Logo
७ बैशाख २०८१, शुक्रबार
(August 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इनरुवा अस्पताल हाताबाट हटाइयो नेशनल मेडिकल

Inruwa News

इनरुवा । इनरुवा अस्पताल हातामा सञ्चालनमा रहेको औषधी पसल हटाइएको छ । योगेन्द्र मेहता प्रोपाइटर रहेको नेशनल मेडिसिन सेन्टरद्धारा इनरुवा अस्पताल हातामा सञ्चालित औषधी पसल सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईको आदेशपछि बन्द गराइएको हो ।

अवैधानिक रुपमा अस्पताल भित्र सञ्चालनमा रहेको औषधी पसलले २४ घण्टे सेवाको नाममा विरामीलाई सजहता भन्दापनि चर्को मूल्य लिएर ढाँड सेक्ने गरेको गुनासो पछि औषधी पसल बन्द गराइएको प्रजिअ चापागाईले बताए । औषधी पसलेले रात्री कालिन सेवाका नाममा उपचारका लागि अस्पताल पुग्नेहरुबाट चर्को मूल्य अशुल्ने गरेको गुनासो प्रति ध्यानाकर्षण पश्चात औषधी पसल बन्द गर्ने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

उता औषधी पसल सञ्चालक योगेन्द्र मेहताले प्रजिअको मान राख्न आफुले औषधी पसल बन्द गरेको बताए । “प्रजिअले बन्द गर्नु पर्छ भन्नुभयो , मैले औषधी पसल बन्द गरे ” मेहताले भने । अस्पतालसँगको सम्झौता मुताबिक मेहताले फार्मेसी सञ्चालन बापत मासिक १० हजार १ सय भाडा तिर्दै आएका थिए ।

अस्पताल हातामा सञ्चालनमा रहेका व्यापारिक फार्मेसीहरु बन्द गर्न सर्वोच्चले समेत आदेश जारी गरिसकेको छ । सर्वोच्च अदालतको मिति २०७२।०३।१३ गतेको उत्प्रेशणको आदेशले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र अन्य सवै अस्पतालहरुमा अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालन गराउने आदेश गरेको थियो ।

सवोच्चको आदेश अनुसार अब कुनैपनि अस्पतालमा व्यापारिक औषधी पसल सञ्चालन गर्न पाइने छैन् । अस्पतालले नै सञ्चालन गर्नु पर्ने औषधी पसलबाट सरकारले तोकेका निशुल्क औषधीको वितरणको व्यवस्था मिलाइनु पर्ने हुन्छ । जिल्ला अस्पतालले पनि अब निशुल्क औषधीको काउण्टर सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्