Logo
२३ बैशाख २०८१, आईतबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश शक्तिमा छैन त्यही भएर मधेशीसँग न चीन छ न भारत

काठमाडौँ : राजनीतिक विश्लेषक तुलानारायण साहले मधेश यतिबेला शक्तिविहीन भएकोले कुनै पनि शक्तिकेन्द्रको साथ नरहेको बताएका छन् । उनले छिमेकी पनि बलियोसँग मात्र हुने भन्दै भारत यतिबेला नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रको साथमा रहेको टिप्पणी गरे । काठमाडौं स्थित मार्टिन चौतारीमा आयोजित मधेश आन्दोलनको ११ वर्ष विषयक मधेश मन्थन कार्यक्रममा मधेश मामिलाका जानकार मानिने साहले भने, ‘जोसँग शक्ति हुन्छ, त्योसँग मात्र शक्ति केन्द्र हुन्छ । मधेश शक्तिमा छैन त्यही भएर मधेशीसँग न चीन छ न भारत ।’

– तुलानारायण साह, विश्लेषक

उनले भने, ‘संविधान जारी भएपछि भारतको प्राथमिकतामा मधेश रहेन, संविधान निर्माण भएपछि उसको प्राथमिकतामा काठमाडौँ पर्यो ।’ मधेशवादी दललाई भारतले आफ्नो स्वार्थको लागि मात्र प्रयोग गरेको उनको भनाई थियो । मधेसवादी दललाई प्रयोग गरेर भारतले तीन दललाई फुटाएको स्मरण गर्दै उनले एमालेलाई एक्ल्याउनका लागि मात्र सुशील कोइरालालाई मत हाल्न मधेशवादी दललाई भारतले बाध्य पारेको टिप्पणी गरे । संविधान निर्माण भएपछि भारतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बोकेर खेलिरहेको दावी गर्दै विश्लेषक साहले हालसम्म पनि प्रचण्ड भारतकै मोहरा बनिरहेको पनि दाबी गरे । २०६३ को पहिलो मधेश आन्दोलनदेखि २०७२ को तेस्रो मधेश आन्दोलनसम्मका विभिन्न आयामहरुका बारेमा उनले कार्यक्रममा विश्लेषण गरेका थिए ।

पहिलो मधेश आन्दोलन जसलाई उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालले नेतृत्व गरेको थियो त्यसलाई उनले विद्रोहको संज्ञा दिँदै भने, ‘पहिलो मधेश आन्दोलन आफै भएको थियो । त्यो विद्रोह थियो, त्यो आन्दोलनका लागि कसैले तयारी गरेका थिएन । दोस्रो मधेश आन्दोलन मात्र तयारी पूर्वक भएको थियो जसमा महन्थ ठाकुर नेतृत्व गरेको तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी र राजेन्द्र महतोले नेतृत्व गरेको तत्कालिन सद्भावना पार्टी सहभागि भएपछि आन्दोलन सफल भएको हो ।’

उनले मधेश आन्दोलनको शुरुवात नेपाल सद्भावना पार्टीले गरेको थियो तर त्यसलाई उपेन्द्र यादव उछिनेर नेता भएको टिप्पणी गरे । गिरीजा प्रसाद कोइराला दुई–दुई पटक सम्बोधन गर्न बाध्य भएको त्यो आन्दोलनलाई ‘सेफल्याण्डिङ्ग’ गराउने काम भारतले गरेको उनको दावी थियो । उनले २०६४ फागुन १६ गते भएको ८ बुँदे सम्झौता भारतले गराएको दावी गरे । त्यसपछि २०६४ देखि २०७० सम्म सत्ताको राजनीति भएको उनको टिप्पणी थियो । उनले भने, ‘माओवादीले त्यतिबेला पहिलो प्राथमिकतामा शान्ति प्रकृयालाई राखेको थियो भने दोस्रो प्राथमिकतामा सत्तालाई राखेको थियो । एमालेले पहिलो प्राथमिकतामा सत्तालाई राखेको थियो दोस्रो प्राथमिकतामा शान्ति प्रकृयामा राखेको थियो ।

त्यस्तै मधेशवादी दलले पहिलो प्राथमिकतामा सत्तालाई राखेको थियो भने दोस्रो प्राथमिकतामा सविधानलाई राखेको थियो । काँग्रेसले दुईटै दललाई लडाएर संविधान निर्माण प्रकृयालाई कसरी लम्ब्याउन सकिन्छ त्यसको खेलमा थियो । अर्थात संविधान निर्माण कसैको प्राथमिकतामा थिएन ।’ २०७० पछि काँग्रेस, एमाले र राप्रपा एउटा शक्ति बन्यो भने अर्को शक्ति मधेशवादी दल र माओवादी केन्द्र एउटा शक्ति बनेकोे उल्लेख गर्दै साहले अन्ततः पहिलो शक्तिले मधेशी दल र माओवादीको शक्तिलाई टुक्राउन सफल भएको बताए । माओवादी केन्द्रले मधेशवादी दललाई छाडेर काँग्रेस र एमालेसँग मिलेर १६ बुँदे सम्झौता गरेपछि संविधानको मस्यौदा तयार भएको र त्यसैको विरुद्धमा मधेशवादी दलले आन्दोलन गरेको स्मरण गराए ।

मधेशवादी दलले आन्दोलन गरिरहँदा पनि तीन दलले जवर्जस्ती सविधान जारी गरेको भन्दै उनले संविधान मात्र जारी नगरेर त्यसको कार्यान्वयनका लागि तीनै चरणको चुनाव पनि सम्पन्न गराएको टिप्पणी गरे । उनले ढिलो चाँडो चुनावमा भाग लिएर मधेशवादी दलले पनि अहिले त्यही परिणाममा रमाइरहेको बताए । उनले भने, ‘मधेशवादी दलले जुन परिणाम ल्याएको छ त्यसमा निकै खुशी छन् ।’ काँग्रेस र माओवादी केन्द्रले ‘कप्टी’ रुपमा सविधान संशोधनको प्रस्ताव ल्याएको दावी गर्दै उनले काँग्रेसले संविधान संशोधन नचाहिको कुरा मधेशी दलले बुझ्न नसकेको टिप्पणी गरे ।

 

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्