Logo
१५ बैशाख २०८१, शनिबार
(February 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत : किसानहरुद्धारा देशभर बन्द आह्वान

भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् ।

संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् ।

ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द छ ।

साथै बजार, पसल र अन्य कामहरु पनि बन्द छन् । यो बन्दलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टी र किसान संगठनहरुले पनि समर्थन गरेका छन् ।

बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरुमा कडा सुरक्षा प्रबन्ध मिलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

किसानहरुको कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राखेर भारतका किसानहरु आन्दोलनमा छन् ।

राजधानी नयाँदिल्ली पुगेर सरकारलाई आफ्ना माग सुनाउने भन्दै किसानहरुले यही फागुन १ गतेदेखि ‘दिल्ली जाऔं’ अभियान पनि सुरु गरेका थिए ।

तर विभिन्न प्रदेशहरुले नाका बन्द गरेर किसानहरुलाई रोकेका छन् ।

उनीहरु सडकमै खाने, बस्ने, सुत्ने गरिरहेका छन् । किसानहरुलाई रोक्ने क्रममा प्रहरीले ड्रोनबाट अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

किसान प्रतिनिधि र सरकारबीच बिहीबार राति अबेरसम्म भएको वार्ता निष्कर्ष विहीन भएको थियो ।

भारतीय मिडियाहरुका अनुसार बिहीबार बेलुकी आठ बजेदेखि सुरु भएको वार्ता राति साढे १ बजेसम्म चलेको थियो ।

वार्ता विफल भएपछि उनीहरुले शुक्रबार बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द आह्वान गरेका हुन् ।

प्रकाशित मिति: Feb 16, 2024

प्रतिक्रिया दिनुहोस्