Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिपिएलका लागि २०५ खेलाडीले नाम दर्ता गराए

काठमाडौँ : आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन २०५ खेलाडीले नाम दर्ता गराएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले उपलब्ध गराएको यही पुस १७ गतेसम्मको समयभित्र २०५ खेलाडीले नाम दर्ता गराएको आयोजक धनगढी क्रिकेट एकेडेमीले आज जनाएको छ ।

यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता मङ्गलबारसम्मका लागि तोकिएको थियो । खेलाडीले आफ्नो न्यूनतम मूल्यसहित प्रतियोगिता खेल्न नाम दर्ता गराएका हुन् । आयोजकले खेलाडीलाई न्यूनतम रु ३० हजारदेखि अधिकतम रु २ लाख ५० हजारसम्मको मूल्य राखेर नाम दर्ताको आह्वान गरेको थियो । दर्ता भएका खेलाडीलाई समावेश गर्दै आयोजकले अब खेलाडी लिलामी बिक्री प्रक्रिया अघि बढाउनेछ ।

खेलाडी लिलामी (अक्सन) यही पुस २२ गते हुने आयोजक संस्थाका अध्यक्ष सुवास शाहीले जानकारी दिए । अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ । प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा छ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई/दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्