Logo
२६ बैशाख २०८१, बुधबार
(June 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार १५ मा किन खाइन्छ दही चिउरा ? यस्ता छन् फाइदा !

आज असास १५ गते नेपाली समाजमा असारे पन्ध्रम पनि भन्ने गरिन्छ । सरकारले पनि असार १५ गते धान दिवस मनाउने गर्छ । आजको दिन नेपाली समाजमा खेतमा धान रोपाई गरी दही चिउरा खाएर मनाउने परम्परा रहेको छ ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाएर आजको दिन मनाउने गर्दछन् । हामीले मनाउने विभिन्न चाड पर्वको छुट्टै मूल्य मान्यता भएपछि यस दिन खाने परिकारको पनि विशेष महत्व हुन्छ ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ।

‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ।

यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ।दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ।

यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ। यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।आजका दिनमा खाइने दही चिउराले पनि स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउने गर्दछ ।

आज हामी तपाईलाई दही चिउरा खादाँ हुने फाइदाका बारेमा जानकारी दिन गइरहेको छु । यहाँ दही र चिउराले शरिरमा पुर्याउने फाइदा बारे जानकारी दिइएको छ ।

दहीका फाइदा

दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । यसका साथै, यसमा सोडियम, पोटासियम, भिटामिन ए, डी, बी–१२ पाइन्छ जसका कारणः

१. पाचन क्रियामा सघाउँछः

दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ । दही चिसो हुने भएकाले यसले मसालेदार खानेकुराको असरलाई कम गर्दछ ।

२ . तौल घटाउन सहयोग गर्दछः

दहीमा पाइने क्याल्सियमले शरिरमा कार्टिसोल बनाउन सहयोग गर्दछ । शरिरमा कार्टिसोलको असन्तुलनले मोटोपना, हाइपरटेन्सन र कोलेस्ट्रोल बढाउने गर्दछ ।

३. मुटु स्वस्थ बनाउँछः

दहीले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ जसका कारण दही नियमित खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ ।

४. दाँत र हड्डी बलियो बनाउँछः

दहीमा क्याल्सियम र फोस्फरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ । नियमित रुपमा दहीको सेवनले हड्डीसम्बन्धि रोग लाग्नबाट जोगाउँछ ।

५.  प्रतिरोधी क्षमता बढाउँछः

दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ ।

६. छालाको स्याहारका लागि उपयोग गरिन्छः

दहीलाई घरेलु फेस प्याकमा अत्यधिक प्रयोग गरिन्छ । दहीमा जिंक, भिटामिन ई, फस्फरोसजस्ता मिनरल्स पाइने भएकाले यसले छालालाई जवान राख्छ ।

७. चायाँ हटाउँछः

दहीमा पाइने ल्याक्टिक एसिडले कपालको चायाँबाट राहत प्रदान गर्दछ । मेहेन्दीमा दही मिसाएर लगाउँदा चायाँ हट्नुका साथै कपाललाई नरम र चम्किलो राख्न मद्दत गर्दछ ।

८. तनाव र चिन्ताबाट राहतः

खानामा दही समावेश गर्दा यसले शरिरलाई रिल्याक्स हुन मद्दत गर्दछ । एक अनुसन्धानका अनुसार दहीको सेवनले दिमागको त्यो भागको क्रियाकलापलाई कम गर्दछ जसले भावना र पीडालाई नियन्त्रण गर्दछ ।

 चिउराका फाइदा

१. चिउरामा भिटामिन ए, सि, क्याल्सिम र आइरनको प्रचुर मात्रा पाइन्छ ।

२. यसमा आइरनको मात्रा धेरै हुन्छ । यसमा भिटामिन बी, कार्बोहाइड्रेट र प्रोटिन हुन्छ ।

३.चिउरा फ्याट र ल्याकटोस नहुने भएकाले मुटुका लागि निकै स्वस्थ हुन्छ ।

४. चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरुले प्रयोग गर्न सक्छन् ।

५. यसमा कार्बोहाइड्रेटमा मात्रा धेरै हुने भएकाले शरिरमा ऊर्जाको स्तरलाई कायम राख्न सहयोग गर्दछ ।

६.चिउरामा थोरै तरकारी समावेश गर्दा यो खानाको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

७. चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको संचार ढिलो गराउँछ ।

 

 

प्रकाशित मिति: Jun 29, 2021

प्रतिक्रिया दिनुहोस्