Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः मात्र आठ जिल्लामै सीमित हुँदै ‘मधेश’

काठमाडौं : ‘स्वायत्त मधेश प्रदेश’ र ‘समग्र मधेश एक प्रदेश’ मूल मुद्दा उठाउँदै नेपालको राजनीतिमा मात्र नभई विश्व स्तरमा छुट्टै पहिचान बनाउन सफल मधेश केन्द्रित दलहरू अहिले आएर आफ्ना मूल नारा बिर्सिदै गएका छन् ।
चर्का–चर्का भाषण र नारा दिएर मधेशी जनताको भावनासँग पटक–पटक खेलवाड हुँदै आएको छ । मधेशमा जाँदा मधेशकेन्द्रित दलका नेताहरू ठूला–ठूला भाषण गर्ने तर थानकोट कटिसकेपछि ती सबै प्रतिबद्धताहरू बिर्सिने गरेका थुप्रै उदाहरणहरू छन् ।

अहिले मधेशकेन्द्रित दलहरू संघीय समाजवादी फोरम र राजपालाई एउटै दृष्टिले हेर्न मिल्दैन तर व्यवहारमा खासै फरक छैन । विगतमा मधेशका २० वटै जिल्लालाई मधेश प्रदेश बनाउने नारा दिँदै आए पछि मधेशमा दुई प्रदेश भन्दै आए तर अहिले मधेशका आठ जिल्ला अर्थात प्रदेश २ लाई मधेश प्रदेश घोषणा गर्ने कसरतमा लागेका छन् । फोरम र राजपाको संयुक्त सरकार रहेको प्रदेश २ लाई मात्र मधेश प्रदेश घोषणा गर्दा अन्य प्रदेशमा रहेका मधेशीप्रति अन्याय नै हुनेछ । मधेश प्रदेशका लागि समग्र मधेशमै आन्दोलन भएका थिए, बलिदानी दिएका थिए यो कुरा फोरम र राजपाले बिर्सिनु हुँदैन ।

कुनै समय थियो की राजपा र फोरम सिङ्गो मधेश आन्दोलनको मुद्दालाई लिएर झण्डै डेढ वर्ष भन्दा बढी समयसम्म आन्दोलन गर्दै गरेको थियो । आन्दोलनकै बीचमा दुवै दल निर्वाचनमा भाग पनि लिए र अन्ततः दुई नम्बर प्रदेशमा मात्रै सीमित भए । विभिन्न मधेशकेन्द्रित पार्टीहरूलाई एकीकृत गरी मधेश शब्द बिनाको राष्ट्रिय पार्टी घोषणा गरिए पनि राजपा र फोरमको पछिल्लो अवस्था हेर्दा उनीहरू दुई नम्बर प्रदेशमा मात्रै सीमित रहेका छन् । ‘भागते भूतका लङ्गौटी काफी’ भन्ने सिद्धान्त पछ्याएर राजपा र फोरमले मध्यमधेशका आठ जिल्लामा मात्र आफूलाई सीमित पार्ने आत्मघाती रणनीति हो ।

वास्तवमा अबको राजनीतिक दृश्यपटलमा मधेशवासी भन्नाले ती सबै हुन्, जसको बसोवास तराई मधेशका २० वटै जिल्लामा छ । जो राजपाबाहेक वा समेत कुनै पनि राजनीतिक पार्टीलाई समर्थन गर्न सक्छन् । उनीहरू नेपालको संविधान कार्यान्वयन भएको देख्न चाहन्छन् । र, राष्ट्रिय राजनीतिमा जोडिन चाहन्छन् । यसविपरीत अब ती मानिस मात्र मधेशी रहन पुगे, जो राजपालाई मात्र समर्थन गर्छन् । उनीहरू राजपाको पछि लागेर आठ जिल्लाको स्थानीय राजनीतिमा रूमल्लिएका छन् ।

अबको दिनमा मधेशको राजनीतिले कुन मोड लिन्छ, यसै भन्न सकिने स्थिति छैन । तर, यति पक्का छ– आफूलाई आठ जिल्लामा सीमित राख्ने राजपा र फोरमको राजनीतिक शक्ति भने घट्नसक्छ । निर्वाचन परिणामले पनि यस्तै देखाएको छ । उनीहरू राष्ट्रिय होइन क्षेत्रीय दल हुन भनेर स्वयं मधेशी जनताले प्रमाणित गरेका छन् । त्यसैले अब राजपा र फोरमको राजनीति समग्र मधेशवासीका लागि नभएर सीमित मधेशीहरूका लागि मात्र हुनेछ ।

