Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर्राष्ट्रिय अवार्डका लागि पहिलोपल्ट छानिए नेपाली शिक्षक

पोखरा : विश्वभरका शिक्षक सहभागी पियरसन इ एल टी टिचर अवार्ड २०१८ मा प्रतिस्पर्धामा पहिलोपल्ट नेपाली शिक्षक छनोट भएका छन् । सय भन्दाबढी देशका शिक्षकहरुले सहभागिता जनाएको उक्त प्रतिष्पर्धामा उनी टप ३९ भित्र पर्न सफल भएका हुन् । पोखराको नदिपुरका ३७ वर्षीय वामनकुमार घिमिरे बेलायतमा प्रत्येक बर्ष प्रदान गरिने अवार्डका लागि छानिएका हुन् ।

पोखराको मदरल्यान्ड माविका अंग्रेजी विषयका शिक्षक उनी विद्यार्थीको उपलब्धि कसरी मुल्याङ्कन गर्नुहुन्छ ? शिक्षक हुनुको सबै भन्दा राम्रो पक्ष कुन हो भन्ने प्रश्नको भिडीयो उत्तरका आधारमा प्रतिस्पर्धामा छानिएका हुन् ।  बेलायतको अंग्रेजी भाषा सिकाउने प्रख्यात संस्था पियरसनले आयोजना गरेको अवार्डको फाइनलमा पुग्न सफल भएकोमा घिमिरे खुशीले ब्यक्त गर्दै भने, ‘एउटा शिक्षाको क्षेत्रबाट प्रतिनिधित्व गरेर नेपाललाई विश्वमा चिनाउने अवसर पाएकोमा निकै खुशी लागेको छ।’

उनले विजेताको लागि गरिएको प्रक्रियाबारे भने असन्तुष्टि जनाए। ‘कुनै पनि शिक्षकको एक्सलेन्सीलाई कसरी अनलाईन भोटिङबाट मेजरमेन्ट गर्न सकिन्छ ? यो कुनै गायन, नृत्य र सुन्दरी प्रतियोगिता जस्तो प्रतिस्पर्धा होइन । जहाँ अनलाइन भोटिङ एसएमएसलाई आधार मानेर विजेता घोषणा गरिने ।’  उनले आफू विजेता बन्न भोटको याचना गर्दै हिँड्न आफ्नो पेशागत मर्यादाले नदिने बताए। ‘अहिलेसम्म जुन रुपबाट छानिएँ, म आफु विजेता भएको ठानेको छु ।’  माघ १० गते सम्म हुने अनलाइन भोटिङबारे उनले भने, ‘अनलाइन भोटको पारदर्शितामा मलाई विश्वास छैन ।’

विभिन्न देशमा वेवसाइट नै ह्याक गरेर भोट गरेको सुन्दा झन् नरमाइलो लागेको उनले बताए । ‘अनलाईन भोटका लागि मेरा विद्यार्थी र शुभचिन्तक निकै सक्रिय रहनुभएको छ। अनलाइन भोट गरिराख्नु भएको छ। उहाँहरुप्रति म आभारी छु,’ घिमिरेले सामाजिक संजालमा विद्यार्थीले देखाएको सम्मान र सदभावले निकै भावुक बनाएको बताए । उनले भने, ‘विद्यार्थीबाट पाएको अमूल्य सम्मानका शब्दले मैले नैतिक रुपमा अवार्ड जितिसकेको छु ।’

घिमिरेले अमेरिकी सरकारबाट ‘टिचिङ एक्सिलेन्स एचिभमेन्ट प्रोग्राम अर्वाड –२०१४ ’ र सोही बर्ष नै अष्ट्रेलिया सरकारबाट ‘अष्ट्रेलियन अवार्ड–२०१४’ पाइसकेका छन् । अमेरिकावाट ‘फेडेरल असिस्टेन अवार्ड – २०१६’ पनि उनले पाइसकेका छन् । सन् २०१२ मा कास्की जिल्लाका उत्कृष्ट अंग्रेजी शिक्षकको अवार्ड पाएका घिमिरेले अमेरिका र अष्ट्रेलिया पुगेर त्यहाँका बिद्यार्थीलाई समेत पढाउने अवसर प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्