Logo
१५ बैशाख २०८१, शनिबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी दलहरूले कम्युनिष्टको फेरो समाते, यो त ओलीको एउटा राजनीतिक पोजिसन हो

जितेन्द्र नारायण देव, नेता-नेपाली कांग्रेस तथा राष्ट्रिसभा सदस्य

० नेपाल लोकतानित्रक फोरमलाई नेपाली कांँग्रेसमा समायोजन गरेदेखि तपाईहरू कति सन्तुष्ट हुनुहन्छ ?
— राजनीतिक र वैचारिक रूपमा हामी सन्तुष्ट नै छौं तर सांगठनिक रूपमा समायोजनको काम बाँकी छ । अहिलेसम्म विभिन्न कारणले गर्दा समायोजनको काम भइसकेको छैन । भदौ २८ गतेदेखि सुरू भएको पार्टीको केन्द्रीय समितिको बैठकले समायोजनको कुरा अगाडि बढ्छ भन्ने विश्वास लिएका छौं ।

० अहिलेसम्मको अवस्थालाई हेर्दा सन्तुष्ट नै हुनुहुन्छ ?
— असन्तुष्ट हुने त कुनै कारण नै छैन । नेताहरू वा केन्द्रीय समितिले नचाहेर मात्र समायोजनको काम अगाडि नबढेको होइन  । केही त विधानको समस्याले गर्दा पनि हो । नेपाली कांँग्रेसको विधान पुरानो छ । अहिले संविधान जारी भइसकेको अवस्था पनि छ । त्यसको आवश्यक्ता र औचित्यको आधारमा पार्टी विधानमा जुन परिमार्जन र संशोधन हुनुपर्दथ्यो त्यो भएको छैन । नेपाली कांँग्रेसको विधान परिमार्जन र संशोधनको आफ्नै व्यवस्था छ । केन्द्रीय समितिले प्रस्ताव गर्छ र महासमितिबाट त्यसको अनुमोदन हुन्छ । महासमितिको बैठक महाधिवेशन पछि हुन सकेको छैन । तर आगामी मंसिरको ५ देखि ९ गतेसम्म हामीले महासमिति बैठकको मिति तोकेका छौं । केही कुराहरू ठोस रूपमा केन्द्रीय कार्यसमितिको बैठकबाट सम्बोधन हुन्छ भन्ने मलाई लाग्छ । जो साथीहरू पूर्व फोरम लोकतान्त्रिक पार्टीमा हुँदा निक्कै सक्रिय हुनुहुन्थ्यो, ती साथीहरूले लामो समयसम्म ठोस जिम्मेवारी नपाउँदा असन्तुष्टि बढ्दै जानु स्वभाविक नै हो । केही व्यक्तिहरू अर्को पार्टीतिर पनि लाग्नुभयो । समयमा समायोजन नहुँदा नेपाली कांग्रेसलाई नै घाटा हुने कामहरू त भएको छ । हिजोको आन्दोलनको अवस्था, तीन चरणको निर्वाचनको अवस्थाले गर्दा लामो समयसम्म त्यतै व्यस्त भइयो । हिजोको दिन जे–जस्तो रहेता पनि अब यो मुद्दा तुरून्तै सम्बोधन भएर जान्छ भन्ने मलाई लाग्छ ।

० पूर्व पार्टीका अध्यक्ष विजय कुमार गच्छदारले त सार्वजनिक रूपमा नै असन्तुष्टि पोख्दै आउनुभएको छ । उहाँले विवश भएर पार्टीबाटै बाहिरिने अवस्था पनि आउन सक्छ चेतावनी पनि दिनुभएको छ नि ?
— मैले बुझे अनुसार गच्छदारजीले दिनुभएको अभिव्यक्तिको आधारमा मिडियामा जे–जस्ता खबरहरू सम्प्रेषित भयो त्यसमा सत्यता छैन । गच्छदारजीले विधानलाई छिट्टो सच्याएर काम अगाडि बढाउनु प¥यो र हाम्रो माग सम्बोधन गर्नु प¥यो भनेर भन्नुभएको हो । यसरी ढिलासुस्ती गर्नुहुँदैन भनेर असन्तृष्टि व्यक्त गर्नुभएको थियो । तर यसको मतलव यो होइन कि हामीले विकल्प सोचर अन्तै जाने र छुट्टै पार्टी बनाउने हो ।

० निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकीकरण गर्नुभयो, तर, सहमतिअनुरूप पूर्वपार्टीका प्रतिनिधि र प्रदेशसभामा टिकट दिइएन भन्ने गुनासो त तपाईकै पार्टीका नेताहरूबाट आइरहेको छ, यस्ता गुनासोहरूलाई कसरी समेट्नु हुन्छ ?
— यस्ता कुरामा कुनै दम छैन । प्रतिनिधिसभामा टिकट पाउने सन्दर्भमा म र विजयकुमार गच्छदार बाहेक रामजनम चौधरी, गोपाल दहितले प्रतिनिधिसभाको निर्वाचनमा टिकट पायौं । त्यस्तै प्रदेशसभाको निर्वाचनमा चुननारायण चौधारी, जनक चौधरीजीले टिकट पाउनुभयो । अझ दुई चारजना साथीहरूले अझ बढी टिकट पाएको भए राम्रो हुन्थ्यो पनि भनेका थिए । समानुपातिकमा पनि एक÷दुई जनालाई समेट्न पाएको भए अझ राम्रो हुन्थ्यो भन्ने सोच त आइहाल्छ । यसपाली सबै चरणका निर्वाचनहरूमा पार्टीले नै ठूलो हार ब्योर्होनु प¥यो । समानुपातिकमा पनि पार्टीको सिट पहिलेभन्दा खुम्चिएर आएको छ । त्यस अनुसार समावेशी कोटामा हामी पनि खुम्चिनु पर्ने अवस्था भयो ।

० पार्टी एकीकरण पछि आजको दिनसम्म पछुतो त भएको छैन ?
— पहिले पनि हामीले मधेशको मुद्दा उठाउँदै आएको हौं । अहिले पनि आफूलाई मधेशी दल भन्नेहरू भन्दा पनि हामी नेपाली कांँग्रेस भित्रका मधेशीहरू बढी सक्रिय भएर काम गरिरहेका छौं । हामीलाई गौरव महसुस हुन्छ । जतिबेला हामी सरकारमा थियौं, शेरबहादुर देउवाजीको नेतृत्वको सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लगेको थियो । कम्युनिष्टहरूको कारणले गर्दा नै त्यो प्रस्ताव पास हुन सकेन । आज मधेशवादी दलहरू त्यही कम्युनिष्टहरूको फेरो समातेर कोही सरकारमा छ त कोही सरकारलाई समर्थन गरिरहेको छ । आजको दिनमा नेपाली काँंग्रेसभन्दा दृढताका साथ प्रजातन्त्र र मधेशको लागि लड्ने कुनै पनि पार्टी देख्दिन ।

आफूलाई मधेशवादी पार्टी भन्नेहरूलाई त लज्जाबोध हुनुपर्ने अवस्था भइसकेको छ, उनीहरूको आफ्नै व्यवहारले गर्दा । आफूलाई मधेशको मसिहा हुँ भन्ने कै अगाडि राममनोहर यादव समातिन्छ, हिरासतमा लगिन्छ र मृत्युवरण हुन्छ । यो अवस्था हेर्दाखेरी त नेपाली काँंग्रेस नै यो मुलुकमा यस्तो एउटा पार्टी हो त्यसले आफ्नो सैद्धान्तिक राजनीतिक पोजिसन कहिल्यै परिवर्तन गर्दैन । अहिले पनि हामी संविधान संशोधनको एजेण्डालाई लिएरै हिडिरहेका छौं । नेपाली काँंग्रेस भित्र मधेशका मुद्दाको विषयमा व्यापक छलफल गर्ने, विचार विमर्श गर्ने वातावरण छ तर त्यस्तो अवस्था कम्युनिष्ट पार्टीमा छैन । कम्युनिष्ट पार्टी भित्र रहेका मधेशीहरू मातृका यादव, प्रभु साहहरूले त्यस पार्टीभित्र बसेर मधेशको मुद्दाको विषयमा बोल्न सक्ने अवस्था अब रहेन ।

