बेनेलीको नयाँ बाइक १८०एसको बुकिङ खुल्यो, केही दिनमै डेलिभरी गरिने !
नेपाली बजारमा बेनेलीको नयाँ बाइक १८० एस उपलब्ध हुने भएको छ । बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनलले यसको बुकिङ खुलेको बताएको छ ।
गत माघ महिनामै यसको औपचारिक लन्च गरिए पनि हाल सम्म ग्राहकलाई यो बाइक डेलिभरी भएको थिएन । अब भने देशभरका सोरुमबाट बुकिङ लिइने र केही दिनमै डेलिभरी समेत हुने कम्पनी स्रोतले बताएको छ ।
नेपाली बजारमा नियोन कलरको बेनेली १८० एसको मूल्य ४ लाख ४० हजार र अन्य कलरको मूल्य ४ लाख ३० हजार रुपैयाँ हुने बताइएको छ ।
बेनेलीको सो बाइकमा थ्री स्पार्क टेक्नोलोजीको प्रयोग गरिएको छ । सो प्रविधिले बेनेलीको स्पोर्टी साउन्डलाई अझै राम्रो बनाएको कम्पनीको भनाइ छ ।
त्यसैगरी यसका कारण इन्धनको खपत पनि सही तरिकाले हुन्छ र राम्रोसँग उपयोग हुन्छ ।कम तौल, उच्च पावर र आकर्षक टेक्स्चरका कारण बेनेलीको यो प्रिमियम मोटरसाइकल लोकप्रिय छ ।
यसमा १७५.३ सीसीको सिंगल सिलिन्डर, फोर भल्व, लिक्विडकुल्ड एफआई इन्जिन छ, जसले ९५०० आरपीएममा १८ बीएचपी पावर र र ७००० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ ।
बाइकको अघिल्लो भागमा टेलिस्कोपिक सस्पेन्सन र पछिल्लो भागमा मोनोसक छ । सुरक्षाका लागि दुवै पांग्रामा डिस्क ब्रेक छ । १७० एमएम ग्राउन्ड क्लियरेन्स सहितको यो बाइकको ह्विलबेसन १३४५ एमएम छ भने १० लिटरको इन्धन ट्यांकी छ । नेपाल अटो