Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाको नालीबेलीः सहमतीदेखि आन्दोलनका कार्यक्रम सम्म

 

काठमाडौँ, असार २ :  स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तरगत चारवटा प्रदेशमा हुने भनिएको चुनावमध्ये दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव असोज २ गते सारिएको छ । राष्ट्रिय जनता पार्टी नेपालको दबाबमा नै दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनावलाई असोज २ गते सारिएको हो ।

प्रतिपक्षी दल एमाले, संघीय समाजवादी फोरम नेपाललगायतका दलहरुले चुनाव सार्ने निर्णयको विरोध गरिरहेका छन्, जुन स्वभाविक हो । तर, जसको दबाबमा चुनावको मिति सारियो उसैले विरोध गरेपछि सत्तारुढ दल पनि अच्चमित बनेको छ । राजपा नेपालसँग जेठ ३१ गते र असार १ गते भएको वार्तामा दुई पक्षबीच सहमति भएपछि दुई नम्बर नम्बर प्रदेशको चुनाव सारिएको हो । राजपा नेपालले शुरुमा ११ वटा जिल्लाको चुनाव सार्नु पर्ने दबाब बैठकमा दिएका थिए ।

राजपा नेपालको तर्फबाट शरतसिंह भण्डारीले दुई नम्बर प्रदेश मात्र होइन, दुई नम्बरको आठ वटा जिल्ला र पाँच नम्बर प्रदेशको तीनवटा जिल्ला गरि ११ वटा जिल्लाको चुनाव सारे मात्र आफूहरु सहमति जनाउने कडा अडान लिएका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले दुई नम्बर प्रदेशबाहेक अरु जिल्ला वा प्रदेशमा हुने स्थानीय तहको चुनाव कुनै पनि हालतमा सार्न नसकिने, दुई नम्बर बाहेक सार्नलाई दबाब नदिन पटक–पटक आग्रह गरेका थिए ।

बैठकमा सहभागि एक नेताले प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै भने, ‘प्रधानमन्त्री देउवाले दुई नम्बर प्रदेशको चुनाव सार्न समस्या रहेको बेलामा अरु जिल्ला तथा ठाउँको चुनाव सार्न झन् कति गाह्रो होला । त्यसले प्लिज यसमा दबाब नदिनुस् । बरु दुई नम्बर बाहेक अन्य प्रदेशमा हुने स्थानीय तहको चुनावमा राजपा नेपाल कसरी सहभागी हुनसक्छ, त्यसका लागि प्राविधिक कुरा के के मिलाउनुपर्छ मिलाउन सकिन्छ ।’ यदि दुई नम्बरको चुनाव मात्र सारिए अरु बाँकी प्रदेशमा राजपा नेपालले के गर्ने र कसरी भाग लिने भन्ने राजपा नेपालका नेताहरुको जिज्ञासा थियो । ‘पहिलो चरणको चुनाव छाडियो तर, अब दोस्रो चरणको चुनाव छाड्न सकिने अवस्था छैन किनभने दुई नम्बर प्रदेश मात्र तराई मधेश होइन, त्यसैले यसको बारेमा पनि केही सोच्नुपर्छ’ भन्दै नेताहरुले धारणा राखेका थिए ।

राजपाको कुरा सुनेपछि माओवादी केन्द्रका नेता मातृका यादवले यदि राजपा नेपाल चुनावमा भाग लिन तयार भए असार दुई गते हुने उम्मेदवार मनोनयको कार्यक्रमलाई दुई तीनका लागि सार्न सुझाव दिएका थिए । यादवले दिएको सुझावमा लगभग सबैजना कन्भिन्स पनि भएका थिए । त्यसपछि राजपा नेपालका नेताहरुले दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनाव सार्न सहमति जनाएको स्रोत बताउँछ । सहमति पछि दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनाव असोज २ गते हुनुपर्ने प्रस्ताव राजपा नेपालका नेताहरुले नै राखेका थिए ।

त्यसपछि दुई नम्बर प्रदेशको चुनाव सार्ने तर कति गते सार्ने विषयमा आयोगसँग सल्लाह गरेर सरकारले साँझसम्म आफ्नो निर्णय सार्वजनिक गर्ने कुरा सत्तारुढ दलका नेताहरुले राखेका थिए । राजपा नेपालका नेताहरुले पनि दुई नम्बर प्रदेशको चुनाव सार्नुस् बाँकी ठाउँका लागि आफूहरुले के गर्ने त्यसको जानकारी पछि गराउने भन्दै बैठक सकिएको थियो । तर, जब दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव असोज २ गतेका लागि सर्यो भनि समाचार प्रकाशमा आयो, राजपा नेपालका नेताहरुमाथि दबाब पर्न थाल्यो । यथार्थ जानकारी दिन राजपा नेपालका नेताहरुलाई कठिन भयो ।