एमाले र माओवादी मिलिसकेपछि बनेको कम्युनिष्ट पार्टीमा मधेशको मुद्दा उठाउनै नपाइने भइसकेको अवस्था रहेका छ भने मधेशवादीहरू सत्ताको स्वाद लिनको लागि नै व्यस्त छन् । हिजो विजय कुमार गच्छदार सरकारमा गयो भनेर गाली गर्ने राजपा र फोरमका नेताहरूलाई अब म सोध्न चाहन्छु, संविधान संशोधन कहिले हुन्छ ? मुख्य रूपमा प्रतिनिधित्वको सवाल र संघीयताको सिमानाको सवालमा ५० भन्दा बढी मधेशीहरूले शहादत दिए, रगत बग्यो, शहिद भए आज सयौं अपांग भएका छन् कति अस्पतालमा नै छन् । तिनीहरूका लागि मधेशी दलहरूले सोच्नुपर्दैन ?

० उपेन्द्र यादवको कार्यक्रमबाट पक्राउ परी हिरासतमा लगेपछि मृत्यु भएका राममनोहर यादवको अहिलेसम्म पोष्टमार्टम पनि हुन सकेको छैन  ।यस विषयमा सम्बन्धित पक्षको ध्यान किन नगएको होला ?
— राममनोहर यादवको गैरन्यायिक किसिमबाट हत्या भएको हो कि भन्ने बुझिन्छ । पत्रपत्रिकामा, बुद्धिजीवि, मानवअधिकारवादीहरूले त्यही कोणबाट कुराहरू ल्याइराखेका छन् । हत्या हो कि मृत्यु भएको हो भनेर बुझ्नको लागि त पोष्टमार्टम हुनुपर्छ । न्यायिक छानबिन समिति गठन हुनुपर्छ । नेपालमा अहिलेको संविधानअन्तर्गत समावेशी लोकतन्त्र र मानवअधिकारको नयाँ मूल्य र मान्यताको आधारमा प्रहरी भनेको जनताको भक्षक होइन रक्षक हो । जब गुण्डाहरू, बदमासहरू, अपराधीहरूले सर्वसाधारणमाथि आक्रमण गर्छ, उ ज्यान जोगाउन प्रहरीकोमा जान्छ किनकी प्रहरी हाम्रो रक्षक हो हामीलाई सुरक्षा दिन्छ भन्ने नेपाली जनताको बुझाई रहेको छ । राममनोहर यादव प्रहरीसँगै हिरासतसम्म आइसकेको अवस्थामा उसलाई बचाउने, हरसम्भव उपचार गराउने प्रयास प्रहरीको हो । पोष्टमार्टम नै हुन नसक्नुको कारण के हो ? न्यायिक छानबिन समिति सरकारले किन नबनाएको ? यसो हुँदा त दिनप्रतिदिन आशंका बढ्दै जान्छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनहरूले पनि यो कुरा उठाइरहेको छ । नेपाल भित्रका अधिकारवादी संगठनहरूले पनि आवाज उठाएका छन्  ।

० संविधान संशोधन आवश्यक्ता र औचित्यको आधारमा हुन्छ भनेर जसरी यो सरकारले भन्दै आएको छ, तपाईंहरूलाई के लाग्छ अहिले संविधान संशोधनको आवश्यक्ता छ ?
— यो त आडम्बरी कुरा भयो । मधेशवादी दलहरूले प्रधानमन्त्रीको यो कुरालाई विश्वास गरेको देखेर मलाई त विरक्त लागेको छ । औचित्य र आवश्यक्ताको आधारमा संविधान संशोधन हुन्छ भन्नुको मतलब अहिले औचित्य छैन र औचित्य र आवश्यक्ता भएपछि गरौला भन्ने नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षको भनाई हो । यो त एउटा राजनीतिक पोजिसन हो केपी ओलीको । मधेशी दलका हिजोको पोजिसन के थियो ? यो संविधानमा पहिचान, संघीयता, प्रतिनिधित्व, सिमाकनको सन्दर्भमा धेरै कमजोरी रहेको छ  । त्यसलाई सच्याउनुपर्छ भनेर मधेशी दलहरू संविधानसभाबाट बाहिर निस्केर सडकमा आन्दोलन गरेका होएनन् ? हाम्रो पार्टी तत्कालीन फोरम लोकतान्त्रिकले संविधानमा हस्ताक्षर नगरेर निस्केको हो नि त । हाम्रो सन्दर्भमा संविधान संशोधनको आवश्यक्ता र औचित्य त्यतिबेला नै थियो, जतिबेला हामीले संविधानमा हस्ताक्षर गरेनौं । संविधान संशोधन नचाहने, मधेशी जनतालाई अधिकार दिन नचाहने, पहिचान विरोधी, संघीयतालाई कमजोर बनाउन चाहनेहरू राजनीतिक पार्र्टी र नेताहरूको भनाई हो औचित्य र आवश्यकक्ताको आधारमा संविधान संशोधन हुन्छ । यो त एउटा षड्यन्त्रकारी भाषा हो ।

