Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ अधिकारीसँग मधेश आकर्षित, विकासका लागि ल्याउन थाल्यो चिनियाँ प्रोजेक्ट र अनुदान

भारतसँग मात्रै नजिकको सम्बन्ध बनाउने मधेशवादी दलहरु अहिले चीनसँग राम्रो सम्बन्ध बनाउन थालेका छन् । पहिले पनि राजपा नेपालका नेताहरूलाई चीन भ्रमणमा जानका लागि निमन्त्रणा नआएको पनि होइन । तर उनीहरू चीनतिर जान रुचि देखाएनन् । त्यसको कारण हो-भारत । तर पछिल्लो समय राजपा नेपालका नेताले चीनसँग राम्रो सम्बन्ध बनाएउन थालेका छन् ।

चिनियाँ अधिकारीसँग उनीहरु आकर्षित बन्दैगएको छ । सिधै चिनियाँ दूतावास आउजाउ गर्ने क्रम सुरु भएको छ । कतिसम्म भने, मधेसको विकासका लागि चिनियाँ प्रोजेक्ट र अनुदान ल्याउन पनि थालिसकेका छन् । चीनसँग मित्रताको सुरुवात भने २०७४ बाट नजिकिएको अनुमान सहजै लगाउन सकिन्छ । २०७४ साउनमा आएको बाढीले तराई मधेसमा निकै क्षति भयो । मधेसमा देश, विदेशबाट राहत पुगिरहेको थियो ।

त्यसमा चीनले पनि सहयोग गर्न चाहेको थियो । तर कसको माध्यमबाट सहयोग गरे उसलाई फाइदा हुन्छ भनी उपयुक्त पात्रको खोजीमा थियो । मधेसमा सहयोगका लागि राजपा नेपाल नै उपयुक्त पात्र हुनसक्छ भन्ने आँकलन चीनले गर्यो र नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिले राजपा नेपालका अध्यक्षमण्डलका तत्कालीन संयोजक महन्थ ठाकुरसँग भेट गरे । भेटमा उनीहरुले तराई मधेसमा दिने राहतको वितरणका लागि सहयोग गर्न ठाकुरसँग आग्रह गरेका थिए ।

त्यो आग्रह अध्यक्ष ठाकुरले तत्काल स्वीकार गरेनन् । पार्टीमा छलफल गरी जानकारी गराउने भनेर ठाकुरले चिनियाँ प्रतिनिधिलाई फर्काएका थिए । त्यसपछि ठाकुरले भारतीय दूतावासमा फोन गरी चीनले गरेको आग्रह बारेमा जानकारी गराएका थिए । राजपा नेपालका एक नेताले भने, ‘त्यसपछि दूतावासले राहत लिँदैमा केही हुँदैन तर त्यसमा होस् पुर्याउनु होला भन्यो ।’ त्यसपछि ठाकुरले पार्टीका अन्य नेता तथा आफ्ना निकटका व्यक्तिसँग पनि सल्लाह गरे ।

सबैले यस्तो बेलामा राहत लिएर वितरण गर्दा राम्रो नै हुने सल्लाह दिएपछि ठाकुरले त्यो लिन स्वीकार गरेको स्रोतको दावी छ । तर राहतको प्याकेज चाहिँ लिएनन् । राहतका लागि वितरण गर्ने सामग्री राजपा नेपालले आफै खरिद गर्यो र त्यसको बिल चिनियाँ दुतावासमा पेस गरेको थियो । यो एउटा उदाहरण मात्र हो । चीनसँग राजपा नेपालका नेताहरूले भित्रभित्रै यस्ता सहयोग थुप्रै लिइरहेका छन् ।

पछिल्लो समय पार्टीका महासचिव राजिव झा र केन्द्रीय सदस्य अनिल महासेठले तराई मधेसको क्षेत्रमा चलाएको सीमा जागरण अभियान त्यसैको एउटा कडी रहेको स्रोतले जनाएको छ । राजेन्द्र महतो निकट रहेका राजिव झाको चीनसँग राम्रो सम्बन्ध रहेको छ । उनले नै राजेन्द्र महतो र अनिल महासेठलाई चीनसँग जोडेको राजपा नेपाल स्रोतले जनाएको छ । त्यसबेलादेखि चीन र राजपाको ‘कनेक्सन’ जोडिएको हो । यद्यपि चीनले राजपा नेपालसँग पनि घुलमिल हुन निकै प्रयास गर्यो तर सफल भइरहेको थिएन । चीनले आफ्नो प्रयास अझै छाडेको छैन । विभिन्न सूत्रबाट आफ्नो सम्पर्क बढाउँदै गइरहेको छ ।