अब भने मधेशवासीहरू एउटा बृहत् राजनीतिक धारमा उभिनेछन् । मधेशी राजनीति गर्नेहरूचाहिँ प्रदेश–२ मा सीमित हुनेछन् । राजपाको राजनीतिक समस्या आफैँभित्र छ । यसले मधेशका सम्पूर्ण बासिन्दालाई आफ्नो मतदाता मान्दैन । यो पार्टी आफँै नश्लीय दृष्टिकोणले पीडित छ । मधेशमा बसेका पहाडी मूलका सम्पूर्ण मतदातालाई उसले बहिष्कार र निषेध गर्दै आएको छ । उपेन्द्र यादवले संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर मधेशवासी र जनजातिहरूको राजनीति एकैसाथ अघि बढाएका छन् । तर, राजपाले भने यस्तो राजनीतिलाई पूर्णतः वर्जित गरेको छ । जसका कारण प्रदेश–२ का आठ जिल्लामा पार्टी सीमित भएको छ ।

प्रदेश २ लाई मधेश प्रदेश घोषणा गरौं : उपेन्द्र
समग्र मधेश एक प्रदेश मूल नाराका साथ नेपालको राजनीति स्थापित भएका व्यक्तित्व हुन् वर्तमान उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव । उनले विगतमा मधेशका २० वटै जिल्लालाई मधेश प्रदेश हुनुपर्ने मुख्य एजेन्डा बनाई राजनीति गर्दै आएका थिए ।तर, हाल आएर उनी प्रदेश २ अर्थात मधेशका आठ जिल्लालाई मात्र मधेश प्रदेश घोषणा गर्नुपर्ने धारणा राखेका छन् । उनले मधेशवादलाई समेत स्वीकार गर्न सकिरहेका छैनन् । उनी भन्छन्, ‘मधेश कुनै वाद नै होइन ।’

‘मधेशको मात्र आठ जिल्लालाई मधेश प्रदेश स्वीकार्नु फोरम अध्यक्ष यादवको सत्तालोलुप्ता बाहेक अरू केही पनि होइन,’ मधेश आन्दोलनका एक युवा भन्छन्, ‘फोरम अध्यक्ष यादवको चरित्रलाई मधेशका जनताले राम्ररी बुझिसकेका छन् । उनी अवसरवादी मात्र हुन्, समाजवादी वा मधेशवादी हुनै सक्दैनन् ।’ संविधान संशोधन होइन, पुनर्लेखन गर्नुपर्छ भन्दै आएका उपेन्द्र यादव मधेश आन्दोलनको मर्म र भावनाविपरीत सबभन्दा पहिला स्थानीय निर्वाचनमा भाग लिए । त्यसपछि मधेशको माग पूरा नभई सरकारमा जान्नौं भन्दै ठूला ठूला क्रान्तिकारी नारा दिँदै आएका उपेन्द्र यादवले केपी शर्मा ओलीसँग दुईबुँदे सहमति गरी सरकारमा गए ।

विगतमा २२ बुँदेबाट सहमतिबाट जसरी २ बुँदे सहमतिसम्म उपेन्द्र यादव मधेशलाई खुम्चियाएका छन् त्यसरी नै उनी मधेशको २० जिल्लाबाट आठ जिल्लामा मात्र सीमित राख्ने चेष्टा गरिरहेको तर्क एक राजनीतिक विश्लेषकको छ ।
मंगलबार वीरगन्जमा आयोजित एक कार्यक्रममा फोरम अध्यक्ष यादवले प्रदेश नं २ को नाम परिवर्तन गरी मधेश प्रदेश कायम गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

सोही कार्यक्रममा उनकै पार्टीका कतिपय नेता कार्यकर्ता यस्तो अभिव्यक्तिप्रति असन्तुष्ट देखिएका थिए । नाम उल्लेख नगर्ने शर्तमा ती नेता भने, ‘मधेशमा यत्रो कठोर आन्दोलन आठ जिल्लाको मधेश प्रदेशका लागि भएको थिएन । हामीले मधेशका सम्पूर्ण जिल्लालाई मधेश प्रदेश हुनुपर्ने मागका साथ आन्दोलन गरेका थियौं ।’

राजपा पनि सहमत
‘सत्ता होइन प्रभुसत्ता चाहिन्छ’ भन्ने मूल नाराका साथ मधेश आन्दोलनताका वर्तमान राजपाका संयोजक महन्थ ठाकुरले तमलोपा गठन गरेका थिए । उनले स्वायत्त मधेश प्रदेशलाई मूल नारा बनाएका थिए । तर अहिले आएर आठ जिल्लालाई नै मधेश प्रदेश स्वीकार्न राजपा पनि तयार देखिएका छन् । राजपाका वरिष्ठ नेता रामनरेश रायले मधेशवाणीसँग कुराकानी गर्दै भनेका छन्, ‘हामी पनि प्रदेश २ को नाम मधेश प्रदेश राख्न तयार छौं ।’

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्