Logo
२४ बैशाख २०८१, सोमबार
(March 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेला परेनन् विजय गच्छदार : घरमै टाँस्यो विशेष अदालतले म्याद तामेली पत्र

पुर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सम्पर्कमा नआएपछि विशेष अदालतले सुनसरी स्थित उनको निवासमा म्याद तामेल गरेको छ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदारलाई अदालतमा उपस्थित हुन भने पनि उनी सम्पर्कमा नआएको विशेष अदालतले जनाएको छ ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले गच्छदार फेला नपरेपछि उनको मोरङस्थित घरमै म्याद तामेल गरिएको जानकारी दिए ।

गएको फागुन २३ गते विशेष अदालतले ललिता निवास जग्गा अनियमितताको मुद्दामा सुनुवाइ गर्दै १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।

तर, गच्छदार अदालतको सम्पर्कमा नआएको प्रवक्ता पाण्डेयले जानकारी दिए । सो प्रकरणमा मन्त्री रहेका बेला गच्छदार मुछिएका हुन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ माग दाबी गरेको छ ।

भ्रष्टाचारकान्डमा मुछिएका गच्छदारको सांसद पद निलम्बनमा छ भने उनी केही समययता पार्टी कार्यक्रममा पनि देखिएका छैनन् । उक्त मुद्दामा पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा भइसकेका छन् ।

पूर्वमन्त्री छविराजसँग अदालतले ५ लाख धरौटी माग गरेको थियो । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा पठाइएका छन् । मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर छुटेका छन् ।

अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: Mar 14, 2021

प्रतिक्रिया दिनुहोस्