Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वीकृतिबिनै संचालनमा रहेको एलेन कलेज प्रकरण : संचालक मेहता अस्वस्थ कि ‘बिरामीको नाटक’?

कलेजका अध्यक्ष, मनोज मेहता

प्रदेश नम्बर १ स्थित सुनसरीको इनरुवामा बिना सवीकृती नै संचालनमा रहेको एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. प्रकरण पेचिलो बन्दै गएको छ । माघ २० गते ठगी विरुद्धको मुद्दा दर्ता भएसँगै सुनसरी प्रहरीले कलेजका अध्यक्ष मनोज मेहता र संचालक बिनोद कुमार शर्माका नाममा जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमति पायो ।

सोही आधारमा पक्राउ गरिएका शर्मा विरुद्ध २१ गते सुनसरी जिल्ला अदालतबाट ६ दिने म्याद थप भयो । मनोज मेहताभने प्रहरी परिषरमै मुटु दुखो भन्दै बेहोसीको अवस्थामा पुगेपछि उनलाई तत्काल उपचारकालागि प्रहरीकै रोहवरमा चेकजाँचकालागि धरान पु¥याइयो । त्यसयता मेहता अझैसम्म उपचाररत छन् । मेहता निकटका अनुसार मेहता प्रेसर र मुटुको बिरामी हुन् ।

धरानमा उपचार पश्चात प्रहरी कार्यालयमा ल्याइएका मेहतामा पुनः स्वास्थ्यमा खराबी देखियो र उपचारकालागि परिवारको रोहवरमा रहने गरी जिम्मा लगाइयो । प्रहरीका अनुसार हाल उनि नोबेल अस्पताल बिराटनगरमा उपचाररत छन् । नोबेलमा भर्ना भई क्याबिन नम्वर १७ मा उपचाररत रहेका मेहतालाई प्रत्यक्ष प्रहरीको निगरानीमा राखिएको छ ।

मोरङ प्रहरीसँगको समन्वयमा निगरानीमा राखिएका मेहताको स्वास्थ्य अवस्था यकिन गर्दै निरन्तर निगरानीकालागि जिल्ला प्रहरी कार्यालय सुनसरीले सोमबार इनरुवाबाटै प्रहरी कर्मचारी खटाएको छ । ठगि मुद्दामा संचालक शर्मा पक्राउ परी उनलाई थप ९ दिन म्यादथप भैसकेको छ । अध्यक्ष भने अस्वस्थताको कारण देखाउँदै लामो समयसम्म उपचाररत रहनुलाई जनमानसमा शंकाको दृष्टिले हेर्न थालिएको छ । प्रहरीले संरक्षण दिएको जस्ता आरोप समेत लाग्न थालेको छ ।

सुनसरी प्रहरी भने मेहतालाई संरक्षण दिइएको भन्ने कुरोमा सत्यता नभएको दाबी गर्छ । सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले स्वास्थ्यमा आएको खराबी र उपचाररत अवस्थामा रहेको हुनाले मेहतालाई तत्काल नियन्त्रणमा नलिइएको बताउँछन् । उपचार गर्न पाउनु व्यक्तिको पहिलो अधिकार भएकाले मुद्दा दर्ता भई आवश्यक कानुनी प्रकृया अघि बढिसकेको अवस्थाकाबिच समेत मेहतालाई स्वास्थ्योपचारकालागि परिवारको रोहवरमा जिम्मा लगाइएको अधिकारी बताउँछन् ।

मुद्दा दर्ता भई अदालतबाट समेत पक्राउ आदेश जारी भैसकेकोे हुनाले प्रहरी निगरानीमा राखिएका मेहतालाई स्वास्थ्यमा सुधार आउनासाथ नियन्त्रणमा लिइने उनको भनाई छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार लामो समय बिरामी भई उपचाररत रहेका मेहताको नियतमा खोट रहेको हुन सक्ने आंकलनमा चिकित्सकसँगको छुट्टै परामर्श समेत थालिएको छ ।

