Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्तरिक मतदानबाट उम्मेदवार बनेका दमनले संसदीय चुनाव पनि जिते

नेपाली कांग्रेसले आमचुनाव जितेको बझाङ (क) प्रदेशसभाको उपचुनावको नतिजा नेकपा एमालेले उल्ट्याएको छ ।

सोमबार आएको अन्तिम मत परिणाममा एमालेका दमन भण्डारीले कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतान्तरले पराजित गरे ।

२०७४ मंसिरको प्रदेशसभा निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले यो क्षेत्रबाट जितेका थिए । गत वर्ष असारमा भएको सडक दुर्घटनामा परी सिंहको निधन भएकाले उपचुनाव भएको हो । यो चुनावमा कांग्रेसले पृथ्वीबहादुरकै छोरा अभिषेकलाई उम्मेदवार बनाएको थियो । तर अभिषेकले जित जोगाउन सकेनन् ।

सिंहले ११ हजार ३४६ मत पाउँदा एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याएर जिते । माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार ८३१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार २१४ मत ल्याए ।

२०७४ र २०७९ को आमचुनावमा गठबन्धन भएपनि यो उपचुनावमा कुनै पनि दलहरुबीच गठबन्धन भएको थिएन । २०७९ मंसिरको चुनावमा माओवादी र एकीकृत समाजवादीको समर्थन पाएर कांग्रेसका सिंहले जितेका थिए ।

तर यसपटक सत्तारुढबीच समेत प्रतिस्पर्धा भएको थियो । अलग–अलग भएको प्रतिस्पर्धामा एमालेका भण्डारीले बाजी मारे ।

पार्टी विभाजनपछि पुराना र सिनियर नेता भानुभक्त जोशी, जिल्ला अध्यक्ष दिलबहादुर सिंह लगायत नेताहरु एकीकृत समाजवादीतिर लागे । दमन भण्डारी भने १० बुँदे सहमतिअनुसार एमालेमै बसे ।

५७ वर्षका भण्डारीले चुनावमा उम्मेदवार बनेको र जितेको यो पहिलोपटक हो । जबकी उनी २०४२ सालदेखि राजनीतिमा लागेका नेता हुन् ।छबिसपाथिभेरा गाउँपालिका–१ का भण्डारीले काठमाडौस्थित नेपाल ल क्याम्पसबाट राजनीति थालेका थिए ।

पढाइ सकेपछि बझाङ फर्किएका भण्डारीले २०५४ सालमै तत्कालीन मटेला गाविसको अध्यक्ष जितेका थिए । कानुनको अध्ययन र एमालेको विद्यार्थी राजनीतिको पृष्ठभूमि हुँदै गाविस अध्यक्ष जितेका भण्डारी २०५५ सालमै एमाले जिल्ला सदस्य बनेका हुन् । त्यसबेला गाबिस राष्ट्रिय महासंघका जिल्ला अध्यक्षसमेत बने ।

विद्यार्थी, युवा र जिल्लामा पार्टीको राजनीतिमा पनि उनी सक्रिय थिए । युवा संघमा भण्डारी तत्कालिन सेती अञ्चल सचिव समेत बने । तर संसदीय राजनीतिमा उनले अवसर पाएका थिएनन् । भण्डारीले संसदीय राजनीतिमा अहिलेसम्म अवसर नपाउनुमा बझाङमा उनी भन्दा सिनियर नेताहरु धेरै हुनु हो ।

भानुभक्त जोशी, भैरवबहादुर सिंह, अर्जुनबहादुर थापा, लालबहादुर थापा, मानवबहादुर खत्री, दिलबहादुर सिंह लगायत नेताहरु बझाङमा दमनका अग्रज हुन् । यिनै नेताहरुले २०४८ सालदेखि पालैपालो चुनाव लड्दै आए । सिनियर नेताहरु भएकाले दमन भण्डारीले पार्टीबाट संसदीय राजनीतिको टिकट कहिल्यै पाएका थिएनन् ।

