Logo
६ जेष्ठ २०८१, आईतबार
(December 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्ची खानोपानी आयोजना : ठेक्का तोडेको पत्र कम्पनीले फिर्ता लियो, काम अब अघि बढ्ने

काठमाडौँ : मेलम्ची खानोपानी आयोजना निर्माण कम्पनी सीएमसी डी–रेभेनाले काम छाडेर एकतर्फी ठेक्का तोडेको जानकारीसहितको पत्र फिर्ता लिएको छ । कम्पनीले काम गर्ने आशयले सो पत्र फिर्ता लिएको हो । पुस २ गते एकतर्फी ठेक्का तोडेको जानकारीसहित निर्माण कम्पनीले सरकारलाई पत्र दिएको थियो ।

तर, खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सीएमसी दि रेभेनासँग कुनै दुविधा नभए पनि कम्पनीप्रति विश्वास गर्ने वातावरण नरहेको बताइन । उनले ठेकेदार कम्पनीसँग सरकारले विश्वास गर्ने आधार तयार भएमात्र काम अघि बढ्ने जानाकारी गराइन ।

ठेकेदार कम्पनीसँग काम गर्न सरकारले विश्वासको आधार खोजिरहेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि मन्त्रालयले उच्चस्तरमा पहल गरिरहेको जानकारी दिइन । मन्त्री मगरले मुखैमा आइसकेको आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार संवेदनशील भएर लागेको बताइन ।

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले भने पत्र फिर्ता लिएपछि उसले काम गर्न सक्ने बताए । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने काम गर्छ गर्दैन भन्न सकिने अवस्था नरहेको बताए। कम्पनीले काम गर्नुपर्ने हो तर उसको आर्थिक अवस्थाले गर्दा भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

कँडेलले भने, पत्र फिर्ता लिएको स्वाभाविकै हो, पत्र फिर्ता लिएपछि काम गर्छ कि भन्ने देखिन्छ तर यसै भन्न सकिने अवस्था छैन, आयो भने राम्रो तर सम्झौतामा आज काम तोड्छु भोलि फेरि फिर्ता लिन्छु भन्ने खालका सुविधा छैन । कम्पनीले काम गर्नका लागि बैङ्क धरौटी नवीकरण पनि गर्नुपर्ने छ । स्टान्र्ड चार्टर्ड र इन्भेस्टमेन्ट बैङ्कमा रहेको धरौटी नवीकरण पुस १६ गतेसम्म गरिसक्नुपर्ने छ । गरेन भने स्वतः आयोजना छोडेको ठहरिने अवस्था छ ।

कम्पनीले काम छाडेको जानकारीसहितको पत्र बुझाएपछि खानेपानी मन्त्रालयले दुई अर्ब ५० करोड रुपियाँ धरौटी रोक्का गरेको थियो । मेलम्ची परियोजना अहिले अन्तिम चरणमा छ ।

सुरुङको प्लास्टर र ढलान फिनिसिङ को काम सकिन अब जम्मा १.५ किमि बाँकी छ । भेन्टिलेसन र फिनिसिङको काम सकिएपछि सुरुङबाट पानी ल्याउन सकिन्छ । निर्माण कम्पनीसँगको छलफल चलिरहेको समितिले बताएको छ ।

प्रकाशित मिति: Dec 25, 2018

प्रतिक्रिया दिनुहोस्