Logo
२४ बैशाख २०८१, सोमबार
(April 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मासुको उपभोग प्रत्यक वर्ष बढ्दै, पृथ्वी बचाउने हो भने मासु उपभोगमा कमी गर्नुपर्ने

एजेन्सी : मानवजातीले प्रयोग गर्ने मासुको उपभोग प्रत्यक वर्ष बढिरहेको छ । विज्ञान जर्नल ‘नेचर’मा प्रकाशित एक रिपोर्ट अनुसार यो पृथ्वीको धान्ने क्षमताभन्दा बढी हुने अवस्थामा पुगिसकेको छ ।

केही वर्षभित्र विश्वको जनसंख्या १० अर्ब पुग्दैछ । त्यति जनसंख्यालाई खाना पुर्याउने हो भने मानिसले अहिले खाइरहेको रातो मासुमा ७५ प्रतिशतले कमी गर्नुपर्छ । त्यस्तै सुंगुरको मासुको हालको खपतलाई ९० प्रतिशतमा झार्नुपर्छ भने अहिले खाइरहेको भन्दा आधा अण्डामात्र खानुपर्छ ।

नेचरमा प्रकाशित अध्ययनका अनुसार यी परिवर्तन नगर्ने हो भने पृथ्वीका सबै मानिसलाई खाना पु¥याउन नसकिने मात्र होइन, जलवायु परिवर्तनलाई नियन्त्रण गर्न पनि सकिँदैन । अनुसन्धान समूहको नेतृत्व गरेका अक्सफोर्ड विश्वविद्यालयका मार्को स्प्रिंगम्यानले यो रिपोर्ट निक्कै ‘चिन्ता लाग्दो’ भएको बताए । रिपोर्टको व्याख्या गर्दै उनले भने, ‘हामी सम्पूर्ण प्रणालीको दिगोपनलाई खतरामा पारिरहेका छौं । यदी हामी सबै मानिसलाई भाग पुर्याउनुपर्छ भन्ने सोच्छौं भने मासुको खपतमा नियन्त्रण गर्नुपर्छ ।’

अध्ययनका लेखकले केही देशका मानिसले यसमा बढी त्याग गर्नुपर्ने जोड दिए । उदाहरणको लागि अमेरिका र संयुक्त अधिराज्यका मानिसले हालको मासु खपतमा ९० प्रतिशतले कम गर्नुपर्छ । त्यस्तै दूधको प्रयोगमा पनि ६० प्रतिशत कमी ल्याउनुपर्ने सुझाव छ । अध्ययनको निश्कर्षले खाद्यान्नको उपभोगमा कमी गर्नुपर्ने सुझाव मात्र दिएको छैन । त्यसमा हाल कम पोषण पाइरहेका देशका नागरिकले पोषणका लागि मासु तथा दुधजन्य खाना उपभोग बढाउनुपर्ने सुझाव दिएको छ ।

तर सुझाव जस्तो मासुको खपत कम गर्न भने गाह्रो हुनसक्छ । किनकि हालको मासु उपभोगको तथ्याकं हेर्ने हो भने निक्कै उच्च छ । औसतमा अमेरिकी नागरिकले वर्षमा २२२.२ पाउण्ड रातो मासु र कुखुराको मासु खान्छन् । यो हालसम्मकै उच्च हो । आजको दिनमा चीनमा औसत १४० पाउण्ड मासु उपभोग हुन्छ । विगत चार दशकमा त्यहाँ मासु उपभोग चार गुणाले बढ्यो ।

मासुको मागमा वृद्धिले विश्वभरी मासुको व्यवसाय त बढाएको छ । तर यसले विश्वव्यापी वातावरणमा असर पनि गरिरहेको छ । मासुका लागि पालिने जीवलाई ठूलो मात्रामा घाँस आवश्यक पर्छ । घाँसे मैदानको लागि जमिन सिर्जना गर्न प्रत्येक वर्ष ठूलो भू-भागको वन फडानी हुन्छ ।

यस कार्यले जलवायु परिवर्तनलाई बढाउने र पर्यावरणलाइ ध्वस्त पार्नेजस्ता नकरात्मक असर पार्छ । त्यस्तै जनवारलाई हुर्काएर बढाउनको लागि ठूलो परिणाममा पानीको प्रयोग हुन्छ । यी बाहेक आवश्यक हुने चोकरको लागि पनि जमिनको आवश्यकता हुन्छ । एक अध्ययनअनुसार एक ह्याम्वर्ग बनाउन प्रयोग हुने मासुको लागि ६०० ग्यालन पानी प्रयोग भएको थियो । जबकी एक पाउण्ड आलु उत्पादन गर्नको लागि ५ ग्यालन पानी भए पुग्छ ।

त्यस्तै मासुको लागि पालिने जीवको संख्यामा ठूलो वृद्धि गरिँदा ति मार्फत हुने हरितगृह ग्यासको उत्सर्जनमा पनि वृद्धि हुन्छ । मासु खाइने जीवको संख्या कति धेरै छ भनेर तिनको संख्याले पुष्टि गर्छ । पृथ्वीमा रहेका कुल स्तनधारी जीवको ६० प्रतिशत मासु खाइने स्तनधारी छन् । त्यस्तै कुखुरा पृथ्वीको सबै चराको ७० प्रतिशत रहेको तथ्याकं छ ।

मासु उत्पादन घटाइँदा तिनको लागि प्रयोग हुने खेत-जमिन न्यून स्रोतको उपभोगमै उत्पादन हुने खाद्यान्न उब्जाउनको लागि प्रयोग गर्न सकिन्छ । तरकारी, अन्न, दाल र अन्य धेरै वनस्पति उब्जाउन मासुको तुलनामा निकै थोरै स्रोतको उपभोग हुन्छ । त्यस्तै अध्ययनमा संलग्न अनुसन्धानकर्मीले मासुको लागि दिँदै आएको अनुदान वनस्पतिमा आधारित खानालाई दिन थाल्नुपर्ने सुझाएका छन् ।

‘मेरो विचारमा यदी सरकार गम्भिर भयो भने यो कार्य गर्न नसकिने पनि होइन,’ स्प्रिंगम्यानले भने । यो अध्ययन संयुक्त राष्ट्र संघले वर्षौं लगाएर गरिएको जलवायु परिवर्तनसम्बन्धी एक विश्लेषण प्रकाशन भएको हप्ता नै प्रकाशित गरियो । संयुक्त राष्ट्रको रिपोर्टले जलवायु परिवर्तनबाट हुने विध्वसं रोक्नको लागि ‘समाजको सबै पक्षले शीघ्र, दीर्घकालिन र ठूलो परिवर्तन गर्नुपर्ने’ कुरामा सजग गराएको छ ।

मासुको उपभोग पुरै त्याग्न सके राम्रो अन्यथा उल्लेख्य परिणाममा न्यूनिकरण गरिनुपर्ने त्यहाँ पनि उल्लेख थियो ।

प्रकाशित मिति: Apr 28, 2019

प्रतिक्रिया दिनुहोस्