Logo
११ श्रावण २०८१, शुक्रबार
(May 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्र प्रहरीको गोदाममा आगलागी : गृहको छानबिनले औंल्यायो कमजोरी

२ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकको गोदाममा एक महिनाअघि भएको आगलागीबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले सुरक्षा लापरवाही भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ ।

सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले सशस्त्र प्रहरीको भण्डार महाशाखा अन्तरगत रहेको गोदाममा सुरक्षा लापरबाही भएको निष्कर्षसहित केही दिनअघि प्रतिवेदन बुझाएको हो ।

समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएको मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बताए । ‘समितिले प्रतिवेदन बुझाएको छ, त्यसमा भएका विषयहरु चाहिँ मैले हेर्न पाएको छैन’, उनले भने ।

सशस्त्र प्रहरीको गोदाममा २६ चैतको अपराह्न ४ बजेतिर आगलागी हुँदा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्याग लगायत बन्दोबस्तीका सामानहरु जलेर नष्ट भएका थिए ।

दुई दिनपछि छानबिनका लागि गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डेको नेतृत्वमा समिति बनाएको थियो भने सशस्त्र प्रहरी बलले पनि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल नेतृत्वको समिति बनाएको थियो ।

पाण्डे नेतृत्वको समितिका एक सदस्यका अनुसार, समितिले आगलागीको कारण यकिन त गर्न सकेन । तर कम्तिमा ३७ हजार बुट, ३७ हजार स्पोर्ट सुज जलेर नष्ट हुनुलाई ‘पर्याप्त सुरक्षा संवेदनशीलता नअपनाउनु’को परिणाम भनेको छ ।

‘सशस्त्र प्रहरी बलको भण्डार महाशाखा अन्तरगतको गोदामको व्यवस्थापन चाहिँ नंं ९ पशुपति बाहिनीले गर्ने रहेछ’, समितिका एक सदस्यले भने, ‘यसको सुरक्षाका लागि डेडिकेटेड जनशक्ति पनि राखेको पाइएन ।’

सशस्त्र प्रहरीले आगलागी भएलगत्तै बाहिनीका एसपी अर्जुन खत्रीसहित ११ जनालाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालय तानेर छानबिन गरेको थियो ।

गृह मन्त्रालयको समितिले आगलागीको कारण पत्ता लगाउन पूर्वाधार नै नभएको भन्दै कारण किटान गर्न नसकिएको भनेको छ ।
तर, छानबिन समितिका एक सदस्यका अनुसार, कसैलाई स्पष्ट जिम्मेवारी नदिइएकाले कसलाई जिम्मेवार बनाउने भन्ने नै स्पष्ट हुन सकेन । यद्यपि, लापरबाही भएकोप्रति यसमा खटिएका कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने भन्दै संगठनमार्फत कारबाही गर्न प्रतिवेदन सिफारिस गरिएको ती अधिकृतले बताए ।

३७ हजार बुट राखिएको ठाउँमा एउटा सीसी क्यामरा समेत राखेको नपाइएको ती सदस्यले बताए । ‘सीसी क्यामरा भएको भए आगलागीको कारण पत्ता लगाउन पनि सहज हुन्थ्यो’, ती अधिकृतले भने, ‘यसमा सशस्त्र प्रहरी बलबाट गम्भीर लापरबाही भएको देखिन्छ ।’

उनका अनुसार, गोदामको सुरक्षाका लागि एउटा सेन्ट्री समेत राखेको देखिएन । संवेदनशील स्थानमा ‘फायर डिटेक्टर’ र सर्भिलेन्स हुनुपर्नेमा न्यूनतम संवेदनशीलता पनि अपनाएको नपाइएको छानबिन समितिको निष्कर्ष छ ।

आगलागीमा प्रयोग भइसकेका गोलीका एक बोरा खोका भने जस्ताको तस्तै भेटिएका छन् । एक अधिकृत भन्छन्, ‘गोलीका खोका स्टीलको भएकाले केही नभएको हुनसक्छ ।’

आन्तरिक छानबिन भन्छ– भवितव्य घटना

सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काका अनुसार, एआईजी वंशीराज दाहाल नेतृत्वको छानबिन समितिले पनि प्रतिवेदन बुझाइसकेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बुझाइएको प्रतिवेदनमा के निष्कर्ष छ भन्ने आफूलाई थाहा नभएको उनी बताउँछन् । भन्छन्, ‘मन्त्रालयले नै समिति बनाइसकेपछि मुख्य कुरा त्यतैबाट बुझ्नुपर्ला ।’

सशस्त्र प्रहरी स्रोतका अनुसार, आन्तरिक समितिले दमकल समयमा आउन नसक्नु पनि क्षति धेरै हुनुको कारण भएको औंल्याएको छ ।

‘त्यो दिन दुर्गा प्रसाईं समूहको सडक आन्दोलनका कारण समयमा दमकल आउन नसक्दा ४५ मिनेटसम्म आगो नियन्त्रणमा ल्याउने प्रयास नै हुन सकेन’, सशस्त्र प्रहरी स्रोतले भन्यो, ‘राति २ बजे मात्र आगो पूर्णतः नियन्त्रणमा आएकाले बढी क्षति भयो ।’

विगतमा सशस्त्र प्रहरी बलका चार जना पूर्वप्रमुखहरुबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका बेला ३ पुस २०७४ मा सशस्त्र प्रहरीको गोदाममा आगलागी भएको थियो ।

आर्थिक कारोबारको केही महत्वपूर्ण कागजपत्र जलाउने उद्देश्यले मट्टितेल छर्केर आगो लगाएको देखिएपछि सशस्त्रका हबल्दार रामकृष्ण श्रेष्ठ बर्खास्त भएका थिए । यस्तोमा एक महिनाअघि भएको आगलागीलाई पनि शंकास्पद रुपमा हेरिएको थियो ।

तर, एआईजी दाहाल नेतृत्वको आन्तरिक छानबिन समितिले भने अपराह्न ड्यूटी बसेको र वरिपरि मुभमेन्ट भएको बेला घटना भएको भन्दै दुर्घटनाकै रुपमा लिनुपर्ने भनेको स्रोतले जनाएको छ ।

‘छेउछाउका मान्छेहरु पनि घरमै थिए, फेरि गुणस्तर जाँच भएर वितरण हुन लागेको सामान भएकाले आगलागीबाट कसैलाई फाइदा हुने कारण पनि देखिँदैन’, सशस्त्र प्रहरी स्रोतले भन्यो, ‘यो सबै परिस्थितिलाई समट्दै गोदामको आगलागीलाई समितिले भवितव्य भनेको छ ।’

तर, गृह मन्त्रालयको समितिले भने आगलागीको कारण पत्ता लगाउन पूर्वाधार नै नभएको भन्दै कारण किटान गर्न नसकिएको भनेको छ ।

प्रकाशित मिति: May 15, 2024

प्रतिक्रिया दिनुहोस्