Logo
२६ बैशाख २०८१, बुधबार
(December 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गरिब देशलाई जलवायु परिवर्तनको सहयोग गर्ने प्रतिवद्धतामा धनी देश निकै पछि हटे : UN

विश्वका धनी देश गरिब देशहरुलाई वातावरण मैत्री तथा जलवायु परिवर्तनको प्रभाव कम हुने खालको विकासका लागि सहयोग गर्ने प्रतिवद्धताबाट निकै पछि हटेको संयुक्त राष्ट्रसंघका महासचिवले बताएका छन् ।

धनी देशहरुले सन् २०२० देखि वार्षिक १०० बिलियन अमेरिकी डलर बराबरको रकम गरिब देशमा स्वच्छ विकास र जलवायु परिवर्तन अनुकुलन कार्यक्रमका लागि सयोग गर्ने वचन दिएका थिए ।

तर त्यसमा धनी देश निकै पछि रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बताएका छन् ।भर्च्युअल रुपमा भएको ‘क्लाइमेट एम्बिसन समिट’ को साइडलाइनमा महासचिव गुटरेसले शनिबार पत्रकारसँग गरिएको वाचा यो वर्ष नपुग्ने देखिएको बताएका हुन् ।

पेरिस जलवायु सम्झौताको पाँच वर्ष पूरा भएको अवसरमा आयोजित समिटमा जलवायु वित्त विज्ञहरुले प्रस्तुत गरेको प्रतिवेदन अनुसार यो वर्ष वाचा गरिए अनुसारको सहयोग रकम पूरा हुने छैन ।

यस्तै विकसित वा धनी देशहरुले कोभिड-१९ का कारण उत्पन्न भएको आर्थिक संकटमा पनि गरिब देशलाई उपयुक्त सहयोग नगरेको महासचिवले बताएका छन् ।

उनले भनेका छन्, ‘दुवै क्षेत्रमा वित्तिय सहयोग बढाउनु पर्ने र त्यसलाई अन्तर सम्बन्धित बनाउनु पर्ने स्पष्ट रुपमा देखिएको छ ।’

कोभिड-१९ को महामारीले प्रकृतिमाथिको निर्भरता बढाएको र थप बढाउने देखिएकाले आउँदा दिन थप सक्रिय पहलको खाँचो रहेकोमा गुटरेसले जोड दिएका छन् ।

सन् २००९ मा धनी देशहरु गरिब तथा जलवायु परिवर्तनको प्रभाव गम्भीर रुपमा पर्ने देशहरुलाई सन् २०२० देखि वार्षिक रुपमा १०० बिलियन अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । यस्तै पेरिस सम्झौता अनुसार सन् २०२५ देखि सो रकम अझ बढाउने धनी देशले बताएका थिए ।

समिट उद्घाटन गर्दै महासचिव गुटरेसले भनेका छन्, ‘हाम्रो संयुक्त उद्देश्य सन् २०२१ मा सहयोग रकमको आँकडा १०० बिलियन डलर भन्दा बढि बनाउने र त्यसपछि अन्तर्राष्ट्रिय सहयोगको मात्रा बढाउँदै लैजाने हुनु पर्छ ।’

विकासशील देशका नेताहरुले नयाँ तथा बलियो जलवायु योजनाका लागि आर्थिक सहयोगको खाँचो रहेकोमा जोड दिएका छन् ।

सम्मेलनमा सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तन सम्बन्धी दीर्घकालीन रणनीति बनाउन प्रतिवद्ध रहेको बताए । उनले विश्व समुदायलाई हिमालयको महत्व बुझेर सोही अनुसार सहयोग तथा सहकार्यलाई प्रभावकारी बनाउन पनि आग्रह गरे ।

 

प्रकाशित मिति: Dec 13, 2020

प्रतिक्रिया दिनुहोस्