त्यसपछि राजपा नेपालका अध्यक्ष महन्थ ठाकुुरले सञ्चारमाध्यमलाई सरकारसँग चुनाव सार्ने विषयमा कुनै सहमति नभएको र सरकारले आफ्नो सुविधा अनुसार यो निर्णय गरेको प्रतिकृया दिए । त्यसपछि ठाकुर पक्ष अर्थात तमलोपामा रहेका अन्य नेताहरुले कुनै सहमति नभएको प्रतिकृया धमाधम दिन थालेका थिए । त्यतिबेलासम्म शरतसिंह भण्डारी र महेन्द्रराय यादव पक्षका कुनै पनि नेताले यो निर्णयको विरुद्धमा आफ्नो प्रतिकृया जनाएका थिएनन् ।

उता, यो निर्णयले मधेशमा हलिखलि नै मच्यो । नेताहरुलाई जवाफ दिन धौधौ परेपछि त्यसको बारेमा आधिकारिक निर्णय गर्न असार १ गते ३ बजे राजपा नेपालको बैठक बस्यो । काठमाडौमा रहेका महन्थ ठाकुर, महेन्द्रराय यादव र शरतसिंह भण्डारीहरु मात्र बैठकमा सहभागि भए । अन्य तीनजना नेता राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव आन्दोलनका लागि उपत्यका बाहिर थिए । नेता श्रेष्ठले भने, ‘अघिल्लो दिन तीनवटा प्रदेशको चुनाव सार्न राजी नभएपछि अर्को दिन अर्थात जेठ २८ गते नभए दुई नम्बर प्रदेशको चुनाव सारेर भएपनि माग पूरा गर्नुस् भनि प्रस्ताव राजपाबाट आयो ।’

तीन नेताको बीचमा भएको छलफलमा कुनै निष्कर्ष निस्किएन । अर्थात तीन नेताबीच नै कुरा बाझ्यो । त्यसपछि महन्थ ठाकुरले ‘यो गम्भीर विषय हो, सबै अध्यक्षको बीचमा यसको बारेमा छलफल गरौं’ भनि उपत्यका बाहिर रहेका अन्य तीनजना नेतालाई तत्कालै काठमाडौ आउन खबर पठाए । राजेन्द्र महतो र अलिन झा राती नै काठमाडौ आइपुगे भने राजकिशोर यादव आज मात्र आए ।

दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनाव सर्नुपर्ने तयारी एक दिनको मात्र होइन । यसअघि पनि यस विषयमा गृहकार्य भएकै हो । सत्तारुढ दलले मधेशवादी दलले राखेको माग पूरा गर्न असार १४ गते हुने दोस्रो चरणको चुनाव प्रभावित हुने भएकाले चुनावपछि नै सबै माग पूरा गर्ने भनेको थियो । त्यसपछि राजपा नेपालका नेताहरुले चुनावको मिति सारेर भएपनि आफूहरुको माग पूरा गर्नुपर्ने अडान लिएका थिए । ‘आफूहरुका लागि चुनाव प्राथमिकताको विषय होइन, माग प्राथमिक विषय हो । चुनाव सारेर भएपनि माग पूरा भयो भने आफूहरुलाई कुनै आपत्ति नहुने’ कुरा राजपा नेपालका नेताहरुले कुरा राखेका थिए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार जेठ २७ गते सत्तारुढ दलसँग भएको छलफलमा राजपा नेपालका नेता शरतसिंह भण्डारीले एक, दुई र पाँच नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनाव सार्न प्रस्ताव गरेका थिए । तर त्यो दिन सत्तारुढ दलले कुनै सहमति जनाएका थिएन । नेता श्रेष्ठले भने, ‘अघिल्लो दिन तीनवटा प्रदेशको चुनाव सार्न राजी नभएपछि अर्को दिन अर्थात जेठ २८ गते नभए दुई नम्बर प्रदेशको चुनाव सारेर भएपनि माग पूरा गर्नुस् भनि प्रस्ताव राजपाबाट आयो ।’