० त्यसो भए केपी ओलीले मधेशी दलहरूलाई ढाँटेका हुन् त ?
— एकदमै ढाँट्ने काम गरिरहेका छन् र यदि साँच्चै मधेशको विषयलाई सम्बोधन गर्ने हो भने प्रतिनिधत्वको मुद्दाको सन्दर्भमा एउटा ड्राफ्ट बनाउनुपर्छ । संघीयताको सिमाकनको सन्दर्भमा संघीय आयोग बनाउनुपर्छ । भाषा र नागरिकताको सन्दर्भमा कुरा संसदमा आइसकेको छ । मधेशको पहिचान र लोकतान्त्रिक आन्दोलनको मुख्य विषय भनेको संघीयताको सिमाकनको विषय हो । त्यो सन्दर्भमा उपयुक्त बाटो भनेको संविधानको प्रावधान अनुसार संघीय आयोग बनाएर निष्कर्षमा पुग्नु नै हो । संविधान मान्दैनौं भनेर जुन जुन पार्टीले विरोध गरिरहेका छन् तिनीहरू सबैलाई संविधानको स्वामित्व दिलाउनु अहिलेको आवश्यक्ता हो ।

० अहिलेको अवस्थामा नेपाली कांँग्रेसले संघीय संसदमा जसरी प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने थियो त्यस्तो पाइदैन, संख्याको हिसाबले पनि काँंग्रेस सशक्त प्रतिपक्षमा छैन । यता राष्ट्रिय जनता पार्टी सरकारलाई समर्थन गरेर सरकार बाहिर बसिरहेको अवस्था छ । राजपा र कांग्रेसबीच सहकार्य भएर एउटा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्ने सम्भावना कति छ ?

— त्यो सम्भावना छ । राजपाको नेतृत्वमा र उपेन्द्र यादवमा एक प्रकारको भ्रम छ कि उनीहरूको माग यो सरकारले पूरा गरिदिन्छ । उपेन्द्र यादवलाई म धेरै कुरा भन्न चाहन्न किनकी उनी मधेशवादीको मुखौंटा लगाएको एउटा कम्युनिष्ट हुन । समय आउँछ, जतिबेला उपेन्द्र यादवका पार्टी भित्रका सच्चा पहिचानका लागि लड्ने, संघीयता र समावेशीताको लागि लड्ने तप्काहरूले यो कुरा बुझ्ने छन् । राजपा आफूलाई मधेशको लोकतान्त्रिक पार्टी ठान्छ र उ भित्र लोकतान्त्रिक संस्कार र परिपाटी छ । यो सरकारले मधेशको मुद्दा सम्बोधन गर्र्छ भन्ने भ्रमबाट राजपा पनि ढिलोचाँडो मुक्त हुन्छ । त्यसपछि राजपा र नेपाली कांग्रेसबीच एउटा ठूलो लोकतान्त्रिक पार्टीको अवधारणा अन्तर्गत गठबन्धन बन्ने सम्भावनाहरू प्रशस्त छन् । नेपालको लोकतान्त्रिक समावेशी आन्दोलनको आवश्यकक्ता पनि यहि हो ।

० कांग्रेसभित्र धेरै गुटहरू छन् । तपाईहरू यो पार्टीमा समाहित भएपछि छुट्टै गुट बनाउनु भएको छ कि अन्य गुटमै हुनुहुन्छ ?
— हामी कुनै गुटमा छैनौं । हामी एकदम संस्थागत रूपमा शेरबहादुर देउवाको नेतृत्वमा पार्टीको जे फैसला हुन्छ त्यो फैसलालाई मानेर लागू गछौं । हामी पार्टीसँग छौं ।

@पत्रकार रामसुकुल मण्डलले गरेकाको कुराकानीमा अधारित

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्