Logo
२६ बैशाख २०८१, बुधबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९३ बर्षिय बृद्धको बिचार : ‘मेरो बूढो शरीर जस्तै देश ‘!

1109688890 डा. जीवेन्द्रध्वज कार्की

२००७ सालको जनक्रान्तिमा २७ वर्षको लक्का जवान थिएँ म । मेरो जन्मस्थल जनकपुर त्यतिबेला क्रान्तिको केन्द्रविन्दु जस्तै थियो ।जमिन्दार परिवारमा जन्मेकाले नपुग्दो केही थिएन । र, पनि म क्रान्तिमा सामेल भएँ । क्रान्तिले गति लिँदै थियो, एकदिन जलेश्वरबाट बडाहाकिमले लिन दुईजना सिपाही पठाए । हतियारधारी सिपाहीका अगाडि भाग्न सक्ने अवस्था थिएन । नमस्कार गर्दै बडाहाकिमका अगाडि उभिएँ ।

उनले हाम्रो विर्ताको बारे सोधपुछ गरे । सरकारको निगाहले हाम्रो विर्ता फुकुवा भएको छ, सबै ठिक छ भनेर मैले जाहेर गरेँ । ‘यत्रो भलो गर्ने श्री ३ महाराजको खिलापमा किन लाग्नुहुन्छ ? बरु तपाईलाई के कति आर्थिक सहयोग चाहिन्छ लैजानोस्, हामीलाई सहयोग गर्नोस्’ भन्दै उनले ढुकुटीतर्फ देखाए । त्यतिबेला मालअड्डामा थुप्रै रकम जम्मा हुन्थ्यो । मैले मागेको जति दिन बडाहाकिम तयार थिए ।

तर मैले भने– ‘परिवर्तनको गतिलाई सबैले आत्मसात गर्नैपर्छ, अब प्रजातन्त्रको लहर आयो, तपाईहरूले चाहेर पनि शासन सत्ता थेग्न सक्नु हुन्न, बरु सम्झौताका लागि श्री ३ महाराजलाई सल्लाह दिनोस्, भारतको सहयोगमा क्रान्ति भएको छ, यो क्रान्ति यसरी नै अघि बढ्यो भने राणा शासन त रहँदैन नै, सँगसँगै भारतीय हस्तक्षेप पनि बढ्छ, सम्झौता गर्नु नै बुद्धिमानी हुनेछ ।’ मेरो यो सुझावपछि बडाहाकिम गम्भीर भए । मलाई घर फर्कने अनुमति दिए । हुन पनि २००७ सालको क्रान्ति सम्झौतामै टुंगियो । सम्झौता हुन अलकति ढिलो भएका कारण भारतको हात माथि प¥यो । सुरुमै सम्झौता भएको भए राम्रो हुन्थ्यो ।

अहिले म ९३ वर्षको भएँ, धेरै राजनीतिक उतर–चढाव देख्ने मौका पाएँ । तर मेरो शरीर अहिले जति शिथिल छ, मुलुकको अवस्था पनि त्यति नै शिथिल हुँदै गएको देख्दा मलाई मन सम्हाल्न गाह्रो भइरहेको छ । सबै नेता हुन खोजे, कार्यकर्ता मात्रै भएर बस्न कोही तयार भएनन् । अहिलेको समस्याको जड यही नै हो । नेपाली कांग्रेसले लिएको समाजवादी बाटो ठीक छ । त्यसलाई पक्डिएर कार्यक्रम बनाउन सकेको छैन । कांग्रेसको एउटै धारणा पनि छैन । कसले बोलेकोलाई आधिकारिक धारण मान्ने नेता कार्यकर्ता नै अन्योलमा परेको देख्छु ।

हुन त राणा शासन आफंैमा निरंकुश जहानियाँ शासन थियो । तर शासन सत्तामा रहनेहरूले कतिसम्म ध्यान पु¥याउनुपर्छ भन्ने कुराको एउटा उदारहण म प्रस्तुत गर्दछु । मैले बाल्यकालमै सुनेको घटना हो । त्यतिबेला तराईको शासन प्रशासन स्थानीय जमिन्दारहरूकै हातमा हुन्थ्यो । सिरहामा एकजना चौधरी जमिन्दार थिए रे । उनको शासन यति कडा थियो कि त्यस क्षेत्रमा कसैको विवाह भयो भने पहिलो रात बेहुलीलाई तिनै चौधरी जमिनदारकहाँ पु¥याउनुपथ्र्यो ।

पुस्तौंदेखि यही चलन रहेका कारण कसैले विरोध गर्ने हिम्मत गर्दैनथ्यो । तर एकपटक एउटी यादव बेहुलीले विद्रोह गरिन्, उनले कुनैपनि हालतमा जिमिन्दारलाई आफ्नो कुमारीत्व भंग गर्न दिइनन् । तर एउटी निमुखा महिलालाई कसले सहयोग गर्ने ? किन मानिनस् ? भन्दै जमिन्दारले ती युवतीको स्तन काटिदिए । रगतै रगत हुँदै उनी गुहार माग्न थालिन् । तर गुहार दिने हिम्मत कसको ? यो घटना एक कान, दुई कान मैदान हुँदै श्री ३ को रानीको कानमा पुग्यो ।

