Logo
१८ बैशाख २०८१, मंगलबार
(May 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्ध पूर्णिमाको महत्त्व

बुद्ध पूर्णिमा, गौतम बुद्ध जन्मिनु भएको, बुद्धत्व प्राप्त गर्नुभएको तथा महासमाधि लिनुभएको दिन हो । बुद्ध पूर्णिमाको महत्त्व बारे बुझाउँदै, सद्‌गुरु, गौतम बुद्धको बुद्धत्त्व प्राप्तिको प्रसङ्गबारे चर्चा गर्दै हुनुहुन्छ ।

बुद्ध पूर्णिमा

मानव चेतनाको पूर्ण चन्द्रमा पटक–पटक उदाउनु पर्छ । यसदिन गौतम बुद्ध पूर्ण रूपमा प्रबुद्ध भएका थिए । पूर्णताको खोजमा रहनुभएका तपाईंहरू सबैका निम्ति यो एउटा प्रेरणा र सम्भावना बनोस् ।
मेरो कामना छ कि तपाईं चैतन्यको परम–आनन्दलाई जान्नुहोस् ।
सद्‌गुरु
प्रेम एवं कृपा

सद्‌गुरु: योग परम्परामा, एक आध्यात्मिक साधकको लागि बुद्ध पूर्णिमा निकै महत्त्वपूर्ण मानिन्छ, किनभने यो उत्तरायण शुरु भएपछिको तेस्रो पूर्णिमा हो । गौतम बुद्धको स्मृतिमा हामीले यस दिनलाई उनको नामबाट राखेका हौँ । किनकि, २५०० वर्षभन्दा पनि पहिले यही पूर्णिमामा एक व्यक्ति (man) आफ्नो परम प्रकृतिमा प्रस्फुरित भएर जीव (being) बनेका थिए ।

जो आफ्नो मनबाट माथि उठ्छन्, ती बुद्ध हुन्; जो आफ्नो मनबाट तल खस्छन्, ती बुद्धु हुन्; जो आफ्नो मनमै फसिरहन्छन्, ती जतिबेला पनि पीडामा डुबिरहने मानिसहरू हुन् !

गौतम बुद्धको जीवनका थुप्रै पक्षहरू छन्, तर सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको उनी बुद्ध हुन् । उनको वास्तविक नाम सिद्धार्थ गौतम थियो, पछि उनी बुद्ध बने— अर्थात्, उनी आफ्नो बुद्धि (मन) बाट माथि उठे । जो आफ्नो मनबाट माथि उठ्छन्, ती बुद्ध हुन्; जो आफ्नो मनबाट तल खस्छन्, ती बुद्धु हुन्; जो आफ्नो मनमै फसिरहन्छन्, ती जतिबेला पनि पीडामा डुबिरहने मानिसहरू हुन् !

सिद्धार्थ गौतम राजकुमार थिए । कुनै योगीले यी बालक कि त महान् सम्राट बन्ने वा महान् सन्त बन्ने भविष्यवाणी गरेका थिए । गौतमका पिता यसबाट अलिकति झस्किए, किनकि उनी आफ्नो छोरा कुनै सन्त नभई महान् सम्राट बनेको हेर्न चाहन्थे । बाहिरी संसारबाट टाढै राख्ने उद्देश्यले राजाले गौतमलाई सबैथोक सम्पूर्ण रूपमा प्रदान गरेर दरबारभित्रै राखेका थिए ।

एकदिन आफ्नो सारथीलाई लिएर सिद्धार्थ गौतम यत्तिकै घुम्न निस्किए । जाँदै गर्दा बाटो उनले एकजना व्यक्ति कुप्रो परेर लट्ठीको सहाराले हिँडिरहेको देखे । गौतमले यसअघि कहिल्यै वृद्ध मानिस देखेका थिएनन्, किनकि उनलाई दरबारभित्र सम्पूर्ण सुख–सुविधाहरू प्रदान गरी अलग्गै राखिएको थियो । सिद्धार्थले सारथीलाई सोधे, “उनलाई के भएको हो ?” सारथीले भने, “ती वृद्ध व्यक्ति हुन् । सबैजना एकदिन बूढो हुनैपर्छ ।” सिद्धार्थले आफैँलाई एकछिन हेरिरहे । केही पर पुगेपछि उनले एकजना व्यक्ति बाटोछेउ छटपटाइरहेको देखे । सिद्धार्थले सारथीलाई सोधे, “उनलाई के भएको हो ?” सारथीले भने, “ऊ रोगी व्यक्ति हो ।” सिद्धार्थले सोधे, “के म पनि कुनै बेला रोगी हुनेछु ?” “जो कसैलाई पनि रोग लाग्न सक्छ ।”– सारथीले जवाफ दिए । उनी यी दुवै कुराबाट विचलित भए । यात्रामा जाँदै गर्दा, केही मानिसहरू शव बोकेर त्यही बाटो हुँदै गइरहेका थिए । सिद्धार्थले सोधिहाले, “उनलाई चाहिँ के भएको हो ?” सारथीले भने, “राजकुमार, ती व्यक्तिको मृत्यु भयो । यो सबैजनाले भोग्नैपर्ने सत्यता हो । यसबाट कोही पनि बच्न सक्दैनन् ।”

