Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूँजीबजारमा टेलिकम अग्रस्थानमा , तीन अर्बको सम्पत्ति बढ्यो

काठमाडौँ – बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ । 

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको यस साताको कूल १० उत्कृष्ट कम्पनीको सूचीमा टेलिकम नै कायम छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १७ अर्ब ४५ करोड पुगेको छ । गत साताको तुलनामा टेलिकमको बजार मूल्यमा करीब रु तीन अर्बले वृद्धि भएको हो । 

गत साता टेलिकमको बजार पूँजीकरण मूल्य रु एक खर्ब १४ अर्ब ३० करोड थियो । सरकारी स्वामित्वको नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा अग्रस्थानमा रहन पुगेको स्टकले जनाएको छ

यस्तै दोस्रो नम्बरमा रहेको नवील बैंकको बजार पूँजीकरण रु ७४ अर्ब ८३ करोड छ । गत साता सो बैंकको रु ७५ अर्ब ८८ करोड बराबरको बजार पूँजीकरण मूल्य रहेको थियो । यस साता करीब रु एक अर्ब बराबरको मूल्यमा कमी आएको हो । 

तेस्रोमा यस साता पनि नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको रु ६८ अर्ब ९१ लाख ९० हजार बजार पूँजीकरण मूल्य पुग्दा गत साताको तुलनामा केही वृद्धि भएको हो । गत साता सो बैंकको रु ६८ अर्ब बराबरको बजार पूँजीकरण मूल्य रहेको थियो । 

चौथोमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको छ । त्यसको रु ५६ अर्ब ८० लाख बराबरको बजार पूँजीकरण हुन पुगेको छ । गत साता रु ५५ अर्ब २७ करोड रहेको थियो । पाँचौँमा पुनःएभरेष्ट बैंक नै रहन सफल भएको छ । सो बैंकको रु ५० अर्ब ६४ करोड ९५ लाख पुगेको छ । गत साता रु ५० अर्ब ६४ करोड ९५ लाख बराबरको बजार पूँजीकरण रहेको छ । 

यस्तै हिमालयन बैंकको रु ४२ अर्ब ८४ करोड हुन पुगेको छ । गत साता रु ४३ अर्ब ८१ करोड रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सको पनि बजार पूँजीकरण घटेको छ । गत साता रु ४१ अर्ब रहेकामा यस साता रु ४० अर्ब ८९ करोड बराबर हुन पुगेको छ । 

यस्तै नेपाल एसबीआइ बैंकको पनि बजार पूँजीकरणमा गिरावट आएको छ । गत साता रु ३९ अर्ब ५९ करोड रहेकामा यस साता रु ३९ अर्ब दुई करोडमा सीमित भएको छ । एनआइसी एशिया बैंकको भने सामान्यरुपमा वृद्धि भएको छ । गत साता रु ३४ अर्ब १३ करोड रहेकामा यस साता सामान्य वृद्धि भई रु ३४ अर्ब ६१ करोड माथि पुगेको छ । 

त्यस्तै एनएमबी बैंकको पनि सामान्य वृद्धि भएको छ । गत साता रु ३० अर्ब ६० करोड बराबरको बजार पूँजीकरण रहेकामा यस साता रु ३१ अर्ब १२ करोडमाथि पुगेको छ । स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको शेयर मूल्यका आधारमा उत्कृष्ट दश कम्पनी छनोट गरेको हो । 

स्टकका अनुसार यस साता ती कम्पनीका शेयर सूचीकृत भएका छन् । त्यसमा पञ्चकन्या माईको एक करोड १० लाख कित्ता साधारण शेयर, कालिका पावर कम्पनीको ६० लाख कित्ता साधारण शेयर र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ४५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएका छन् । 

प्रकाशित मिति: Oct 13, 2018

प्रतिक्रिया दिनुहोस्