राजपा पनि अब भाग लिनेः ‘प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय सकारात्मक’

सिंहदरबारमा बिहिबार बसेको सत्तारुढ दल र राजपाबीचको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले सरकारले औपचारिक निर्णय गर्न बाँकी भएको भएपनि आज जुन समझदारी भयो त्यसलाई राजपाले सकारात्मक रुपमा लिएरको प्रतिक्रिया दिए । सरकार र राजपाबीच दुई नम्बर प्रदेशको चुनाव सार्ने विषयमा समझदारी भएपनि बाँकी १,५ र ७ नम्बर प्रदेशको चुनाव भने असार १४ मै हुने नेताहरुले बताएका छन् ।
राजपाले संविधान संशोधनलगायतका आफूहरुको माग सम्बोधन नभएसम्म चुनाव हुन नसक्ने भन्दै आन्दोलन कै घोषणा गरेपछि सत्तारुढ दलले दुई नम्बर प्रदेशको चुनाव सार्न सहमति जनाएको हो ।
राजपाले संविधान संशोधन हुनुपर्ने, मधेसमा स्थानीय तहको संख्या थप गरिनुपर्ने, आन्दोलनका क्रममा घाइते भएकालाई उपचार र क्षतिपूर्ति तथा मृतकलाई शहीद घोषणा गरिनुपर्ने, थुनामा रहेकालाई रिहाई गरिनुपर्नेलगायतका माग राखेको छ । यसअघि नै प्रधानन्त्री शेरबहादुर देउवाले चुनावअघि संविधान संशोधन हुन नसक्ने स्पष्ट जवाफ दिएका थिए भने त्यो लगत्तै चिढिएको राजपा अब चुनाव सार्ने सहमति भएसँगै दोस्रो चरणको चुनावमा पनि सहभागि हुने र सोलगत्तै संशोधन गर्नतिर लागिने सहमति भएको बताइएको छ ।