“म एकदिन वृद्ध हुनेछु, रोगी हुनेछु अनि निश्चय नै मर्नेछु । त्यसोभए, म आफ्नो सम्पूर्ण जीवन के गरेर बिताइरहेको छु ?”— यो विचारले उनीभित्र उथलपुथल मच्चियो ।

यी तीनवटै दृश्य देखेपछि गौतमभित्र कोलाहल मच्चियो । राजदरबार, राजकुमारको पद, सम्पूर्ण सुख–सुविधाहरू एकाएक भङ्ग भएर व्यर्थ लाग्न थाले । “म एकदिन वृद्ध हुनेछु, रोगी हुनेछु अनि निश्चय नै मर्नेछु । त्यसोभए, म आफ्नो सम्पूर्ण जीवन के गरेर बिताइरहेको छु ?”— यो विचारले उनीभित्र उथलपुथल मच्चियो । आफ्नो साथमा प्रिय पत्नी र सानो बच्चा भएकाले उनले यत्तिकै छाडेर जान सकेनन् । उनीभित्र संघर्ष चलिरह्यो । उनले त्यसलाई दबाइरहन सकेनन् । अतः लगभग साढे एक वर्षपछि, कसैलाई केही नभनी, मध्यरातमा उनी चोर जसरी दरबारबाट लुसुक्क भागे ।

सिद्धार्थ गौतम जीवनको सत्यको खोजमा निस्किए । उनी त्यसबेलाका सबैजसो प्रख्यात गुरुसमक्ष पुगे । उनी बौद्धिक रूपमा अत्यन्तै तीक्ष्ण थिए, साथै उनीभित्र केही जान्ने अभिलाषा निकै गहिरो थियो । उनले आठवटै समाधिहरू अनुभव गरे, तैपनि उनले त्यसबाट जीवनको पूर्णता अनुभव गरेनन् । उनमा सत्य जान्ने चाहना अझै पनि प्रबल थियो । कुनै पनि कुराले काम नगरेपछि, गौतमले एकदमै कठोर मार्ग रोजे जसलाई समान (श्रमण) भनिन्छ । समान पथमा हिँड्ने साधकहरू यस मार्गको मूलभूत अभ्यासअनुसार कहिल्यै खाना माग्दैनन्; उनीहरू हिँडिरहन्छन्, यत्तिकै हिँडिरहन्छन्, तर कतै खाना खोज्दै जाँदैनन् । त्यसबेलाको संस्कृति यी पक्षहरूप्रति एकदमै संवेदनशील थियो, जसकारण आध्यात्मिक मार्गमा हिँडेको व्यक्ति देख्नेबित्तिकै मानिसहरू घरमा खाना पकाएर उसको पछाडि दौडिन्थे अनि जहाँ भेट्यो, त्यहीँ खाना खान दिन्थे । किनकि, त्यस पथमा हिँड्ने मानिसहरूले खाना माग्दैनन् भन्ने कुरा उनीहरूलाई राम्रोसँग थाहा थियो । तर, यदि तपाईंले आज समान पथ रोज्नुभयो भने, तपाईं हिँड्दा–हिँड्दै मर्नुहुनेछ !

त्यसबेला, हजारौँ साधकहरूले समान पथ अनुसरण गर्थे । सिद्धार्थ गौतमले समान मार्ग रोजे, अनि उनले यसलाई यति गम्भीर रूपमा लिए कि उनले खानाप्रति कुनै रुचि नराखिकनै यत्तिकै हिँडिरहे । यस प्रक्रियामा उनले आफ्नो शरीरलाई नष्ट गरे । यो साधनाले गौतमको शरीर यति जीर्ण भयो कि उनको शरीरमा हाड–छाला मात्र बचेको थियो; उनी लगभग मृत्युको मुखमा पुगेका थिए । साधनाको क्रममा हिँड्दै गर्दा एकदिन उनी निरञ्जन नदीको किनारामा आइपुगे । लगभग घुँडासम्म पानी भएको त्यस जलधाराको प्रवाह अलिकति तीव्र थियो । गौतमले त्यसलाई पार गर्ने कोसिस गरे, तर उनको शरीर निकै कमजोर भएकोले आधाआधी पुगेपछि अर्को पाइला चाल्नको लागि उनमा शक्ति बाँकी थिएन । तर, उनी हार मान्ने व्यक्ति थिएनन् । नजिकै रहेको सुकेको हाँगा समातेर उनी उभिरहे ।