अनुसन्धानका क्रममा प्रहरीलाई गुमराहमा पार्ने गरी बिरामीको नाटक गरेको पाइए मेहतालाई तत्काल नियन्त्रणमा लिई आवश्यक कार्वाहीको प्रकृया तत्कालै अघि बढाउने प्रहरीले जनाएको छ । चिकित्सकसँगको सल्लाह, औषधोपचार र स्वास्थ्य समस्या सहित समाधानका विषयमा अध्ययन र अनुसन्धान पश्चात त्यसपछिको अन्य प्रकृयालाई अघि बढाउने गरी तयारी थालिएको प्रहरीको भनाई छ ।

ठगि मुद्दा उपरका सबै कागजात दुरुस्त बनाई मेहता पक्राउका लागि तयारी अवस्थामा रहेको बताउने प्रहरी चिकित्सकको सल्लाह र सुझावको पखाईमा रहेको बुझिएको छ । स्वयं प्रहरी प्रमुख अधिकारीले समेत अस्पतालमा निगरानीका लागि प्रहरी खटाइएकाले जुनकुनै बेला मेहता पक्राउ पर्न सक्ने बताउँछन् । धरान, इनरुवा, घर र नोबेल बिराटनगर गर्दै उपचारको क्रममा रहेका मेहता उपर भने पक्राउ छल्न आवश्यकता भन्दा बढी बिरामीको नाटक गरिरहेको आरोप लागिरहेको छ ।

उजुरी दिन लगाउने भनिएका केहि व्यक्ति र समाचार प्रकाशन गर्ने संचारकर्मीहरुलाई स्वयं मेहताकै पहलमा सेटिङमा ल्याउने प्रयास भैरहेको समेत बुझिन आएको छ । दलिय आडमा मेहताले अस्पतालमै रहेर मुद्दा कमजोर तुल्याउने प्रयासमा जुटेको समेत स्रोतको दाबी छ । कुनै समय एलेन कलेजमा सँगै काम गरेका बिनोद मण्डलसँगको असन्तुष्टि पश्चात ठगि प्रकरण बाहिर आएको प्रहरी अनुसन्धानको क्रममा खुल्न आएको छ ।

आदित्य कर्ण, सुनिलकुमार यादव, दिपेनकुमार मण्डल, बलराम उराव, अभिनास ऋषिदेव, शेखर ऋषिदेव, अक्षय उराव, युबराज उराव, अमर मण्डल, अजयकुमार मण्डल, बिजयकुमार मण्डल, करण यादव, मिथुन यादव, पन्नालाल साह, रोशन यादव, नरेशकुमार उराव र पप्पु यादव समेत १६ जनाले ठगि मुद्दामा कार्वाहीकालागि एलेन कलेजका संचालक सहितका नाममा प्रहरी समक्ष उजुरी दिएका छन् ।

उजुरी दिएपनि सोधपुछ र आवश्यक अनुसन्धानकालागि बोलाउँदा उजुरीकर्ताहरु एकाद बाहेक सम्पर्कमा आउन नचाहेको प्रहरीले जनाएको छ । ठगि सम्वन्धि मुद्दामा आवश्यक कागजात सहित विवरण दुरुस्त पार्न उजुरीकर्ताहरु अनुपस्थित रहँदा ढिलाई भैरहेको प्रहरी बताउँछ । उजुरीकर्ता बाहेक अन्य प्रकृयाका सवालमा प्रहरीले ठगि मुद्दामा आवश्यक सबै कागजात जुटाइसकेको पाइएको छ ।

