Logo
२० बैशाख २०८१, बिहीबार
(June 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेठभित्रै एसईई मूल्याङ्कन कार्यविधि जारी गर्ने परीक्षा बोर्डको तयारी

एसईई मूल्याङ्कन कार्यविधि जेठभित्रै जारी गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।बोर्डका अनुसार कार्यविधि तयारी भइसकेपछि विद्यालयलाई विद्यार्थीको मूल्याङ्कन गर्न दुई साताको समय दिइने छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनलाई नीतिगतरुपमा सहज बनाउन बोर्डले मूल्याङ्कन कार्यविधि बनाउन लागेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद्ले एसईई परीक्षा आन्तरिक मूल्याङ्कन विधिबाट गर्ने निर्णय गरिसकेको छ । कोरोना भाइरस रोकथामका लागि जारी निषेधाज्ञाका कारण भौतिक उपस्थितिमा परीक्षा लिन जोखिमपूर्ण हुने भन्दै विद्यालयले नै आन्तरिक मूल्याङ्कन गर्ने नीतिगत निर्णय सरकारले गरेको हो ।

कार्यविधिमा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनमा नम्बर दिने मापदण्ड निर्धारण, यसको लागि कस्तो खालको संरचना आवश्यक पर्ने, मूल्याङ्कनको जिम्मेवारी कसलाई दिनेलगायतका विषय स्पष्ट पारिने बताइएको छ ।

कोरोना भाइरसको महामारी रोकथामका कारण गत वर्ष पनि सरकारले आन्तरिक मूल्याङ्कनका लागि कार्यविधि बनाएको थियो । सोही कार्यविधिमा केही परिवर्तन गरिने जनाइएको छ ।

विद्यालयले गरेको मूल्याङ्कन सम्बन्धित जिल्लाको शिक्षा तथा समन्वय इकाइमा पठाइने छ । समन्वय इकाइले नतिजा प्रमाणित गरी बोर्डमा पठाउनु पर्नेछ ।

बोर्डले देशभरका विद्यालयबाट प्राप्त विवरण अद्यावधिक गरी अन्तिम परीक्षाफल तयारी, प्रमाणीकरण र प्रमाणपत्र जारी गर्ने छ । बोर्डले लगभग २० दिनमा अन्तिम नतिजा तयारी गर्ने अनुमान छ ।

साथै कक्षा ११ को परीक्षाको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्ने छ । कक्षा १२ को परीक्षाको लागि भने कुनै निर्णय भएको छैन । बोर्डले वैकल्पिक विधिबाट गर्ने भने पनि सरकारले यसबारे कुनै निर्णय गरेको छैन ।

प्रकाशित मिति: Jun 6, 2021

प्रतिक्रिया दिनुहोस्