Logo
१७ बैशाख २०८१, सोमबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारपछि मारिएकी बहुचर्चित हाथरस घटनाको छानबिन अब सीबीआईले गर्ने

हिन्दी फिल्म पिपली लाइभ शैलीमा प्रायः सबै भारतीय न्यूज च्यानलहरु चर्चाको विषय बनाएको भारत स्थित उत्तर प्रदेशको हाथरसमा दलित युवतीको सामूहिक बलात्कारका बारेमा विवाद बढ्दै गएपछि सरकारले यसको अनुसन्धान सीबीआईलाई सुम्पिन सिफारिस गरेको छ ।

पीडित परिवार तथा विरोध गरिरहेका सम्पूर्णले युवतीको बलात्कार भएको बताए पनि प्रहरीले भने शुक्राणु नभेटिएकाले बलात्कार भन्न नभिल्ने बताएको छ ।

त्यसैगरी, हाथरस घटनाका पीडित परिवारका सदस्यसँग कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धीले अन्ततः भेट गर्न पाएका छन् । शनिबार उनीहरुले पीडित परिवारसँग भेट गरेका हुन् ।

उनीहरुले बन्द कोठामा परिवारका सदस्यसँग कुरा गरेका हुन् । प्रियंका गान्धीले पीडित युवतीकी आमालाई अंगालो हालेकी थिइन् । उनले फेसबुकमा भेटको भिडियो लाइभ गरेकी थिइन् । पीडितको घरमा पत्रकारको उपस्थिति ठूलो संख्यामा थियो ।

पीडितका परिवारका सदस्यले सफदरजंग अस्पताल भर्ना गर्दासम्म युवतीको अवस्था राम्रो रहेको प्रियंका गान्धीलाई बताएका छन् । उनीहरुले आफ्नी छोरीको अनुहार अन्तिम पटक हेर्न नपाई प्रहरीले अन्तिम संस्कार गरेको प्रति पनि दुःख व्यक्त गरे ।

हाथरस सामूहिक बलात्कारपछि मारिएकी युवतीको परिवारको स्वीकृति बिना अन्तिम संस्कार भएकाे स्थान।

यसअघि गएको बिहीबार पीडित परिवारलाई भेट्न जाने क्रममा प्रहरीले राहुल गान्धी र प्रियंका गान्धीलाई रोकेका थिए । प्रहरीले राहुल गान्धीलाई लडाएको थियो । त्यसपछि उनीहरुलाई पक्राउ गरेको थियो ।

तर भारतको कानून अनुसार शुक्राणु नभेटिनुलाई बलात्कार नभएको मान्न सकिँदैन । युवतीको उपचारको क्रममा मृत्यु भएपछि परिवारको स्वीकृति बिना प्रहरीले मध्य रातमा शव जलाएको थियो ।

त्यसलाई लिएर उत्तर प्रदेशसहित भारतभर प्रदर्शन भइरहेको छ । लगातार बलात्कार तथा बलात्कारपछि हत्याका घटना सार्वजनिक भएका छन् ।

सरकारले त्यस्ता घटनालाई लुकाउने प्रयास गरेको भन्दै योगी सरकारको आलोचना भइरहेको छ । विपक्षीले उनको राजीनामा मागेका छन् ।

विरोध चर्किँदै गएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले हाथरस घटनाको अनुसन्धानको जिम्मा सीबीआईलाई दिन सिफारिस गरेको छ ।

शनिबार पीडित युवतीको परिवारसँग भेट्न गएको कांग्रेसको प्रतिनिधि मण्डलले न्यायीक जाँचको माग गरेका थिए । मृतकको परिवारले भइरहेको अनुसन्धानमा गम्भीर आशंका व्यक्त गर्दै प्रहरीले घटना ढाकछोप गर्ने प्रयास गरेको बताउँदै आएका छन् ।

दिल्लीबाट १६० किलोमिटरको दूरीमा उत्तर प्रदेशको हाथरसको चन्दपा थाना क्षेत्रको गाउँमा सेप्टेम्बर १४ मा स्थानीय दलित युवतीमाथि ठाकुर जातिका चार युवाले बलात्कार गरेको आरोप छ ।

पीडित युवतीले अस्पतालमा दिएको बयानमा बलात्कार भएको उल्लेख छ । तर प्रहरीले पोस्टमार्टम रिर्पोटमा शुक्राणु नमिलेकाले बलात्कार नभएको दाबी गरेको छ । त्यसको विरोध भइरहेको छ । मृतकका परिवारले अभियुक्तलाई चाँडो भन्दा चाँडो फासी दिनु पर्ने माग गरेका छन् ।

 

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्