घटनाको सत्य तथ्य थाहा पाइसकेपछि रानीले मोहनशमशेर महाराजसँग भनिन्– ‘यो त अति नै भयो, हजुरको शासनसत्तामा एउटी महिलामाथि यसरी पशुलाई भन्दा पनि बढ्ता थिचोमिचो हुन्छ भने टुलुटुलु हेरेर बस्न मिल्छ ?’ रानीको भनाइ मोहनशमशेरलाई गलत लागेन । उनले भने– ‘त्यो चौधरी जमिन्दारले अन्याय गरेकै हो, तर उसले हाम्रो शासन सत्ता टिकाउन सहयोग पु¥याएको छ ।

उसले ठूलो रकम उठाएर हामीलाई पठाउने गरेको छ, सयवटा राम्रो काम गर्नेलाई एउटा नराम्रो काम ग¥यो भन्दैमा कसरी सजाय दिने ?’ तर यो जवाफले रानीको चित्त बुझेन । उनले जिद्दि गर्न थालिन्– ‘म रानी मात्रै नभएर एउटी नारी पनि हुँु, नारीमाथि भएको यो अन्याय टुलुटुलु हेरेर बसँे भने म रानी हुनुको अर्थ पनि छैन ।’ आफ्नी रानीको यो जिद्धिपछि जमिन्दार चौधरीलाई सजाय भयो । स्तन काटिएकी युवतीको औषधि उपचार आफैंले गर्नुपर्ने र उनलाई क्षतिपूर्तिबापत १० बिघा जमिन दिनुपर्ने निर्देशन श्री ३ ले दिए ।

ती जमिन्दारले जुन तहको अन्याय त्यसबेला गर्ने गर्थे, करिब करिब त्यही तहको अन्याय जनआन्दोलन २०६२÷६३ पछि मधेस आन्दोलनका नाममा त्यही क्षेत्रमा भयो । म १९८० सालमा धनुषामा जन्मेको हुँ, मेरो पिताजी पनि त्यहीँ जन्मनुभएको हो । तर मधेस आन्दोलनका नाममा हामीलाई खेद्न थालियो ।

त्यतिबेला म जनकपुरकै घरमा थिएँ, पहाडियालाई मार्नुपर्छ भन्दै मेरो घरमा ढुंगामुढा हुन थाल्यो । जबकि त्यस क्षेत्रको विकास निर्माणमा मेरा पुर्खाहरूको योगदान कति थियो, बाटोघाटो, स्कुल, कलेज बनाउन कति योगदान गरिएको थियो भन्ने कुरा स्थानीयबासी सबैलाई थाहा छ । हामीलाई त्यसरी खेद्न स्थानीय बासिन्दा आएका थिएनन् । भारतबाट बसाइँ सराई गरेर आउनेहरू नै हामीलाई खेद्न जुलुस लिएर आएका थिए । को स्थानीय हुन्, को भारतबाट बसाइँ सरेर आएका हुन् भन्ने कुरा हामी पुराना मान्छेलाई सबै थाहा छ । त्यसैले हामी पुराना मान्छेहरू मधेसी आन्दोलनको नाममा निशानामा प¥यौं । त्यसको भोलिपल्टै मैले तराई मुक्ति मोर्चा नाम गरेको संगठन निर्माण गर्दै एउटा विज्ञप्ति जारी गरेँ ।

वास्तवमा म स्थापनाकालदेखि नै नेपाली कांग्रेसकै कार्यकर्ता हुँ, नेपाली कांग्रेसभन्दा बाहिर आज पनि छैन । तर तराईको वास्तविकता के हो ? तराईका पुराना बासिन्दा को हुन्, को होइनन् ? भारतीय हस्तक्षेप किन बढिरहेको छ ? भन्ने कुराको वास्तविकता उजागर (फ्याक्ट फाइन्डिङ) का लागि सबैलाई सुसूचित गर्न मैले तराई मुक्ति मोर्चा गठन गरेको हुँ । तर यो फ्याक्ट फाइन्डिङबारे प्रचार–प्रसार गर्न मैले सकिरहेको छैन । मैले टिम पनि बनाउन सकेको छैन । उमेरले पनि डाँडो काटिसकेका कारण आफू हिँड्डुल गर्न सक्दिनँ, मकहाँ आउने फुर्सद अरुलाई छैन । राजनीतिक रूपमा अलि जिम्मेवार ढंगले तरुण साप्ताहिकले समाचार तथा विचार विश्लेषण गर्ने गरेको मैले पाएको छु, त्यसैले तपाईहरूलाई बोलाएर मैले यति कुरा गरेको हुँ ।

आफ्ले गरेको संघर्ष र अनुभवहरू पुुस्तकका रूपमा बाहिर ल्याउने तयारीमा म छु । यसका लागि थुप्रै ऐतिहासिक सामग्रीहरू मसँग सुरक्षित छन् । बीपी कोइराला, सरोज कोइराला, सूर्यप्रसाद उपाध्यायले लेखेका महत्वपूर्ण पत्रहरू पनि मसँग छन् । ती सामग्रीहरूलाई समेटेर एउटा पुस्तक तयार गर्ने योजना छ । तर परिवारका सदस्यहरूले चासो नदिँदा दुःखलाग्दो रहेछ । जेठी छोरी नै ७५ वर्षकी भइसकिन् । सन्तान दरसन्तान सबैले राम्रो उन्नति गरेका छन्, नपुग्दो केही छैन । आफूले संग्रह गरेर राखेका अभिलेख तथा अनुभवलाई समावेश गरेर पुस्तक तयार गर्न एकजना बाबुको सहयोगमा काम अघि बढाइरहेको छु । कुराकानीमा आधारित / तरुणबाट

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्