकेन्ड एक्ट’ रह्यो । यो फिल्मको कास्ट एन्ड क्रू पनि रेडकार्पेटमा सहभागी भए ।

बालेन आज रेडकार्पेटमा देखिने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि यतिबेला कान्समा सहभागी हुन फ्रान्समा छन् । उनी आज हुने रेडकार्पेटसहितका कार्यक्रममा प्रस्तुत हुने उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकारले जानकारी दिए ।

कान्सका समकक्षीको निम्तोमा सहभागी हुन मेयर बालेनले कान्स रिसेप्सनमा पनि सहभागी हुँदैछन् । साथै, भोलि एयर–वन भनिने कान्सको अडियो भिजुअल चेनको पनि अवलोकन गर्नेछन् ।

तस्वीरहरु : अन्तर्राष्ट्रिय मिडिया

         

प्रकाशित मिति: May 15, 2024

प्रतिक्रिया दिनुहोस्