Logo
२५ बैशाख २०८१, मंगलबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा ओली-दाहाल गर्जन: ‘राजपाले फूर्तिफार्ती नगरेहुन्छ, मधेशको विकास नेकपाले नै गर्छ’

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समग्र तराईको विकास आफ्नै पार्टीको नेतृत्वमा हुने दावी गर्दै र परिआएमा राष्ट्रिय जनता पार्टी ‘राजपा’ लाई अलग्याउने संकेत गरेका छन्। स्वतन्त्र मधेसको माग सहितको पृथकतावादी अभियान त्यागेपछि सीके राउतसँग सरकारले शुक्रबार ११ बुँदे सहमति गरेको भोलीपल्ट अर्थात् शनिबार नेकपा प्रदेश नम्बर २ ले पहिलो पटक रौतहट जिल्लाको गरुडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा ओली र दाहालले त्यस्तो संकेत गरेका हुन्।

रौतहटसँँगै छिमेकी जिल्ला सप्तरी, सिरहालगायत जिल्लाबाट समेत कार्यकर्ता ओसारिएको उक्त आमसभामा ओलीले करिब एक घण्टा र दाहालले करिव आधा मधेसलाई आश्वस्त पार्ने हिसाबमा भाषण गरेका थिए । आफ्नो पार्टीलाई मधेस विरोधि पार्टीका रुपमा चित्रित गर्दै विस्थापित गर्न खोज्नेहरु आफैँ यस क्षेत्रको विकास विरोधि भएको उनीहरुले बताएका छन्।

प्रधानमन्त्री ओलीले सीके राउतसँग शुक्रवार काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको सहमतिलाई लक्षित गर्दै तराई लगायत मधेसको शान्ति, एकता र विकासका निम्ति आफ्नो सरकारले पृथकतावादी अभियान सञ्चालित गर्ने समूहलाई समेत राष्ट्रिय मुलधारमा ल्याउन सफल भएको दावी गरे।

अबको आफ्नो पार्टीको राजनीति साम्प्रदायिक, भुगोल या जातजातको आधारमा नभई साझा नेपालीको हित र विकासका लागि भएको भन्दै मधेसी जनतालाई अश्वस्त पार्ने कोसिसमा ओलीले धेरै समय खर्चिए।

उनले भने, ‘हिजो मात्र सीके राउत नेतृत्वको स्वतन्त्र तराई मधेस गठबन्धनले आफ्नो पुरानो बाटो छोडेर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई सम्मान गर्ने कुरामा हस्ताक्षर गरेको छ । उसले संविधानअनुसार चल्ने प्रतिबद्धता गरेको छ, जुन स्वागत योग्य छ ।’

टीकापुर हत्याकाण्डमा आफ्ना सांसद रेशमलाल चौधरीलाई दोषी ठहराउँदै नियतबस जन्मकैदको फैसला गराउन सरकारले भूमिका खेलेको भन्दै बिहीबार मात्रै सरकारको समर्थन फिर्ता लिएको मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टी ‘राजपा’ लक्षित ओलीको आलोचना अझ कडा थियो ।

उनले भने, ‘राजपाका नेताहरुलाई भन्न चाहन्छु, एउटा प्रदेशमा जनतालाई अल्मलाएर, झुक्याएर या फसाएर भोट पाइयो भनेर धेरै फुर्तिफार्ती नगर्नुहोस् । तपाईहरु सरकारविरुद्धको अभियान होइन बरु यस प्रदेशको विकासमा सहयोग गर्नुहोस ।’

ओलीले मधेसको सडक, खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्यको विकास आफ्नो सरकारको प्राथमिकतामा रहेको र आगामी चार वर्षमा मधेसको आमूल विकास हुने आश्वासन दिए।

उनले भने, ‘मधेसको हरेक सडक चार लेनको बन्नेछ, हरेकको घरमा खानेपानीको व्यवस्था हुने छ, बिजुली जोडिने छ, हरेक खेतमा सिचाईँ हुने छ, साझा समस्या गरिबी निवारण गरिने छ ।’ प्रधानमन्त्री ओली त्यतिमा सीमित भएन, आफ्नो राजनीतिक कर्मथलो मधेस भएको भन्दै मधेसलाई भावुक बनाउने कोशिस समेत गरे ।

उनले भने, ‘आजभन्दा ४६ वर्ष अघि भूमिगत हुँदा मलाई यहाँका जनताले बास दिनु भयो, आजभन्दा २० वर्षअघि राजतन्त्रबिरुद्धको बिकुल फुक्दै उहाँ आउँदा साथ दिनुभयो । त्यसैले मधेससँगको साइनोले इतिहास बोको छ । यही ठाउँबाट गिरफ्तार भएको थिए कसरी म तराई विरोधि हुँला ?’

