Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्द, हडतालको विकल्प खोजिने महतोको भनाई 

भरतपुर, ३ चैत्र । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यसपालीको मधेश आन्दोलनमा बन्द, चक्काजाम, आमहडताल र नाकाबन्दीको विकल्प खोजिने आश्वासन दिएका छन्  । प्रचण्ड सरकारबाट समर्थन फिर्ता लिएर सरकार र निर्वाचन विरूद्ध असहयोग आन्दोलन घोषणा गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटक सदभावना पार्टीका अध्यक्ष महतोले अब मधेशी जनतालाई दुख हुने गरि कुनै पनि आन्दोलनको कार्यक्रम नल्याउन अन्तिम सम्म प्रयास गर्ने बताए।

प्रेस मंच चितवन द्वारा भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदभावना अध्यक्ष महतोले बन्द हडताल चक्काजाम र नाकाबन्दीले आम जनता, व्यापारी, विद्यार्थी, दैनिक मजदूरलाई निकै नराम्रो असर गर्ने कुरा आफूहरूलाई राम्ररी थाहा भएको कुरा बताए । “यस पटक हाम्रो आन्दोलन भनेको संविधान संशोधनको विरोधी दलहरू विरूद्ध हुने छ।” महतोले आन्दोलन तीन दल खास गरि तराई मधेशमा रहेका एमालेका सांसद, नेताहरू विरूद्ध हुने संकेत गरे ।

“मधेशी जनताले राम्ररी बुझि सके छन्। कुन दल मधेशको पक्षमा छ र कुन विरोधमा? महतोले चेतावनी दिंदै भने- यदि कांग्रेस र माओवादीले समेत संशोधनमा इमानदारिता देखाएन भने मधेशी जनता ओली जस्तै प्रचण्ड र देउवालाई पनि मधेशमा निषेध गर्ने छ”। “बन्द हडताल हामी कुनै रहरले गरेका छैनौं। र अगाडि पनि नगर्ने तर सरकार र तीन दलले हामीलाई बाध्य पार्यो भने कुनै पनि हद सम्म जान मधेशी जनता तैयार छ।” महतोले थपे “जनतालाई दुख नभोग्नु परोस् त्यसबारे सरकार र सबै जिम्मेवार दल समयमै आवश्यक कदम चाल्नु उचित हुने छ।”

महतोले संविधान संशोधन बिना स्थानीय चुनावको कल्पना समेत गर्न नसक्ने बताउंदै सरकारले जबरदस्ती चुनाव लाद्न खोजे देश मुठभेड तर्फ जाने चेतावनी दिए । “हामी चुनावको विरोधी होईनौं, तर संशोधन पारित नगरी चुनाव गरियो भने संविधानको किर्यान्वयननै धरापमा पर्ने छ।” महतोले भने “अहिले पनि समय छ तीनै दल मिलेर संविधान संशोधनलाई पारित गर्न तिर लागौं अनि हाम्रो पनि चुनावमा सहर्ष सहभागिता हुनेछ।”

पछिल्लो पटक भएको आन्दोलनमा निकै आक्रामक र आन्दोलन तथा नाकाबन्दीको नेतृत्व गरेका राजेन्द्र महतोले काठमाण्डौं लगायत देशका अन्य जनतासंग पनि संविधान संशोधनको पक्षमा तीन दललाई दबाब दिन अपील गरे। “कोहीलाई दाउरामा खाना बनाउनु नपरोस्, पेट्रोल पम्पमा घण्टौं लाईनमा लाग्नु नपरोस्, खाद्य पदार्थको अभाव नहोस्, औषधिको अभाव नहोस भन्ने मेरो मान्यता हो। यसको लागि सबैले सरकार र तीन दलमाथि आ-आफ्नो ठांऊबाट दबाब दिन म अपील गर्छु ।” महतोले भने मधेशी जनताको पक्षमा पूरा देश उभ्यो भने अनि मात्रै देश अगाडि बढ्छ ।

पछिल्लो पटक आन्दोलन अवधि भरि मधेशमा रहेर ६ महीना आन्दोलन र ४ महीना नाकाबन्दीको नेतृत्व गरेका राजेन्द्र महतोले यसपाली आवश्यक परे आन्दोलनको लागि मोर्चाका अन्य घटकदलहरू पनि काठमाण्डू छाडी मधेश आउन आग्रह गरेका छन्। मधेशी मोर्चाको बुधवार राजधानीमा बसेको बैठकमा महतोले यसपाली बन्द हडतालको सट्टा निर्वाचन केन्द्रित, सरकारी कार्यालय केन्द्रित र तीन ठूलादल केन्द्रित आन्दोलन गर्न सुझाव दिएको स्रोतले बताएका छन् ।

महतोको भनाईलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने- आन्दोलन गर्नु छ भने संसद छाडौं, काठमाण्डौ छोडौ, मधेश पसौं, सातै जना अध्यक्षले पूर्व देखि पश्चिम सम्मको जिम्मेवारी लिऔ र इमानदारिता पूर्वक आन्दोलनमा लागौं । पछिल्लो आन्दोलनमा मोर्चाका अन्य नेताहरूले मधेश भन्दा बढि आन्दोलन अवधि भरनै काठमाण्डौं मा रहेको र आ-आफ्नो क्षेत्रमा समेत इमानदारीपूर्वक नलागेको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति: Mar 16, 2017

प्रतिक्रिया दिनुहोस्