Logo
२ जेष्ठ २०८१, बुधबार
(August 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधन विधेयक फेल भएपछि, सत्तापक्ष र प्रतिपक्षको प्रतिक्रिया यस्तो 

काठमाडौँ :  नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रस्ताव अस्वीकृत भएपछि विभिन्न राजनीतिक दलले मिश्रित प्रतिक्रिया दिएका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकबाट अस्वीकृत भएको उक्त विधेयकबारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयकलाई विशेष समितिमा लगेर छलफल गरौँ भनेर आफूहरुले पटक पटक जोड दिँदै आएको तर सरकारले पर्याप्त छलफल नगरेकाले अहिलेको परिणाम आएको टिप्पणी गरे ।

यद्यपि परिणाम जस्तो आए पनि यसले संविधानलाई सर्वस्वीकृत तुल्याएको उनले उल्लेख गरे । नेता नेम्वाङले संशोधनको प्रस्ताव अस्वीकार भएसँगै सरकारमाथि नैतिक प्रश्न खडा भएको पनि बताए ।  सत्तारुढ नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले अहिलेलाई अस्वीकृत भएको संविधान संशोधनको भावना सम्बोधन गर्नका लागि काँग्रेसका तर्फबाट फेरि प्रयास हुने बताए ।

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले विधेयकको परिणाममाथि पार्टीको बैठक बसेर आधिकारिक धारणा ल्याइने बताए ।  राससका अनुसार  सङ्घीय समाजवादी फोरम नेपालका नेता डा शिवजी यादवले सबैको सहमतिमा प्रस्ताव लैजानुपर्नेमा सरकारले छलफल नगरी लगेको बताउँदै संशोधन अस्वीकृत हुनुमा अन्ततः तीन वटै ठूला दलको मिलेमतो रहेको आरोप लगाए ।

अन्तत : संविधान संशोधन विधेयक फेल
व्यवस्थापिका–संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ फेल भएको छ । संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो ।

संशोधन विधेयक पारित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्या ५९२ को दुई तिहाइ ३९५ मत हुनुपर्नेमा पक्षमा ३४७ र विपक्षमा २०६ मत परेको थियो । मतदानमा ५५३ सांसदले भाग लिनुभएको थियो । विधेयक पारित हुन ४८ मत पुग्न सकेन । राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न सरकारले सो संशोधन प्रस्ताव पेश गरेको थियो । सो पार्टीले संविधान संशोधन संसद्बाट पारित नभएको विषयलाई आन्दोलनको मुद्दा बनाई आएको थियो ।

संशोधनको पक्षमा सत्तारूढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायतले मत दिएका थिए भने नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले विपक्षमा मत दिएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नेकपा (माले)ले मतदानमा भाग लिएनन् । राजपाले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन पूर्व संविधान संशोधन हुनुपर्ने माग गर्दै आएको सन्दर्भमा सो प्रस्तावमा आज मतदान भएको हो ।

 

संविधानमा भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र प्रदेशको सीमाङ्कन लगायतका विषयमा संशोधन प्रस्ताव पेश भएको थियो । विधेयकको दफाबार छलफलमा ५३ जना सांसदले भाग लिएका थिए । उक्त प्रस्ताव गत साउन ३२ गते सदनमा पेश गरिएको थियो । विधेयकमाथि ५० वटा संशोधन पेश भएका थिए ।

प्रकाशित मिति: Aug 22, 2017

प्रतिक्रिया दिनुहोस्