Logo
१५ बैशाख २०८१, शनिबार
(February 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री केदार कार्कीका फस्ट बेन्चर मातृका चौधरी भन्छन् -‘उनी लाष्ट बेन्चर थिए, म खासै चिन्दिनथें’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सोमबार मोरङको सुन्दरहरैंचास्थित साजिलाल माध्यमिक विद्यालयको वार्षिकोत्सवमा गरेको भाषण यतिखेर बासी भइसक्नुपर्ने हो ।

तर साजिलाल माविको ५८ औं वार्षिकोत्सवमा उनले गरेको भाषण बासी हुनुभन्दा झन् साजी(ताजा) भएर सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ ।

उक्त दिन उनले आफू लास्ट बेन्चर भएको सगौरव घोषणा गरेका थिए । उनले आफू लास्ट बेन्चर हो मात्रै भनेनन्, आफ्नो पालाको लास्ट बेन्चरले गरेको प्रगति पनि सुनाए ।

निकै हौसिएर भाषण गरेका कार्कीले आफ्नो पालाको फस्ट बेन्चर खरिदार भएर भुँडी भर्न मात्रै ठिक्क भएको, तर आफू लास्ट बेन्चर भएर मुख्यमन्त्री बन्न सफल भएको उल्लेख गरे ।

उनको भनाइमा फस्ट बेन्चर हुनु भनेको सबै हिसाबले जान्ने हुनु होइन । उनले कक्षाकोठामा लिने ज्ञान विविध हुने र सर्टिफिकेटमा मात्र दिएको अंकले ज्ञानको मापन नहुने बताए ।

कार्कीका सहपाठी र उनकै शब्दमा फस्ट बेन्चर भनिएका मातृका चौधरी अहिले सुनसरीको खनारस्थित शारदा माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक छन् ।

चौधरी जनता मावि मधेसाका २०४७ सालका एसएलसी ब्याच हुन् । उनी केदार कार्की लास्ट बेन्चर भएकाले त्यसबेला सँगै पढेको वा नपढेको खासै याद नगरेको बताउँछन् ।

‘उनी (कार्की) लास्ट बेन्चमा बस्थे रे, मन्त्री-मुख्यमन्त्री भएपछि समकालीन साथीहरूले सोधीखोजी गरी पत्ता लगाएछन्’ चौधरीले भने, ‘अहिले आएर उनले आफै लास्ट बेन्चमा बस्थेँ भनेछन्, उनले सत्य नै बोलेका हुन् ।’

तर त्यसबेलाका फस्ट बेन्चर खरिदारमै सीमित भएर भुँडी भर्न ठिक्क भएको कुरा चाहिँ असत्य भएको चौधरीले बताए । उनी त्यसबेलाका ‘सेकेन्ड ब्वाइ’ हुन् ।

उनको पालामा चार जनाले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । फस्ट ब्वाइ ज्ञानेन्द्र अधिकारी निजामति सेवामा सुब्बा भएका थिए । अधिकृत हुने बेलामा उनी अस्ट्रेलिया गएको चौधरी बताउँछन् ।

त्यस्तै थर्ड ब्वाइ दिनेश पौडेल धरानको तीनकुनेमा ओभरसियर पढी अहिले नेपाल विद्युत प्राधिकरणमा सातौं तहको अधिकृत छन् । चौथो प्रदीप निरौला एमएस्सी उत्तीर्ण गरी विराटनगरकै निजी कलेज पढाउँछन् ।

मुख्यमन्त्री कार्कीको यो भाषणलाई धेरैले अनौठो र अनपेक्षित मानेका छन् । मुख्यमन्त्रीको भाषण पदीय ओहोदाअनुसारको नभएको धेरैले प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री कार्कीले यस प्रकारको भाषण गरेको पहिलो पटक भने होइन ।

बेलाबेलामा उनले आफू सामान्य धरातलबाट मुख्यमन्त्री बन्न सफल भएको बताउँदै यो पदका कारण सरकारी ओहोदाका सचिवसम्मलाई अह्रनखटन गर्ने हैसियत बनेको बताउने गरेका छन् ।

मुख्यमन्त्री बनेलगत्तै उनी आफू माध्यमिक तह पढेको विद्यालयको खेलमैदानमा आयोजित फुटबल प्रतियोगिता उद्घाटन गर्न पुगेका थिए ।

सुनसरीको इनरुवा-६ स्थित जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थी कार्कीले त्यसबेला ‘तपाईहरूको भाइभतिजो मुख्यमन्त्री भयो, अब सीडीओ, सचिवलाई आदेश दिन्छ’ भनेका थिए ।

उनले त्यसरी भाषण गर्नुको उद्देश्य भने कसैले नपत्याएको केदार कार्की मुख्यमन्त्री भएर धूलो उडाउँदै आयो त भन्ने सन्देश दिनु थियो । कार्की वास्तवमै लास्ट बेन्चर भएकाले उनले यो हैसियत बनाउँछन् भनेर कसैले पत्याएकै थिएनन् ।

मुख्यमन्त्री कार्कीले भने एसएलसी नै के गरे कसैले भन्न सक्दैनन् । उनी मधेसा छाडेर मोरङको टंकिसिनवारीमा सिफ्ट भएकाले अलिक अगाडि नै सम्पर्क टुटेको उनका समकालीनहरू बताउँछन् ।

पछि उनै कार्कीले महेन्द्र मोरङ क्याम्पसमा लामो समयसम्म विद्यार्थी राजनीति गरे । वर्षैपिच्छे एडमिसन गरिरहने भएकाले ‘केदार कार्की म सँगै पढेको हो’ भन्ने धेरै भेटिन्छन् ।

यता मुख्यमन्त्री कार्कीले फस्ट बेन्चर र लास्ट बेन्चरको नयाँ परिभाषा र भाष्य स्थापित गर्न खोजेपछि सामाजिक सञ्जालमा उनको भाषण ‘ट्रोल’ बनेको छ ।

केहीले आफूलाई सगौरव लास्ट बेन्चर भन्न सक्नु पनि आँटको कुरा हो भनेका छन् । ‘फेरि मुख्यमन्त्री कार्कीले यो सावित गरेका छन् कि उनी जे बोल्छन् सत्य बोल्छन्’ सामाजिक सञ्जालमा लेखिएका छन् ।

मुख्यमन्त्री कार्कीको पछिल्लो अभिव्यक्तिले राजनीतिमा कुन वर्गको हालिमुहाली छ भनेर जे आशंका गरिएको थियो त्यसका लागि पुष्ट प्रमाण पुगेको बताउने पनि छन् ।

विराटनगरस्थित नर्सिङ कलेजकी प्राचार्य मेनुका भण्डारी यस्ता अभिव्यक्तिले राजनीतिको कमाण्ड कुन योग्यता भएका व्यक्तिको हातमा रहेछ भन्ने कुराको पुष्टि गर्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘हामीले पहिल्यैदेखि भन्दै आएका थियौं कि राजनीतिमा थर्ड बेन्चर आए, आज त आधिकारिक धारणा नै आयो, अब थप केही भनिरहनुपर्छ र ?’

भण्डारीले आफ्नो कलेजमा चाहिँ राम्रा–राम्रा विद्यार्थी पढ्न आउने भएकाले फस्ट बेन्च र लास्ट बेन्चमा केही फरक नहुने बताइन् ।

उद्घोष दैनिकबाट

प्रकाशित मिति: Feb 8, 2024

प्रतिक्रिया दिनुहोस्