२०७४ सालको चुनावपछि प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत चुनाव हुन थाल्यो । तर दमनले अवसर पाएका थिएनन् ।

२०७४ मा वाम गठबन्धन भएकाले प्रतिनिधिसभा तर्फ एमालेकै भैरवबहादुर सिंहले टिकट पाउँदा प्रदेशसभाको (१) मा अर्जुनबहादुर थापा र (२) तर्फ माओवादीका देवकी थापाले टिकट पाइन् । दुई प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव यही गठबन्धनले जित्यो । प्रदेशसभा सदस्य जितेका अर्जुन सुदूरपश्चिम प्रदेशसभाको सभामुख बने ।

वाम गठबन्धनपछि एमाले र माओवादीबीच पार्टी नै एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । तर त्यो नेकपाको एकता २०७७ मा भंग भयो भने २०७८ मा एमाले पनि विभाजित भयो ।

पार्टी विभाजनपछि पुराना र सिनियर नेता भानुभक्त जोशी, जिल्ला अध्यक्ष दिलबहादुर सिंह लगायत नेताहरु एकीकृत समाजवादीतिर लागे । दमन भण्डारी भने १० बुँदे सहमतिअनुसार एमालेमै बसे । २०६९ मा पार्टी सचिव भएकाले एमाले विभाजनपछि २०७८ मा उनी एमाले बुझाङको जिल्ला अध्यक्ष बने ।

तर जिल्ला अध्यक्ष हुँदा पनि २०७९ को आमचुनावमा उनले टिकट पाएनन् । प्रतिनिधिसभातर्फ एमालेमै रहेका सिनियर नेताहरुलाई पन्छाउँदै ऐन महरले टिकट पाउँदा प्रदेशसभाको (१) तर्फ अफिलाल ओखेडा र (२) तर्फ लालबहादुर रावलले टिकट पाए ।

दमन भण्डारीको भूमिका भने २०४८ सालका चुनावहरु जस्तै पार्टीका उम्मेदवार जिताउनेमा सीमित भयो । यद्यपि चुनावी नतिजा एमालेको पक्षमा आएन । प्रतिनिधिसभा र दुवै प्रदेशसभामा एमालेका उम्मेदवार पराजित भए ।

दमन भण्डारीको क्षेत्र रहेको बझाङ (१) मा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर चुनाव जित्दा एमालेका ओखेडाले १३ हजार ३३६ मत मात्र ल्याए । चुनाव जितेपछि पृथ्वीबहादुर सिंह सुदूरपश्चिम सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए । तर सडक दुर्घटनामा परी सिंहको निधन भयो, जसकारण उपचुनाव गर्नुपर्‍यो ।

यो उपचुनावमा भने उम्मेदवार सिफारिसमै बझाङ एमालेमा आन्तरिक मतदान भयो । मतदानमा दमन भण्डारीले लोकप्रिय मत ल्याए । उनले ९४ मत पाएर एक नम्बरमा पर्दा अफिलाल ओखेडाले ६०, प्रयागराज जोशीले १३ र गोकुल सिंहले २८ मत पाए । जबकी अफिलाल २०७९ को चुनावमा टिकट पाएर उम्मेदवार थिए ।

महिलातर्फ राधा विष्टले ६१ र जुना जाग्रीले ६८ मत पाएका थिए । सवैभन्दा धेरै मत पाएर पनि आकांक्षी सबैको नाम पार्टी केन्द्रमा पठाइएको थियो ।

आन्तरिक मतदान गराएर क्रमानुसार आएका नामहरु मध्ये दमन भण्डारीलाई नै पार्टी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको थियो । यसरी आन्तरिक मतदानमार्फत् टिकट लिने विधि अपनाएका भण्डारीले संसदीय चुनावमा पनि कांग्रेसका उम्मेदवारलाई हराउँदै प्रदेशसभा सदस्य जिते ।

प्रकाशित मिति: Apr 29, 2024

प्रतिक्रिया दिनुहोस्