Logo
२ श्रावण २०८१, बुधबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जोगिरामा नाच्दै तराई-मधेश : यस्तो छ मधेशीहरुको होलीका फरक प्रचलन

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु आज तराई क्षेत्रमा मनाइँदै छ। बुधबार एकआपसमा रङ दलेर हिमाली तथा पहाडी जिल्लामा सौहार्द एवम् हर्षोल्लापूर्वक मनाइएकाे थियाे। आज तराई तथा मधेश क्षेत्रमा हाेली मनाइँदै छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदै छ। यो पर्वलाई वसन्तोत्सव, मदनोत्सव आदि नामले पनि चिनिन्छ।

फागु पूर्णिमाका अवसरमा रङका अलावा भेगीय हिसाबमा गाइने गीत र नृत्यलाई समेत विशेष महत्वका साथ हेरिन्छ। तराई क्षेत्रमा पनि गीत तथा नृत्यमा झुम्दै एकअर्कामा रङ दल्ने परिपाटी छ। जसले सबैमा उत्साह र उमङ्गकाे सञ्चार गराउँछ।

यस पर्वका अवसरमा तराईका विभिन्न जिल्लामा मानिसहरुले जाेगिरा गाउँदै वातावरणलाई स‌ंगीतमय समेत बनाउने गर्छन्। पछिल्लाे समय आधुनिकताकाे नाममा माैलिक लाेकस‌ंगीतमा चासाे कम दिइएकाे अवस्थामा हाेलीमा तराई क्षेत्रमा गाइने जाेगिरा पनि निकै कम मात्र सुन्ने गरिएकाे छ। यद्दपि पाका पुस्ताले भने याे संस्कृतिलाई धानिरहेकाे बताउँछन् राजविराजका वैजु जोशी।

‘उच्छृंखलता हटाएर परम्परा र मौलिकता जोगाउन युवा पुस्ताको सकृयता आवश्यक छ’, जाेशी भन्छन्। जाेशीलकाे भनाइमा सहमति राख्छन् मैथिली साहित्य परिषद्‍का सचिव श्यामसुन्दर यादव। आधुनिकताका नाममा युवा पुस्तामा देखिएको अन्य गीतप्रतिको मोहले होलीमा गाइने परम्परागत लोकगीत हराउँदै गएको मत छ उनकाे।

‘हाेलीमा पुर्खौली बाजा मृदङ्ग बजाएर जोगिरा गाउने परम्परा खाेइ कहाँ छ?, अब याे परम्परा बिस्तारै लोप हुँदैछ’, उनले भने, ‘पुरानो पुस्ताको अवसानपछि युवा पुस्ताले यो परम्परालाई जोगाउलान् भन्ने लाग्न पनि छोडेको छ।’

तराईका विभिन्न क्षत्रेमा होली पर्वसँग सम्वन्धित हिन्दी, भोजपुरी, मैथिली तथा नेपाली गीत बज्न थालेका छन्। ग्रामिण क्षेत्रमा भने कतिपय स्थानमा एक साताअघि देखिनै ‘जोगीरा’ गाउँने क्रम चलिरहेको छ। होलीको १५ दिनअघि देखिनै गाउँमा हरेक साँझ सामूहिक रुपमा होली गीत गाउँने परम्परा रहे पनि पछिल्लो समय सुस्तता आएको राजविराज-७ का रामकुमार यादवले बताए।

पहिला–पहिला बूढापाकाले रात परेपछि गाउँमा झ्याली, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रुपमा होली गीत ‘जोगिरा’ गाउने गरेको उनी सम्झन्छन्। ‘अबको होलीमा प्रेम र सद्भाव कम छ। भाङ खाएर रमाइलो गर्ने परम्परालाई जाँडरक्सीले विस्थापित गर्दैछ’, यादव थप्छन्, ‘प्रेम र सद्भावको ठाउँ रिसरागले लिँदै गएकाले होलीको पौराणिकता र माधुर्यता पनि हराउँदै गएको छ।’

होली पर्वले युवा पुस्ता मात्र नभई किसान, मजदुर, व्यापारी, गृहणी, कर्मचारी सवैलाई उत्तिकै छोएको छ। बजारमा होली अंकित टि–सर्ट, लोला, पिचकारी, रङ, अबिरलगायतको बिक्री बढेको छ।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए। आगोले छुन नसक्ने वरदान पाए पनि त्यसको प्रयोग गलत रुपमा गरेपछि होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले नछाेएको पौराणिक कथा फागु पर्वसँग जोडिएको छ।

त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु (होली) खेल्ने परम्परा चलेको मानिन्छ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको विश्वाससमेत छ।

तराईतिर फागुकाे अघिल्लाे रातमा होलीका दहन गरिन्छ। राति होलीका दहन गरिसकेपछि हाेलीकाे बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ। होलीलाई पुरानो कटुता समाप्त गरेर आपसमा मित्रता कायम गर्ने दिनको रुपमा समेत लिने गरिएको जानकारहरु बताउँछन्।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ।

