Logo
१५ बैशाख २०८१, शनिबार
(October 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादव भन्छन-‘लोकमानमाथिको महाअभियोग अस्पष्ट छ ‘

upendra-yadav-

जनकपुर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति अनुसार छठसम्म संविधान संशोधन विधेयक नआए नयाँ जनक्रान्तिसहित जनआन्दोलनमा जाने चेतावनी दिएका छन् । मंगलबार प्रेस फोरम धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तीन बुँदे सहमति अनुसार सरकारले आफूहरुका मुद्दा सम्बोधन हुने गरी संशोधन विधेयक नल्याए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रकरणबारे पत्रकारहरुले राखेको जिज्ञासामा अध्यक्ष यादवले लोकमानमाथि लगाइएको महाअभियोगको कारण अझै अस्पष्ट रहेको र दर्ता गराउने दलले त्यस विषयमा आफूहरुसँग कुनै छलफल नगरेकोले आफ्नो विषयको कुरा नरहेको बताए । संविधान संशोधन नभए मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित र महिला लगायत उत्पीडनमा परेकाहरु ठूलो विद्रोह गर्ने अवस्थामा रहेकोले सत्तारुढ दललाई समयमै सचेत हुन उनले आग्रह समेत गरे।

‘महाअभियोग लगाउनेहरु नै लोकमानलाई नियुक्त गरेका हुन, आखिर अहिले महाअभियोग किन लगाइँदै छ, त्यो स्पष्ट हुनु पर्यो, तर महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बने त्यो आफूहरु मान्य हुँदैन’, यादवले भने । अध्यक्ष यादवले स्वायत शासन प्रादेशिक संरचना सहितको श्रोत साधनमा समानुपातिक समावेशी ढंगबाट सहभागिता हुने लगायतका संविधानमा भएको विभेद अन्त्य नभएसम्म आफूहरुलाई यो संविधान कुनैपनि हालतमा मान्य नहुने भन्दै अधिकार प्राप्ति नभएसम्म संघर्ष जारी रहने बताए ।

प्रकाशित मिति: Oct 25, 2016

प्रतिक्रिया दिनुहोस्