Logo
१२ श्रावण २०८१, शनिबार
(May 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली फिल्म क्षेत्रको नामकरण : तीन नाम सिफारिस, मन्त्रिपरिषद्‍मा पेश गरिने

काठमाडौं । नेपाली फिल्म क्षेत्रको नाम के राख्ने ? लामो समयदेखि यो विषयमा बहस हुँदै आइरहेको छ । फिल्म क्षेत्रको नामकरण गर्नेबारे बोर्डलै हालै एक समिति गठन गरेको थियो ।

उक्त समितिले बोर्डसमक्ष तीनवटा नाम प्रस्ताव गरिसकेको छ । जसअनुसार सिनेमाण्डु, कान्तिपुर फिल्म्स र एभरेस्ट फिल्म्स नामाकरण गर्न प्रस्ताव गरिएको छ । यो प्रस्ताव चलचित्र विकास बोर्डको बैठकमा पेश भइसकेको अध्यक्ष भुवन केसीले बताए ।

यो प्रस्तावमाथि फिल्म क्षेत्रका संघसंस्थाको सहमति जुटाएर निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरिने भएको छ । ‘अस्तिको बोर्ड बैठकमा यो प्रस्ताव पेश भइसक्यो । अब संघसंस्थासँग सहमति जुटाएर मन्त्रिपरिषद्मा पेश गर्ने तयारी छ,’ केसीले भने ।

अध्यक्ष केसीसहित यो समितिमा बोर्डका सदस्य-सचिव राजेशकुमार थापा, सदस्य लोकनाथ सुवेदी, फिल्म निर्देशक लक्ष्मीनाथ शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, बोर्ड अधिकृत निर्मला चौलागाईं सदस्य थिए ।

उक्त समितिले अध्ययनपछि ती नाम टुंगो लगाइएको जनाइएको छ । साथै, समितिले राष्ट्रिय चलचित्र दिवस मनाउनेबारे पनि छलफल गरेको जनाएको छ । साथै, उक्त समितिले पहिलो नेपाली फिल्म ‘आमा’ रिलिज भएको दिन असोज १५ गते चलचित्र दिवस मनाउन समेत सिफारिस गरेको छ ।

प्रकाशित मिति: May 19, 2024

प्रतिक्रिया दिनुहोस्