Logo
६ जेष्ठ २०८१, आईतबार
(October 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्ट्रेलियाले आगामी नोभेम्बरदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने

अस्ट्रेलियाले आगामी नोभेम्बरदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमा खोल्ने भएको छ । सुरुमा उसले खोप लगाएका नागरिक र उनीहरुको आफन्तलाई भ्रमणको अनुमति दिने बताएको छ ।

२०२० को मार्चदेखि केही अस्ट्रेलियन नागरिकले मात्र मुलुक प्रवेशको अनुमति पाएका छन् । त्यस्तै कुनै विशेष कारण विना मुलुक बाहिर जान पाउने नियम पनि निकै कडा बनाइएको छ ।

अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि लगाएको कडा नियमको प्रशंसाका साथै परिवारहरुसँग छुट्याएको भन्दै आलोचना पनि हुँदै आएको छ।

८० प्रतिशतभन्दा धेरै मानिसले कोरोना खोप लगाएको स्थानमा भ्रमणमा थप स्वतन्त्रता दिने बताइएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले भने, ‘अस्ट्रेलियाका नागरिकको जीवन फिर्ता ल्याउने समय आएको छ ।’

अहिले अघि सारिएको योजना अनुसार तत्काल विदेशीका लागि भने अस्ट्रेलियाको सीमा खुल्ने छैन तर सरकारले छिटै नै विदेशीलाई पनि आफ्नो मुलुक घुम्न दिने नियम ल्याउने विषयमा निर्णय गर्ने बताएको छ ।

अहिले अस्ट्रेलियामा रहेका मानिसले अत्यावश्यक काम वा अन्तिम अवस्थामा पुगेका आफन्त भेट्नका लागि मात्र मुलुक छाड्न पाउँछन् ।

त्यस्तै उसले बाहिरबाट आउने मानिसका लागि अनिवार्य १४ दिने होटल क्वारेन्टिनको नियम लगाएको छ । पूरा डोज कोरोना खोप लगाएका मानिसको लागि क्वारेन्टिन ७ दिनमा झारिनेछ ।

अहिले कोरोना सङ्क्रमणको जोखिमको कारण सिड्नी, मेलबर्न र क्यानबेरामा गरिएको लकडाउन जारी छ । जसको कारण अस्ट्रेलियामा पछिल्लो केही महिनामा खोप लगाउनेको सङ्ख्या पनि उल्लेख्यरुपमा बढेको छ ।

न्यु साउथ वेल्स अस्ट्रेलियामा सबैभन्दा पहिला ८० प्रतिशत नागरिकलाई खोप लगाउने राज्य बन्ने अवस्थामा देखिएको छ । अबको केही समयमा यो मापदण्ड पूरा हुने अपेक्षा गरिएको छ ।

यद्यपि अस्ट्रेलियाका केही राज्यले भने कोरोना सङ्क्रमण आफ्नो राज्यमा शून्यमा रहेको भन्दै सीमा नखोल्ने चेतावनी दिएका छन् । क्विन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलियाले कोरोना खोप लगाउनेको सङ्ख्या मापदण्डभन्दा धेरै भए पनि सीमा नखोल्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: Oct 1, 2021

प्रतिक्रिया दिनुहोस्