Logo
२ जेष्ठ २०८१, बुधबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्टरनेटमार्फत ठगी गर्ने चिनियाँ आपराधिक समूह नेपाल छिरेको खुलासा

पूर्वी एसियाली देशहरूमा धरपकड शुरूभएपछि इन्टरनेटमार्फत ठगी गर्ने चिनियाँ आपराधिक समूह नेपाल छिरेको खुलेको छ । सोमबार काठमाडौंमा पक्राउ परेका एक सय २२ मध्ये धेरैजसो विगतमा फिलिपिन्स, कम्बोडिया, भियतनाम, मलेसियालगायत देशमा बसेर यस्तो किसिमको अपराधमा संलग्न व्यक्तिहरू भएको प्रहरीले जनाएको छ ।

चिनियाँ सरकारको आग्रहमा ती देशहरूले धरपकड गर्न थालेपछि सुरक्षित भूमि ठानेर चिनियाँ नागरिक नेपाल आएका थिए । सोही सूचना पाएपछि चिनियाँ अधिकारीले नेपाली अधिकारीहरूसँग छलफल गरेर पक्राउ गराएका हुन् ।

पक्राउ परेकाहरूले हजारौँ चिनियाँलाई ठगी गरेको प्रहरीले जनाएको छ । विच्याटलगायत माध्यमबाट उनीहरूले संगठित रूपमा ठगी गरेका छन् ।

विच्याटमार्फत चिनियाँहरूसँग सम्पर्क गर्ने र विभिन्न प्रलोभनमा पारेर ठगी गर्दै आएका थिए । त्यस्तै, पक्राउ परेकामध्ये कतिपय अनलाइन जुवा खेलाउने धन्दामा थिए । केही चिनियाँ भने डलर र सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

तीन महिना लामो तयारीपछि सोमबार प्रहरीले मनमैजु, बाँसबारी र बूढानीलकण्ठका नौवटा घरमा छापा हानी चिनियाँहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूले घर नै भाडामा लिएर गोप्य अनलाइनमार्फत संगठित अपराध गर्दै आएका थिए । ‘उनीहरूले हजारौँ चिनियाँलाई ठगी गरेको चिनियाँ अधिकारीहरूले बताएका छन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘सायद उनीहरूमाथि यससम्बन्धी थप अनुसन्धान हुनेछ ।’नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्