Logo
१२ श्रावण २०८१, शनिबार
(May 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूमिगत बिजुलीको परीक्षण गर्दै प्राधिकरण, ६ महिनाभित्र पोलका सबै उपकरण हटाउन सूचना

३ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँका जडान गरेका भूमिगत विद्युत प्रणाली केही दिनमा परीक्षण गरेर सञ्चालनमा ल्याउने भएको छ ।

काठमाडौंका पेप्सीकोला–जडीबुटी, लैनचौर नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत जडान भइसकेकाले परीक्षणको तयारी थालेको प्राधिकरणले जनाएको हो ।

साथै, भूमिगत विद्युत प्रणाली योजना पूरा भइसकेका उल्लेखित ठाउँका बिजुली पोलमा जडान भएका सडक बत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबल, सीसीक्यामेरालगायत संरचना र उपकरण ६ महिनाभित्र हटाउन पनि प्राधिकरणले सूचना जारी गरेको छ ।

प्राधिकरणले बिहीबार जारी गरेको सूचनामा तोकिएको स्थानमा पोल विस्तारै हटाउँदै जाने योजना रहेकाले त्यसमा जडान गरिएका उपकरण र स‌ंरचना पनि हटाउन भनिएको हो ।

‘संरचना एवं उपकरणहरु नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत प्राधिकरण जिम्मेवारी नहुने व्यहोरोसमेत जानकारी गराइन्छ’, प्राधिकरणले सूचनामा भनेको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भूमिगत बिजुली वितरण सुरु भएसँगै सडकका पोल पनि पूर्ण रुपमा हटाउन सूचना प्रकाशन गरेको जानकारी दिए । ‘भूमिगत विद्युत प्रणाली सुरु भइसकेका ठाउँमा पूर्ण रुपमा सडकका पोल हटाउने नै हाम्रो मुख्य योजना हो । हेरौं त्यसमा कति सफल भइन्छ’, उनले भने ।

प्राधिकरणले यसअघि नै रत्नपार्क, चाबहिल क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत वितरण सुरु गरिसकेको छ । तर ती ठाउँका बिजुलीका पोल अझै हट्न सकेका छैनन् । विद्युत भूमिगत प्रणालीबाटै वितरण सुरु भए पनि पूर्ण रुपमा पोल हटाउन नसकिएको घोष स्वीकार्छन् ।

‘प्राधिकरणले बिजुलीका पोल राखेपछि त्योसँगै धेरै कुरा जोडिएर आउने रहेछ । त्यसलाई हटाउन सकेका छैनौं’, घोषले  भने, ‘अहिले त पोलको भारवाहन क्षमता बढी भएर कतिबेला के हुने हो भन्ने जोखिम पनि बढेको छ ।’

प्राधिकरणले ०७६ सालदेखि काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम सुरु गरेको थियो । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ फागुन ५ गते महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको उद्घाटन गरेका थिए ।

भूमिगत विद्युत प्रणाली योजना अहिले काठमाडौं उपत्यकासहित पोखरा र भरतपुरमा पनि चलिरहेको छ । सबै ठाउँमा काम करिब अन्तिम चरणमा पुगिसकेको प्राधिकरणका प्रवक्ता घोषले जानकारी दिए ।

‘सबै ठाउँमा अहिले पहिलो चरणको काम करिब ८० प्रतिशत सकिइसकेको छ । दोस्रो चरणको काम पनि २० प्रतिशत सकिइसकेको छ’, उनले भने, ‘पहिलो चरणको कामबाट सन्तुष्ट भएर भरतपुरकै विभिन्न ठाउँमा दोस्रो चरणको काम सुरु भएको हो ।’

 

प्रकाशित मिति: May 16, 2024

प्रतिक्रिया दिनुहोस्