Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पक्राउ परेका यौन दुराचारी अमेरिकीलाई सुटुक्क फर्काइयो

इन्टरपोलको सूचनामा पक्राउ परेका एक यौन दुराचारी अमेरिकीलाई सुटुक्क फर्काइएको छ। पर्यटक भिसामा नेपाल प्रवेश गर्न खोज्ने अमेरिकी प्रियांग द्वारकादास गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका थिए। उनलाई अध्यागमन विभागले मंगलबार उतै फर्काएको हो।

उनी नेपाल आउँदै गरेको सूचना नेपालस्थित इन्टरपोलले अध्यागमन विभागलाई दिएको थियो। विभागका अनुसन्धान अधिकृत वैकुण्ठराज रेग्मीले यौन दुराचार आरोपमा सजाय भोगिसकेका द्वारकादासलाई फिर्ता पठाइएको पुष्टि गरे।

द्वारकादासलाई अमेरिकी अदालतले यौन दुराचारमा दोषी ठहर गरेको थियो। सोही अभियोगमा उनले केही समय जेल सजाय भोगेका थिए।अन्नपूर्ण पोस्टमा खबर छ ।

 

इन्टरपोलले उनी नेपाल प्रवेश गरेको र फर्किएको विवरण मात्र मागेको थियो। तर, अध्यागमनका अधिकारीले उनलाई पक्राउ गरेको थियो। यौन दुराचारको अभियोग लागेका अमेरिकी नागरिक नेपाल पस्न पाउँदैनन्। विभागले २०७४ भदौ ५ मा महानिर्देशकस्तरीय निर्णय गर्दै अमेरिकी राहदानीको पछिल्लो पृष्ठमा ‘यौन दुराचारमा दोषी ठह¥याइएको’ लेखिए त्यस्ता अमेरिकीलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन भनेको थियो।

विभागले त्यस्तो लेखिएको राहदानीवाहक अमेरिकीलाई अध्यागमन नाकाहरूबाट तत्काल फिर्ता गर्न पनि भनेको थियो। अमेरिकास्थित डिपार्टमेन्ट अफ स्टेटअन्तर्गतको कन्सुलर ब्युरोको अनुरोधमा २०७४ भदौमा विभागले यौन दुराचारी अमेरिकीलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। लगत्तै विभागले सबै अध्यागमन कार्यालय र नाकामा सोबारे परिपत्र गरेको थियो। पक्राउ परेका अमेरिकी नागरिक द्वारकादासको राहदानीको पछिल्लो भागमा सोही विषय लेखिएको थियो।

 

प्रकाशित मिति: Dec 27, 2019

प्रतिक्रिया दिनुहोस्