तर त्यो दिन पनि कुनै सहमति बन्न सकेन । र, राजपा नेपालले पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न पुग्यो । जेठ २९ गतेदेखि राजपा नेपालले आन्दोलन शुरु गर्योे । त्यसपछि राजपा नेपाललाई सहमतिका ल्याउनका लागि छलफलाई कसरी अगाडि बढाउने भन्दै जेठ २९ गते प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यसको भोलिपल्ट राजपा नेपालकै आन्दोलनको बारेमा र चुनावको मिति सार्ने विषयमा छलफल गर्न नेपाल लोकतान्त्रिक फोरम नेपालसहित चार दलको बैठक बस्यो । सो बैठकमा प्रमुख प्रतिपक्षि दल एमालेले चनुावको मिति सार्न नहुने धारणा राखेको थियो । त्यसको भोलीपल्ट पनि प्रमुख तीन दलको बैठक बस्यो । त्यो दिनको बैठकमा एमाले अलि लचिलो देखियो । राजपा नेपालले चुनावमा भाग लिने भनि लिखित प्रतिबद्धता जनाए मात्र चुनावको मिति सार्ने बारे छलफल गर्न सकिने धारणा एमाले नेताहरुले राखेका थिए ।

त्यसपछि त्यसको भोलिपल्ट अर्थात ३१ गते राजपा नेपालसहित प्रमुख तीन दलको बैठक बस्यो । त्यो बैठकमा विजयकुमार गच्छदारको पनि उपस्थिति रह्यो । तर, एमालेले भने जस्तो राजपा नेपालले चुनावमा सहभागि हुने गरि लिखित प्रतिबद्धता दिन राजी भएन । त्यसपछि एमालेपनि चुनावको मिति सार्ने पक्षमा देखिएन । एमाले बैठककै शुरुमै उठेर गएपछि सत्तारुढ दल र राजपा नेपालबीच छलफल चलेको थियो । सो छलफलमा सत्तारुढ दल चुनावका मिति सार्ने विषयमा राजी भए । तर दुई नम्बर प्रदेश वा एक र पाँच नम्बर प्रदेशको सार्ने कि त्यो दिन टुगों लागेन ।

चुनावको मिति सार्ने विषयमा राजपा नेपाल पनि तयार थिए । त्यो दिनको बैठकमा पनि महन्थ, महेन्द्र र शरतको मात्र उपस्थिति थियो ।फेरि, असार १ गते चुनावको मिति सार्ने विषयमा आयोगसँग परामर्श गरेर १० बजे राजपासहितको बैठक बस्ने तय भएको थियो । त्यो दिन राजपा नेपाल सत्तारुढ दलसँग छलफलमा जानु अघि विजुली बजारमा बसेर आपसमा छलफल गरेका थिए । उनीहरुले दुई नम्बरप्रदेशसँगै एक र पाँच नम्बर प्रदेशको पनि सार्नुपर्ने दवाव दिने नभए दुई नम्बर प्रदेशसँगै पाँच नम्बर प्रदेशका कपिलवस्तु, नवलपरासी र रुपन्देहीको पनि चुनाव सार्ने दवाव दिने भनि सहमति गरेर सिंहदरबारको बैठकमा गएका थिए । तर, अहिले आफ्नै प्रस्तावको राजपा नेताहरु आफै विरोध गरिरहेका छन् ।

राजपाद्धारा सरकारको निर्णय अस्वीकार गर्दै आन्दोलनका कार्यक्रम घोषणा
मन्त्रीपरिषद्ले प्रदेश नम्बर दुईमा हुने स्थानीय तहको चुनावलाई असोज २ गते सारेको निर्णयलाई राष्ट्रिय जनता पार्टी नेपालले विरोध गरेको छ । आफूहरुको सहमति बेगर सरकारले आफू खुशी चुनावको मिति सारेको ठहर गर्दै राजपा नेपालले त्यसको विरुद्धमा आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाका अनुसार बन्द कार्यक्रमको आज अन्तिम दिन थियो । भोली लाठी जुलुस र पर्सी अर्थात ४ गते मनोनय दर्ता गराउने दिन मधेश बन्द कार्यक्रम थप गरेको छ । अरु आन्दोलनका सबै कार्यक्रमहरु यथावत राखेको छ । #रातोपाटी

प्रकाशित मिति: Jun 17, 2017

प्रतिक्रिया दिनुहोस्