एलेन कलेजले संचालन गरेको भनिएको १३ सय २० घण्टाको कम्प्युटर कोर्स गैर कानुनी रहेको, सीटीईभिटीसँग सम्वन्धन नलिई नाम जोडेर झुटो प्रचार गरिएको, विभिन्न प्रलोभन देखाई विद्यार्थी भर्ना गराएको, विद्यार्थीबाट बढी शुल्क लिई ठगि गरिएको जस्ता विषय स्वयं सीटीईभिटीबाट गैर कानुनी ठहर भैसकेकाले सोही अनुरुपको मुद्दाको प्रकृया अघि बढाइएको प्रहरीले स्पष्ट पारेको छ ।

अनुसन्धानका क्रममा एलेन कलेजका नाममा गैर कानुनी रुपले संचालन गरिएको कोर्ससँग सम्वन्धित सबै कागजात सहित अनुसन्धानकालागि आवश्यक अन्य कागजात समेत प्रहरीले बरामद गरिसकेको जनाएको छ । एलेन कलेजले कार्यक्रम संचालनकालागि सहकार्य गरेको बिराटनगरको स्किल फाउण्डेसन समेत प्रहरी अनुसन्धानको क्रममा तानिने भएको छ ।

सीटीईभिटीले स्किलले अर्को संस्थालाई कार्यक्रम संचालन गर्न दिन नमिल्ने सहितको पत्र प्रहरीलाई उपलब्ध गराएको छ । उल्लेखित कोर्स अध्ययन गर्ने विद्यार्थी एसईई उत्रिर्ण हुनुपर्ने, कार्यक्रम संचालन गर्न कम्पनी रजिष्टार कार्यालयमा दर्ता भई सीटीईभिटीबाट अनिवार्य सम्बन्धन लिनुपर्ने, प्रशिक्षक दक्ष र अनुभवी हुनुपर्ने जस्ता स्पष्ट बुँदा उल्लेख गर्दै ठगि प्रमाणित सहितको पत्र प्रहरीलाई उपलब्ध गराएसँगै एलेन कलेज विरुद्धको मुद्दा ठोस रुपमा अघि बढाउन सहज भएको सुनसरी प्रहरीले जनाएको छ ।

सीटीईभिटी र अख्तियारमा उजुरी गरेका विद्यार्थीहरुले एलेन उपर ठगि विरुद्ध माघ २० मा सुनसरी प्रहरीमा उजुरी दर्ता गराएका थिए ।
सीटीईभिटी क्षेत्रीय कार्यालय इटहरीले भने प्राप्त उजुरीका आधारमा माघ १७ गतेनै गैर कानुनी रुपमा संचालित एलेनको कार्यक्रम बन्द गराई क्षतिपूर्ति दिलाइदिन भन्दै प्रशासनमा पत्र पठाएको थियो ।

प्रशासनले आवश्यक कार्वाहीकालागि प्रहरीलाई आदेश सहितको पत्र काटेपछी प्रहरीले सोसँग सम्वन्धित अनुसन्धान र कार्वाहीको प्रकृया अघि बढाएको हो । यसैबिच एलेन प्रकरणका विषयमा प्रधानमंत्रीको कार्यालय मातहत संचालनमा रहेको हेल्लो सरकारमा समेत उजुरी परेको पाइएको छ । हेल्लो सरकारले समेत घटना प्रकृया र अनुसन्धानको विषयमा प्रहरीसँग जानकारी लिइरहेको बुझिएको छ ।

एलेन कलेजले भने गैर कानुनी भनिएको कोर्स बन्द गरिएको जनाएको छ । एलेनले यतिबेला कम्प्युटर प्रोगामर एण्ड एप्लिकेसन डेभलोपर कोर्स पढाउन थालिएको बताएको छ । १३ सय २० घण्टे कोर्सका नाममा भर्ना गरिएका विद्यार्थीलाई अर्को कोर्स पढाइनु कानुनी रुपमा कत्तिको जायज छ वा अर्को ठगि सावित हुने हो त्यो भने सम्वन्धित निकायले चाल्ने थप अनुसन्धानका क्रममा खुल्नेनै छ ।

 

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्