त्यसको सबभन्दा ठूलो सूत्र डा. राजिव झा भएका छन् । विगत २० वर्षदेखि चीनमा बस्दै आएका धनुषाका डा. झा चीनसँग राजपालाई सम्बन्ध स्थापित गराउन निकै प्रयास गरिरहेका छन् । उनी यो कार्यमा धेरै हदसम्म सफल पनि भएका छन् । ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर’का निर्देशकसमेत रहेका डा। झा राजपा नेपालका नेताहरूसँग निरन्तर भेटेर चीन-मधेस सम्बन्धको विषयमा ब्रिफिङ गरिरहेका छन् ।

सोही सिलसिलामा डा. झाले माघ १९ गते राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई भेटेका छन् । ‘चीनले मधेससँग सम्बन्ध बनाउन चाहेको छ, मधेसमा विकास गर्न चाहेको छ’ जस्ता कुरा ठाकुरसमक्ष राखेर चीनप्रति सकारात्मक बनाउन खोजेको पार्टी स्रोतले जनाएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट रहेका डा। झा राजपा नेपालका थुप्रै नेताहरूलाई चीनतर्फको सम्बन्धमा सकारात्मक बन्न मनाउनका लागि धेरै हदसम्म सफल पनि भएको बताइएको छ ।

संविधान संशोधनमा पनि आश्वासन संविधान पारित भएदेखि नै राजपा नेपालले संविधान संशोधनको मुद्दालाई मुख्य रूपमा उठाएको छ । तर उसको भगीरथ प्रयत्नहरु सफल हुन सकेका छैनन् र संविधान संशोधन भइरहेको छैन । ‘संविधान संशोधनका लागि आफ्नो तर्फबाट समेत पहल गर्र्ने भनी चीनले राजपा नेपाललाई आश्वासन दिएको छ’, राजपा नेपालका एकजना महासचिव बताउँदछन् ।

उनका अनुसार, संविधान संशोधनको सवालमा राजपा नेपाल यति शान्त हुनुको खास कारण चीनको त्यो आश्वासन नै हो । उनको दावी छ, ‘चीनले कुटनीतिक च्यानलबाट संविधान संशोधनका लागि प्रधानमन्त्री समक्ष पहल गर्ने आश्वासन दिएको छ ।’ त्यसो त संविधान संशोधन गर्न पहल गरिदिने आश्वासन भारतले पनि दिएको थियो तर सकिरहेको छैन । भारतले संविधान संशोधन गराउन सक्दैन भन्ने कुरा राजपा नेपालका नेताहरूलाई पनि लाग्न थालेको विश्लेषकहरु बताउँदछन् । उनीहरुको दावी छ, त्यही भएर विस्तारै राजपा नेपालको झुकाव चीनतिर बढेको छ ।

कुनै बेला भारतसँग नेपालका राजनीतिक दलमध्ये सबभन्दा नजिकको दल राजपा नेपाल मानिन्थ्यो । राजपा नेपालले पनि भारतले भनेका सबै कुरा मान्थ्यो तर त्यसबाट केही उपलब्धि नहुने भएपछि नेताहरू रुष्ट बनेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका एक सदस्यले भने, ‘राजपा नेपाललाई भारतले प्रयोग मात्र गरेको छ । अहिलेसम्म राजनीतिक रूपमा कुनै सहयोग गरेको छैन ।’

राजपा नेपालका नेताहरूको झुकाव चीनतिर बढ्न थालेपछि भारतले पनि महत्त्व दिन छाडेको छ । योबीचमा राजपा नेपालका थुप्रै नेता भारत गएका थिए तर त्यहाँ कसैले वास्ता गरेनन् । महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादवलगायतका नेताहरू दिल्ली गएर फर्किसकेका छन् । तर भारतले उनीहरूलाई पहिलेको जस्तो महत्त्व नदिएको गुनासो पार्टीमा सुनिन थालेको छ । अध्यक्षमण्डलको विवादमा पनि राजपा नेपालले भारतको सहयोग चाहेको थियो तर त्यसमा उसले कुनै चासो लिएन । सुरुमा भारतले महन्थ ठाकुरलाई अध्यक्षमण्डलका संयोजक बनाउन चाहेको थियो तर राजेन्द्र महतोले नटेरेपछि पछाडि हटेको थियो ।

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्