Logo
३१ बैशाख २०८१, सोमबार
(April 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरपालिकाले देशभरका अशक्त र गरिबलाई निःशुल्क स्वास्थ्य सेवा दिने

काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत नेपालका जुनसुकै स्थानीय तहको भए पनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने बताएका छन् ।

उक्त सुविधा लिनका लागि बिरामी पक्षले आफ्नो स्थानीय तहबाट विपन्न तथा असहायको सिफारिस लिएर काठमाडौं महानगरपालिकामा जानुपर्ने हुन्छ ।

महानगरसँग ५२ वटा अस्पतालका ३७४ बेड रहेको र त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने मेयर बालेनले जानकारी दिएका छन् ।

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड छन् । जहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’

थप जानकारी लागि महानगरको स्वास्थ्य विभागको निःशुल्क हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न सकिने छ ।

महानगरको जनस्वास्थ्य ऐन, २०८० को दफा २८ अनुसार महानगरपालिका क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न असहाय र बेवारिसे नागरिकको उपचारका लागि छुट्याउनुपर्ने उल्लेख छ । यस्तै व्यवस्था नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) मा समेत उल्लेख छ ।

प्रकाशित मिति: Apr 28, 2024

प्रतिक्रिया दिनुहोस्