Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधनमा एमालेले सहयोग नगरे सिद्दिन्छ: यादव 

Raj-kishor-Yadav-1

काठमाडौं, २० भदौ ।  मधेशी मोर्चाका नेता एवम् फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले एमालेले अहिले जतिसुकै फुर्ति लगाएपनि संविधान संशोधनको पक्षमा उभिनुको विकल्प नभएको स्पष्ट पारेका छन् ।

यादवले भने,‘एमालेले अहिले ठूलो–ठूलो स्वरमा संशोधनको विरुद्धमा बोलिरहेको छ, अब काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाले संशोधनको प्रस्ताव दर्ता गर्दा एमाले कतिको जिम्मेवार बन्छ त्यो त्यहीँ देखिन्छ ।’ उनले संविधान संशोधन नेपाललाई डुबाउनको लागि नभई शान्ति, समृद्धि र नेपाललाई बचाउनको लागि भएको स्पष्ट पारे ।

उनले एमालेले सत्ता छाड्नु परेको पीडा र कुण्ठा पालेर राष्ट्रको भविष्य अन्धकार बनाउन खोजेको आरोप लगाउँदै भने,‘कुण्ठा पालेर राष्ट्रको भविष्य मात्रै होईन, यसले अरुलाई भन्दा पनि स्वयम् एमालेलाई नै हानि गर्छ ।’ उनले आफूहरुको कोहीसँग दुश्मनी नभएको समेत बताए । उनले अघि थपे,‘हाम्रो कुनै पार्टी र नेताविशेषसँग दुश्मनी छैन, काँग्रेसबाट सम्वादको लागि सहज हुन्छ भनेर हामीले यो विकल्प रोजेको हो ।’

संविधान कुनै जंगबहादुर र महेन्द्रको शालिकजस्तो होईन : विश्वकर्मा
नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले संविधान संशोधन स्वयम् संविधान कार्यान्वयनको एउटा पाटो भएको स्पष्ट पारेका छन् । उनले भने,‘संविधान कुनै जंगबहादुर र महेन्द्रको शालिकजस्तो होईन, यो गतिशिल दस्तावेज हो, जति संशोधन हुन्छ जनताको भावना त्यति नै प्रतिनिधित्व हुन्छ ।’

विश्वकर्माले सहमति, सम्वाद र सहकार्यबाटै समस्याको समाधान खोजिनुपर्ने बताउँदै मुलुकका वर्तमान समस्याहरुलाई हल गर्न दलहरुवीच सहमति हुनुपर्ने धारणा राखे । उनले भने,‘मुलुकलाई निकास दिने कुरामा दलहरुवीच सहमति अनिवार्य आवश्यकत्ता हो, अहिले छलफल जारी छ ।’ उनले एमालेले मधेशीलाई विदेशी देखेको आरोप लगाउँदै भने,‘एमालेको यो प्रवृति राम्रो होईन, यसरी समस्याको समाधान हुँदैन्, एमालेपनि जिम्मेवार बन्नुपर्छ ।’ विश्वकर्माले संविधान संशोधन प्रस्ताव छिट्टै संसदमा पेश हुने विश्वास समेत व्यक्त गरे ।

उनले अघि थपे,‘प्रस्ताव पेश भएपछि जायज र नाजायज मागहरु के हुन भन्ने कुरा त्यहीँ छुटिन्छन, जायजहरु मागहरु पूरा हुन्छन्, नाजायज फेल हुन्छन्, यो सार्वभौम संसदको कुरा हो ।’ उनले विगतको ईतिहासलाई केलाउँदा मुलुकलाई संकटबाट पार लगाउन काँग्रेसले नेतृत्व लिनुपरेको उल्लेख गर्दै अहिलेपनि मुलुकका सबै समस्याहरुको समाधानको लागि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

देउवा र निधिलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन : नेता पोखरेल

नेकपा एमालेका नेता शंकर पोखरेलले काँग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन् । उनले भने,‘विगतमा हामीले आन्दोलनकारीसँग सहमति गरेरमात्रै संविधान संशोधन गरौं भन्दा काँग्रेसले नै दुईवटा विषयमा मात्रै संशोधन गरौं र मधेशीको सबै माँग सम्बोधन हुन्छ भनेको र हामीले सोही बमोजिम संविधान संशोधन गरेका हौं, फेरि अर्को संशोधन भन्ने अधिकार काँग्रेसलाई छैन् ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने,‘कसैका लागि आवश्यक नभएको विषयमा काँग्रेस किन रुचि राख्छ, यसमा काँग्रेसले क्षमायाचना गर्नुपर्छ, अर्को सहमति नभएसम्म संशोधनको कुरा गर्ने अधिकार काँग्रेस, पार्टीका सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिलाई छैन् ।’

उनले अघि थपे,‘निधिजीले पहिलोपटक संशोधन गर्दा आफूले जिम्मा लिने कुरा गर्नुभएको थियो, अब फेरि कुन नैतिकताको आधारमा संशोधन गर्ने कुरा गर्दैहुनुहुन्छ ?, निधीले सार्वजनिक रुपमा माफी नमाँगेसम्म संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन ।’ संविधानले कुनै पनि समूदायलाई विभेद नगरेको उल्लेख गर्दै नेता पोखरेलले भने,‘ यो सविधानले कसैलाई विभेद गरेको छैन, केही सामाजिक विभेदहरु छन्, तर संवैधानिक विभेद छैन् ।’

प्रकाशित मिति: Sep 5, 2016

प्रतिक्रिया दिनुहोस्