Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय गठबन्धन: ‘संशोधन टुंगो नलागेसम्म समर्थन कायमै’

काठमाडौं, १४ फागुन । मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान संशोधन विधेयक टुंगो नलाग्दासम्म सरकारलाई समर्थन गर्ने भएको छ । गठबन्धनको शुक्रबारको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भए पनि निर्णय भने भएन। बैठकपछि जारी विज्ञप्तिमा आगामी बैठकले समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने चेतावनी मात्र दिइएको छ।

स्रोतका अनुसार संसदीय प्रक्रियामा अघि बढेको विधेयकको टुंगो नलागेसम्म सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिन नहुने धारणा बैठकमा मोर्चाका अधिक नेताले राखेका थिए। मोर्चाका नेताले संशोधन विधेयक टुंगो लाग्न कम्तीमा १५/२० दिन लाग्नसक्ने भन्दै त्यसबेलासम्म सरकारलाई पर्खनु उपयुक्त हुने धारणा राखेका थिए।

‘संशोधन विधेयक टुंगो नलागेसम्म सरकारलाई दिँदै आएको समर्थन फिर्ता नलिने निर्णय गरेका छौं,’ बैठकपछि राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने, ‘संशोधन विधेयक टुंगो लाग्ने बेलासम्म हामीले पर्खनेछौं।’ सरकारले विधेयक टुंगो लगाउन ढिला गरे गठबन्धनले पर्खन नसक्ने झाले बताए।

बैठकमा मोर्चाका केही नेताले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिनुपर्ने धारणा राखेका थिए। तर शीर्ष नेताहरूले नै केही दिन पर्खनुपर्ने बताएपछि समर्थन फिर्ता लिने निर्णय पारित भएन। सरकारले संविधान संशोधन नगरी स्थानीय तह चुनाव मिति घोषणा गरेको विरोधमा आन्दोनलमा जाने एजेन्डामा भने गठबन्धनका सबै नेता एकमत भएका थिए।

बैठकले आन्दोलनका भावी कार्यक्रम तय गर्न संघीय फोरम नेपालका सहअध्यक्ष्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलले एक साताभित्र आन्दोलनका कार्यक्रम तय गर्ने छ। विज्ञप्तिमा यथास्थितिमा वैशाख ३१ गते हुने भनिएको स्थानीय निर्वाचन गठबन्धनका लागि मान्य नभएको जनाउँदै सशक्त आन्दोलन गर्ने धम्की दिइएको छ। बैठकमा उपेन्द्र यादव, शरत्सिंह भण्डारी, ओम गुरुङलगायत नेता उपस्थित थिए।

प्रकाशित मिति: Feb 25, 2017

प्रतिक्रिया दिनुहोस्