Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि नयाँ शैक्षिक सत्र सुरु, असार १५ सम्म भर्ना गरी नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने

देशभरका विद्यालय तहको आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन गरी कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीहरूको नयाँ शैक्षिक सत्र आजदेखिसुरु भएको हो ।

कोरोना महामारीबाट सिर्जित समस्याका कारण भौतिक उपस्थितिमा पठनपाठन गर्न नसकिए पनि नयाँ कक्षा भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइका लागि सहजीकरणको बाटो खुलेको हो ।

विद्यालयले विद्यार्थीहरूको नयाँ भर्ना अभिलेखीकरण अनलाइन, टेलिफोन वा अन्य कुनै माध्यमबाट गर्ने छ । विद्यालयले आजदेखि असार १५ सम्म विद्यार्थीको भर्ना कार्यक्रम पूरा गरेर विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने छ ।  विद्यार्थीको भर्ना कार्यक्रम पछि (१५ गतेपछि) वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिइने छ ।

सरकारले यसअघि नै जेठभित्र सबै कार्य पुरा गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र प्रारम्भ गरिने भएकाले साही अनुसार तयारी गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको थियो ।

यसैगरी कक्षा ११ को पठनपाठन भने भदौ ११ देखि सुरु हुने छ । कक्षा १० नतिजा साउन दोस्रो साता प्रकाशित गरी भदौबाट नयाँ कक्षा सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

यस्तै यस शैक्षिक सत्रबाट विद्यालय तहका २, ३, ६ र १२ गरी चार वटा कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक अध्ययन गर्ने छन् । पाठ्यपुस्तक छपाई कार्य पूरा गरी केन्द्रका एक हजार दुई सय बिक्रेताबाट विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने कार्य जारी रहेको जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ ।

कोरोना महामारको अवस्था सामान्य नभएसम्म विद्यार्थीको वैकल्पिक सिकाइ सहजीकरण कार्य जारी रहने सरकारले जनाएको छ । अवस्था समान्य भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा लिन सूचना निकालिने छ ।

सिकाइ सहजीकरण अनलाइन, रेडियो, टेलिभिजनलगायतका वैकल्पिक माध्यमबाट गरिने अथवा विद्यालयले आफ्नो अवस्था अनुसार विद्यार्थीको सिकाइ सहजीकरण गर्नेछ ।

वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्नुपर्ने भएकाले शिक्षकले आफ्नो विद्यार्थी र विद्यालयको सम्पर्कमा रहनुपर्ने छ ।

 

 

प्रकाशित मिति: Jun 15, 2021

प्रतिक्रिया दिनुहोस्