तराईकाे हाेलीका लागि भन्दै केन्द्र सरकारले आज एक दिन तराई बिदा दिएकाे छ भने प्रदेश २ सरकारले भने बिहीबार र शुक्रबार २ दिननै सार्वजनिक बिदा दिएकाे छ।

तराईमा हाेलीका फरक प्रचलन : कुलदेवतालाई नैवेद्य चढाउनेदेखि पाेलेर बनाइएकाे नयाँ अन्नकाे प्रसादसम्म

जनकपुरधाम- समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ। सद्भाव, सौन्दर्य र रसरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो। भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ। पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो। फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ।

होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो। प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ। सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो। जैमिनी, शबर, वात्स्यायन आदिद्वारा रचित ग्रन्थका साथै भविष्यपुराण, लिङ्गपुराण, वराहपुराण, हिमादी आदिमा पनि यसको वर्णन पाइन्छ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ। हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ। असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ।

वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ।

यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट सुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ।

नाचगान र हाेली

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको बताइन्छ।

रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङग्याउने, ढोल, डम्फु ,झाल, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्व हिजो आज भने केही ओझेलमा परेको पाइन्छ।

राम खेलए होरी हो
लक्ष्मण खेलए होरी….
रामजीके हाथ कनक पिचकारी
सियाजीके हाथ अबिर झोली…
………………………….
का सँग खेलब ऋतु वसन्त
नियर फागुन दूर वसन्त…
………………………….
उपवन कुजए चातक कोकिल नानारंग बिरंग
देखि नवीन कुसुम तरू पल्लक थर–थर काँपए अंग…
………………………….
जीएब त खेलब अगिले साल…

यस प्रकारका गीत र जोगीरा सरर…..काबीच उत्साहजनक वातावरणमा आलिङ्गन र सानोले ठूलोको पाउँ छोइ आशीर्वादले वैमनस्यता हराउँछ।

फागुन पूर्णिमाका दिन तराई–मधेशमा कतिपय परिवारमा कुलदेवतालाई नैवेद्य चढाउने गरिन्छ, जसलाई मैथिली भाषामा ‘पातरि’ भनिन्छ। राति सामूहिकरूपमा होलिका दहन गरिन्छ।

संस्कृतिविद् रामदयाल राकेश होली पूर्ण प्रजातान्त्रिक पर्व भएकाले यसमा जातजाति र वर्गमा भेदभाव नगरी धनी, गरीब, उच, नीच सबै मिलेर मनाउने परम्परा भएकाले सदियौँदखि जीवन्त रहँदै आएको बताउँछन्। ‘प्राचीनकालमा त राजा र रैतीले एकसाथ मिलेर होली खेलेको सन्दर्भ कतिपय संस्कृत ग्रन्थमा उल्लेख गरिएको पाइन्छ’, उनले भने।

सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व रहेको यस पर्वमा खेलिने रङ र अबिरले छालाको रोग निवारण गर्ने, खोकी नाश गर्ने, होलिका दहनको धुवाँबाट शीतकालजन्य रोग नाश हुने, खरानीले दृष्टात्माको कुदृष्टि समेत नपर्ने मान्यतासमेत रहेको पाइन्छ।

जनकपुरधामको होली

तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ।

पन्ध्र दिने मिथिला परिक्रमा सहभागी तीर्थयात्री जनकपुधामको परिक्रमा गरी आ-आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो।

यस अवसरमा यहाँका नाट्य संस्थाको होली गायन प्रतियोगिता र महामूर्ख सम्मेलन लोकप्रिय छ। यस वर्ष महामुर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई दिइएको छ। मिथिला नाट्य कला परिषद (मिनाप)को आयोजनामा बुधबार सम्पन्न महामुर्ख सम्मेलनमा मेयर साहलाई महामुर्खको उपाधि प्रदान गरिएको हो।

यसैबिच परिषद्‍ले नै आयोजना गरेको होली गायन प्रतियोगितामा धनुषा जमुनिवास प्रथम भएको छ। जानकी मन्दिरमा आयोजना गरिएको उक्त प्रतियोगितामा सप्तरी राजविराजबाट आएको समूह दोश्रो भएको छ। धनुषाको हरिपुर तेश्रो भएको छ।

यसरी प्राचीनकालदेखि चलिआएको लामो समयसम्म मनाइने समानताको यो पर्व ओझेलमा पर्न थालेको र केही विकृति पनि देखिन्छ। यस पर्वले सृष्टि, प्रगति, स्फूर्ति तथा नयाँ सौन्दर्य प्रदान गर्ने भएकाले एकता र सद्भावको पर्वका रूपमा स्वीकार गर्नुपर्ने धारणा संस्कृतिविद् रामभरोस कापडी ‘भ्रमर’ व्यक्त गर्छन्।

प्राध्यापक डा पशुपति झा यस पर्वमा हास्यसम्म क्षम्य भएपनि अनावश्यक मनोरञ्जन क्षम्य हुन नसक्ने तर्क गर्छन्।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्