“जबसम्म मैले मेरो अस्तित्वको परम प्रकृतिलाई अनुभव गर्दिनँ, म यहाँबाट हलचल गर्ने छैन । कि त म एक प्रबुद्धको रूपमा यहाँबाट उठ्नेछु, वा यही अवस्थामा प्राण त्याग्नेछु” । उनले आँखा बन्द गरे अनि यत्तिकै बसिरहे ।

यस्तो भनिन्छ कि उनी घण्टौँसम्म त्यही स्थितिमा उभिरहे । उनी साँच्चिकै धेरै घण्टासम्म उभिरहेका थिए, वा एकदमै कमजोरीले गर्दा केही पल पनि कैयौँ घण्टा जस्तो लागेको थियो भन्ने कुराबारे हामी अनभिज्ञ छौँ । त्यही स्थितिमा उभिरहँदा उनीभित्र यो प्रश्न उब्जियो, “आखिर, मैले खोजिरहेको के हो ? म केको पछि यसरी भौँतारिएको छु ?” तब, उनलाई एकाएक यो बोध भयो कि वास्तवमा समस्या भनेको उनी जान्ने कोसिस गरिरहेका थिए; त्यो आयाम, जुन असिम र अनन्त छ, त्यसलाई आफूमा घटित हुन दिनुको सट्टा उनी त्यसलाई जान्ने प्रयत्न गरिरहेका थिए । जे खोजिरहेको हो, त्यो त आफूभित्रै छ, त्यसोभए यी सबै संघर्षहरू गर्नुको के अर्थ भन्ने कुरा बोध भएपछि अचानक उनमा ऊर्जा थपियो अनि एकएक पाइला अघि बढाउँदै उनले नदी पार गरे । त्यसपछि, उनी एउटा रूखमुनि बसे, जसलाई अहिले बोधिवृक्ष भनिन्छ— अहिले, स्वयं बुद्धभन्दा यो वृक्ष बढी प्रख्यात भएको छ ! उनी त्यस रूखमुनि बसे अनि एउटा सङ्कल्प गरे, “जबसम्म मैले मेरो अस्तित्वको परम प्रकृतिलाई अनुभव गर्दिनँ, म यहाँबाट हलचल गर्ने छैन । कि त म एक प्रबुद्धको रूपमा यहाँबाट उठ्नेछु, वा यही अवस्थामा प्राण त्याग्नेछु” । उनले आँखा बन्द गरे अनि यत्तिकै बसिरहे । पूर्ण चन्द्रको उदय हुँदै थियो । त्यसैबेला, एक पलमै सिद्धार्थ गौतम आफ्नो परम प्रकृतिमा प्रस्फुरित भए अनि बुद्ध बने । उनी परम–आनन्दको स्थितिमा डुबेर केही समयसम्म त्यहीँ बसिरहे ।

तपाईं जे चाहनुहुन्छ, त्यो तपाईंको एकमात्र प्राथमिकता बन्नुपर्छ । तबमात्र, त्यो एक पलमै हुनेछ । सम्पूर्ण साधनाहरू, यति धेरै प्रयासहरू केवल त्यसकै लागि हो । मानिसहरू यति धरै भट्किएका हुन्छन् कि उनीहरूलाई एक ठाउँमा ल्याउन र एउटा समग्र एकाइ बनाउन निकै लामो समय लाग्छ । मानिसहरूले अनेक चीजहरूसँग आफ्नो पहिचान गाँसेका हुन्छन् । त्यसैले, पहिलो कुरा भनेको यत्रतत्र छरिएको यो व्यक्तिलाई एक ठाउँमा ल्याउनु हो । यदि तपाईंले आफूलाई एउटा समग्र एकाइको रूपमा समेट्ने हो भनेमात्र, हामी तपाईंसँग केही गर्न सक्छौँ ।

यस धरतीका थुप्रै बुद्ध–पुरुषहरूमध्ये गौतम बुद्ध यस्ता प्रबुद्ध हुन्, जसले विशाल रूपमा यस धरतीको मुहार नै फेरिदिएका छन्, अनि त्यो क्रम अझैपनि जारी छ । २५०० वर्षसम्म पनि त्यो निरन्तर चलिरहनु भनेको सानोतिनो कुरा होइन !

Copyright Isha Foundation 

प्रकाशित मिति: May 7, 2020

प्रतिक्रिया दिनुहोस्