Logo
१७ बैशाख २०८१, सोमबार
(April 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सा शिक्षा आयोगले कारबाही सिफारिस गरेकामाथि छानबिन गर्न अख्तियारलाई पत्र

३ वैशाख, काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएकाहरुमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ ।

६ वर्षदेखि गोप्य राखिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन मन्त्रालयले २८ चैतमा सार्वजनिक गरेको थियो । प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँ, हीरबहादुर महर्जनसहित ४३ जनालाई कारबाही सिफारिस गरिएको थियो ।

शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयका अनुसार, प्रतिवेदन सार्वजनिक गरेर प्रारम्भिक अध्ययनपछि आवयश्क कारबाही प्रक्रिया अघि बढाउन सोमबार मन्त्रीस्तरीय निर्णय भएको छ । ‘आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार समेत गर्दैछौं’, उनले भने ।

मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने अन्यको हकमा समेत विभागीय कारबाही अघि बढ्ने उनले जनाए । कारबाही सिफारिसमा परेका त्रिभुवन विश्वविद्यालयका कानूनी सल्लाहकार अधिवक्ता नारायण खनाल लगायतलाई भने विश्वविद्यालयबाट कारबाही अघि बढाइने मन्त्री श्रेष्ठको सचिवालयले स्रोतले जनाएको छ ।

जाँचबुझ आयोगले विश्वविद्यालयका मापदण्ड नपुगेको विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिन भूमिका खेलेको आरोपमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकाजुलाई पनि कारबाही सिफारिस गरेको थियो । त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका डीन रामप्रसाद खतिवडा, राजेन्द्र पौडेल र हरि पराजुलीलाई विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यबाट हटाउन समेत आयोगले सिफारिस गरेको छ ।

प्रकाशित मिति: Apr 15, 2024

प्रतिक्रिया दिनुहोस्