Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनियन्त्रित उत्खनन पश्चात क्रसर सञ्चालकविरुद्ध राँके जुलुस

बर्दिवास : महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका-४ रामनगरमा बिहीबार साँझ रातु नदी र नदीउकास जग्गामा भइरहेको अनियन्त्रित दोहनविरुद्ध राँके जुलुस प्रदर्शन भएको छ । आफ्नो बस्ती नजिकको रातु नदी र नदीउकास जग्गामा दिनहुँ अबेर राति सधैँजसो अनियन्त्रित उत्खनन गरेर क्रसर सञ्चालकले बालुवा, ढुङ्गा बाहिर लगिरहेपछि भङ्गाहा-४ का बासिन्दाले हिजो बिहीबार साँझ सोविरुद्ध राँके जुलुस प्रदर्शन गरेका हुन् ।

केही दिन पहिले जिल्ला समन्वय समिति महोत्तरीको अनुगमनमा भङ्गाहा-४ मा सञ्चालित सबैजसो क्रसर अवैधानिक रहेको पाइए पनि ती बन्द भने हुन नसकेको त्यहाँका बासिन्दाको भनाइ छ । बिहीबार अबेर साँझ भङ्गाहा-४ रामनगरस्थित हटियाचौरमा भेला भएका सयौँ सर्वसाधारणले हातहातमा राँको बालिएको भाटो लिएर ‘क्रसरको मनपरी बन्द गर, प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहन नियन्त्रण गर’ भन्ने नारा लगाउँदै चार किलोमिटर लम्बाइको रामनगर बस्ती परिक्रमा गरेका थिए ।

नदीकिनार र नदीउकास क्षेत्रमा ठूलाठूला खाल्डा बनाएर बालुवा र ढुङ्गा उत्खननको अवैध धन्दा नरोकिएपछि विरोध कार्यक्रम शुरु गर्नुपरेको त्यहाँका सर्वसाधारण बताउँछन् । क्रसर सञ्चालकले अनुगमन त देखाउन मात्र गरिएको बताउँदै आपूmहरुलाई चुरीफुरी नदेखाउन धम्क्याउने गरेको सो बस्तीका २५ वर्षीय युवा सन्तोष महतोले बताए ।

रामनगरको रातु नदी र नदीउकास जगामा अहिले १९ क्रसर सञ्चालनमा रहेका छन् । क्रसर सञ्चालकलाई स्थानीय जनप्रतिनिधिको संरक्षण रहेको पनि कतिपयले आरोप लगाएका छन् । यद्यपि भङ्गाहा-४ का वडाध्यक्ष अशोककुमार महतोले कानूनसम्मत नरहेका कुनै क्रसर उद्योगलाई नगरपालिका, कार्यपालिका कार्यालय वा वडा कार्यालयको संरक्षण नरहेको बताए ।

यसैबीच जिल्ला समन्वय समितिले अनुगमनका क्रममा मापदण्ड नाघेर क्रसर सञ्चालन नगर्न गरिएको आग्रह अटेर गर्नेलाई अब थप कानूनी कारवाही नै चलाइने जनाएको छ । समितिका प्रवक्ता सुदीपकुमार झाले अनुगमन टोलीको आग्रह अटेर गर्नेहरुविरुद्ध स्वस्पूmर्त रूपमा उजुरी आउन थालेका बताउँदै अब कारवाही प्रक्रिया थालिने बताए ।

 

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्