Logo
१० जेष्ठ २०८१, बिहीबार
(April 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेक्टर र रजिष्ट्रार नियुक्तिमा दलीय हस्तक्षेप रोक्न माग गर्दै प्रदर्शन

त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्तिमा भइरहेको दलीय हस्तक्षेपको विरोध गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठनले बुटवलमा प्रदर्शन गरेको छ ।

अखिल नेपाल विद्यार्थी युनियन समाजवादीको अगुवाइमा बुटवल बहुमुखी क्याम्पसदेखि गोलपार्कसम्म प्रदर्शन भएको हो ।

सहभागीहरूले ‘रजिष्ट्रार नियुक्तिमा राजनीतिक हस्तक्षेप बन्द गर’, ‘खुला प्रतिस्पर्धाबाट नियुक्ति गर’, ‘समाजवादी शिक्षा नीति लागू गर’, ‘उत्तर पुस्तिका हराउनेमाथि कारबाही गर’, ‘परीक्षाको नतिजा समयमै प्रकाशित गर’ लगायतका नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि भएको कोण सभामा बोल्दै अखिल नेपाल विद्यार्थी युनियन समाजवादीका केन्द्रीय सदस्य विज्ञान सीले उपकुलपति प्रा.डा. केशरजंग बरालले रेक्टर र रजिष्ट्रार नियुक्तिका लागि सिफारिश गरेका व्यक्तिलाई रोकेर प्रधानमन्त्रीले दलीय भागबन्डामा नियुक्त गर्न चलखेल गर्नु आपत्तिजनक भएको बताए ।

उनले भने, ‘उपकुलपतिलाई स्वतन्त्र ढंगले काम गर्न नदिइ राजनीतिक हस्तक्षेप गर्ने प्रधानमन्त्री, एमाले अध्यक्ष र शिक्षामन्त्रीले नाजायज भूमिका खेलेको हुँदा विद्यार्थीहरू आन्दोलनमा उत्रिनुपरेको हो ।’ उनले आफ्नो संगठनले त्रिविमा भइरहेको राजनीतिक भागबन्डा र हस्तक्षेपविरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय २०८० पुस १२ गतेदेखि रजिष्ट्रारविहीन छ । रजिष्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएपछि सरकारले डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिष्ट्रार तोकेको छ ।

त्रिविका उपकुलपतिले रजिष्ट्रार र रेक्टर पद रिक्त भएपछि चैत ६ गते सूचना जारी गर्दै ७ दिनभित्र बायोडाटा बुझाउन आवेदन माग गरेका थिए ।

सोहीअनुसार उपकुलपति प्रा.डा केशरजंग बरालले चैत १५ मा रेक्टरमा प्रा.डा. खड्ग केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजालको नाम त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष सिफारिश गरेका छन् । तर नियुक्ति प्रक्रिया अघि बढेको छैन ।

गत शुक्रबार प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र उपकुलपति बरालबीच बालुवाटारमा छलफल भएको थियो । छलफलमा एमाले अध्यक्ष ओलीले प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. बेदराज केसीलाई रजिष्ट्रार नियुक्त गर्नुपर्ने अडान लिएका थिए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले नियुक्तिबारे पुनर्विचार गर्न त्रिवि उपकुलपति बराललाई निर्देशन दिएका थिए । तर सिफारिश भएकालाई नै नियुक्ति हुनुपर्ने अडान त्रिवि उपकुलपति बरालको छ ।

प्रा.डा. केसीमाथि एमालेको राजनीतिमा सक्रिय रहेको आरोप छ । उनी २०७८ चैत २५ र २६ चैतमा काठमाडौंमा सम्पन्न संगठनको दशौं राष्ट्रिय सम्मेलनमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा निर्वाचित भएका थिए ।

उपकुलपति बरालले भने खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति नियुक्त हुनुपर्ने माग गर्दै आएका छन् । उनले आफ्नो टिम बनाउन अधिकार पाउनुपर्ने पनि बताएका छन् ।

प्रकाशित मिति: Apr 8, 2024

प्रतिक्रिया दिनुहोस्