Logo
१७ बैशाख २०८१, सोमबार
(April 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इरानी आक्रमणविरुद्ध इजरायलको रक्षामा उत्रिए अमेरिका र बेलायत

२ वैशाख, काठमाडौं । इरानले आइतबार बिहान इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ ।

सीबीएस न्यूजसँग कुरा गर्दै दुई अमेरिकी अधिकारीले अमेरिकी सेनाले धेरै इरानी ड्रोनहरू खसालेको जिकिर गरेका छन् । यी कुन प्रकारका ड्रोन थिए भन्ने जानकारी भने नखुलाइएको बीबीसीले लेखेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्नो देश इजरायलका जनताको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

उता, बेलायतले पनि आफ्नो रोयल एयर फोर्स (आरएएफ)ले आवश्यकता अनुसार ड्रोन रोक्ने बताएको बीबीसीले लेखेको छ । बेलायतको रक्षा मन्त्रालयले इरानबाट हुने आक्रमण रोक्न थप लडाकु विमानहरू तैनाथ गरिएको जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र इङ्गल्याण्डका प्रधानमन्त्री ऋषि सुनकले इरानको आक्रमणको आलोचना गर्दै इजरायललाई समर्थन गर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले आक्रमणको निन्दा गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल गरेका छन् ।

इरानले स्थानीय समय अनुसार गएराति १ः४५ बजेदेखि इजरायलमा आक्रमण सुरु गरेको थियो । आक्रमणबाट इजरायलका सैन्य क्याम्पमा क्षति पुगेको र एक जना घाइते भएको प्रारम्भिक विवरणहरु सार्वजनिक भएका छन् । तर क्षतिको विस्तृत विवरण आइसकेको छनै ।

इरानले अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहर गर्दै यसको बदला लिन इजरायलमाथि हमला गरेको छ । तर हालसम्म इजरायलले सिरियास्थित इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन ।

सो आक्रमणमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीसहित ७ जना मारिएका थिए ।

इरानले इजरायलमा आक्रमण गरेपछि विश्व तरंगित भएको छ । भारतले दुई देशबीचको तनावले पश्चिम एसियाकै शान्ति खलबल्याएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

इजिप्ट, फ्रान्स, चीन लगायतले पनि यो घटनाप्रति ध्यानाकर्षण भएको भन्दै संयमित हुन अपिल गरेका छन् ।

प्रकाशित मिति: Apr 14, 2024

प्रतिक्रिया दिनुहोस्