मधेसलाई हुलाकी राजमार्ग जोड्ने कार्य, भित्री चार लेन भित्रि सडकको निर्माण, कृषिको आधुनिकरण, किसानलाई सहुलियत प्रदान, साक्षरता अभियान सञ्चालन, रोजागारीको व्यवस्था लगायत कामलाई आफु नेतृत्वको सरकारले तिव्र पारेको ओलीको भनाई थियो ।

ओलीले जिल्लाको लालबकैयाको बाँधको समस्या कोट्याए पनि ४६ वर्ष अघिको उक्त समस्या समाधानमा किन ढिलाई भयो भन्नेबारे खुलाएनन् ।

बरु उनले भने, ‘लालबकैयाको समस्या थाहा छ । बाँधको समस्या समाधान गर्न मैले पटक-पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरिसकेको छ । उसले अहिले सर्वेक्षण पनि गरिरहेको छ । छिमेकीका कारण मधेसी जनता पीडित र विस्तापित हुनु दुखद छ ।’

ओलीले तराई मधेसको समस्या समाधान गर्न ३ सय ५२ करोड रुपैयाँ बजेट छुट्याइएको र आवश्यक भए अरु पनि छुट्याउने प्रतिवद्धता जनाए।ओलीले सडक मात्रै नभई रेल मार्ग निर्माणका लागि सरकारले कदम तिव्र पारेको भन्दै अव विकासका लागि छिमेकीको भर पर्नु पर्ने अवस्था समेत अन्त्य दावी समेत उनले गरे।

सीके राउतलाई मुलुकको लोकतान्त्रिक प्रक्रियामा सामेल गराउँदा सरकारले शंकास्पद काम गरेको राजपाका नेताहरुले आरोप लगाइरहेका बेला दाहालले भने सीके राउत र सरकारसँगको सहमतिको सम्पूर्ण श्रय ओलीले लिनु पर्ने संकेत गरे।

उनले भने, ‘हिजो मात्रै ओलीजीको पहलमा तराई मधेसमा एउटा विखण्डनको नारा लिएर हिडेको समूह पनि शान्ति प्रक्रियाको मुल धारमा आउनु ठूलो कुरा हो । तर कतिपयले हाम्रो पार्टीलाई तराई, मधेस र हिमाल फुटाउने कोसिस गरिरहेको आरोप लगाइरहेका छन्।’

दाहालले नेकपाले नै राष्ट्रिय एकता मजबुत बनाउने र तराई, पहाड र हिमालका जनतालाई एक बनाउने अभियान सुरु गरिसकेको बताए।उनले पार्टी एकता भएपछि छिमेकी सम्बन्ध सन्तुलित भएको र उनीहरुसँग मुलुकको विकासका लागि अनेकौँ सम्झौताहरु भएको जानकारी गराए।

उनले भने, ‘मधेसमा हिजो राज्यद्धारानै विभेद थियो । अब हाम्रो पार्टीले यहाँको विकासमा ध्यान दिन्छ। विशेष प्याकेज ल्याउने छ । केही वर्षभित्र तराई-मधेस र राजधानीको दूरी फाट्ने छ र यहाँको विकासले फड्को मार्ने छ ।’ आउँदो चार वर्षमा तराई-मधेसमा दुई तिहाई मात्रै नभइ ८० प्रतिशत भोट नेकपाको पक्षमा आउने उनको दावी थियो।

त्यस्तै नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि मधेसको विकास गर्ने जिम्मेवारी नेकपामा आएको र त्यसमा कुनै कसुर बाँकी नराख्‍ने बताएका थिए।

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्