Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवलाई पत्रकार वीरेन्द्र केएमको खुल्ला पत्र (भिडियो सहित)

आदरणीय उपेन्द्र यादव ज्यू,

तपाईंले स्थानीय तहको निर्वाचनमा भाग लिनु भयो । यो कुनै अपराध होइन तर तपाईंसँगै आन्दोलन गरेका मोर्चा वा गठबन्धनसँग कुनै छलफल नै नगर्नु, कुनै निर्णय नै नभई मनोनयन गर्न जानु मोर्चामाथिको धोखा हो । तपाईं अहिले जुन तर्क गर्दै हुनुहुन्छ, त्यो तर्क उम्मेदवारी मनोनयन आगाडि नै मोर्चा र गठबन्धनको बैठकमा गनुपथ्र्यो । गठबन्धनसँग छलफल गरी निर्णय नै गरेर चुनावमा जानु भएको भए हुन्थ्यो ।

अन्य घटकहरु नमानेको भए त्यसपछि एक्लै भए पनि जाने निर्णय गर्नु भएको भए हुन्थ्यो । मधेसका जनताका पक्षमा आन्दोलन गर्ने भनेर माग पूरा नहुँदै चुनावमा जानु जनतालाई मूर्ख बनाउने काम बाहेक केही होइन । निर्दोष मधेसीहरुले मधेसका जनताको हक र अधिकार प्रप्त गर्न शहादत प्राप्त गरेका हुन् । चुनावका लागि टाउकोमा गोली खाएका होइनन् । तपाईंहरुले नै भनेअनुसार संविधान पुनर्लेखनका लागि आफ्ना ज्यान दिए ।

ती घाइतेहरु तपाईंहरुकै आह्वान अनुसार प्रदर्शनमा उत्रेका थिए । घाइते भए, तपाईंलाई थौरै पनि लाज लाग्नुपर्ने हो । न कुनै सहमति नकुनै सम्झौता, त्यतिकै चुनावमा गइदिने ? के हो यो जनतासँग खेलवाड हाइन ? राजनीतिक रुपमा ‘राजपा’ ठूलो पार्टी (२५ सिटे) भएपछि तपाईंको मोरल डाउन भएको छ । तपाईं १७ सिटे पार्टी मात्र हो, जब कि यसका लागि तपाईंका कट्टर राजनीतिक दुस्मन विजय गच्छदारसँग समेत तपाईं गिडगिडाउनु भयो ।

दिनमा ४ चोटि गच्छदारलाई फोन गर्नुभयो । उनैलाई अध्यक्ष मान्न पनि तयार हुनुभयो । यो मिसन अहिलेसम्म पूरा भएको छैन । तर नव गठित राजपासँग निकै डाह छ भने गएर आत्ममन्थन गर्नुस् । कहाँ कमी भयो, त्यसको खोजी गर्नुस् तर जनतासँग खेलवाड गर्ने अधिकार तपाईंलाई छैन ।

यादव सर, विगतमा तपाईंले २२ बुँदे सम्झौता सुटुक्क गरेको सबैलाई थाहा नै छ । हिजो ‘सङ्घीय गणतन्त्रको रक्षाका लागि हाम्रो पार्टीले चुनावमा भाग लिनेको हो, मधेसको माग र एजेन्डाबाट पछि हटेको छैन ।’ भन्नुभयो, ‘कसैले मोर्चाको औचित्य समाप्त भएको भन्छन् भने उसकै औचित्य समाप्त भएको बुझ्नुपर्नेहुन्छ पनि भन्नुभयो । के यसका लागि तपाईंको तर्फबाट के–कस्तो कृयाकलाप भएको छ, त्यो विचार गर्नुभएको छ ?

विगतमा आन्दोलनका नाममा नाकाबन्दी गरी पहाडी र मधेसीबीच फाटो ल्याउने एमालेलाई गलत भनी राजविराज घटना गराउने तपाईं, संशोधन होइन पुनः लेख्नको माग गर्दै कैयौँ मधेसीलाई हत्या गराउने पनि त तपाईं नै होइन र ? अनि अहिले आएर संशोधनविना नै चुनावमा जाने पनि तपाईं नै हुनु भो त ? तपाईंको यो कस्तो खालको राजनीति ? आम मधेसी जनतालाई सम्झाइदिनुस ।

अब तपाईं नै भन्नुस्, केपी ओली ‘क्रूर’ कि विजय गच्छदार ‘गद्दार’ कि तपाईं उपेन्द्र यादव ‘महाधोखेवाज’ ? मधेसका नाममा आएका प्रायः सबै नेता स्वार्थी नै छन् । त्यसमध्ये तपाईंलाई अलिक इमानदार नेता मन्थेँ, तर तपाईं त स्वार्थी के महास्वार्थी निस्किनुभयो ।

यादव सर, तपाईको वक्तव्यवाजी, संशोधन होइन संविधान पुनः लेख्न माग गर्नुभयो । कुनै पनि हालतमा चुनाव हुनैदिन्नौँ भनी झ्याली पनि पिट्नु भयोे । आफ्नो चुनाव चिन्ह भाडा पनि लगाउनुभयो । अनि उम्मेदवारी पनि दिनुभयो । यो कस्तो राजनीति हो तपाईंको, अलिक बुझिएन सर, कृपया सम्झाइदिनस् ।

म तपाईंले पढाएको एउटा बिद्यार्थी हु “त्यो फोनेक्स साइकलवाला उपेन्द्र सर” अझै पनि मलाई याद छ, माले, एमालेको नेता भई चुनाव लडेको पनि याद छ, “चोर बोले जोर से” भन्दै मञ्चबाटै गजेन्द्रनारायण सिंहलाई गाली गरेको पनि याद छ ।

अझै पनि समय छ, जेका लागि यत्रो आन्दोलन भयो, नाकाबन्दी भयो, निर्दोष जनताले ज्यान गुमाए, पहिला संविधान संशोधनको माग पूरा होस् । अनि मात्र सबै मधेसवादी दल चुनावमा जानु उत्तम हुनेछ । निश्चित रुपमा चुनाव विरोधी कोही पनि छैनन् । वीरेन्द्र केएम,सुनसरी (source-Ratopati)

(केएमले आफ्नो फेसबुकमा राखेको भिडियो विचार यस्तो छ । )

https://www.facebook.com/birendra.km1/videos/1554561611242845/

प्रकाशित मिति: May 5, 2017

प्रतिक्रिया दिनुहोस्