Logo
१८ बैशाख २०८१, मंगलबार
(October 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारको छापापछि विपक्षी दलले मागे मुख्यमन्त्री राउतको राजीनामा

प्रदेश नं २ मा विपक्षी दलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् ।

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि विपक्षी दलले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।

अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेर विभिन्न फाइल नियन्त्रणमा लिएपछि विपक्षीहरुले मुख्यमन्त्री राउत पदमा रहिरहन नमिल्ने बताएका छन् ।

प्रदेश २ का विपक्षी दलहरुले भने मुख्यमन्त्रीकै कार्यालयमा अख्तियारले छापा मारेको भन्दै नैतिकताका आधारमा पनि मुख्यमन्त्री राउत पदमा बसिरहन नमिल्ने तर्क गरेका छन् ।

अख्तियारले छापा मारेको विषयलाई लिएर मुख्यमन्त्री राउतले भने आपत्ति जनाएका छन् । यद्यपि उनको दल जसपा नेपालले भने यसबारे केही प्रतिक्रिया दिएको छैन ।

मुख्यमन्त्रीमाथि गम्भीर आरोपसहित अख्तियारले मुख्यमन्त्री कार्यालयमै आएर छापा मारेपछि नैतिक प्रश्न खडा भएको भन्दै प्रदेशको इज्जत जोगाउनका लागि पनि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको भनाइ छ ।

प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य परमेश्वर साहले साइकल खरिद र वितरणको फाइलका लागि पटकपटक ताकेताका गर्दा पनि नबुझाएपछि बुधवार अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको भन्दै अख्तियारको कदमको स्वागत गरेका छन् ।

एउटा योजनामा मात्रै नभई स्वच्छता अभियान लगायत दर्जनौँ योजनामा भ्रष्टाचार भएको तथ्यलाई महालेखापरीक्षकको प्रतिवेदनले पनि प्रमाणित गरिसकेको अवस्थामा ती सबैमा अख्तियारले छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

अर्का प्रमुख विपक्षी नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेकोले छानबिन हुनुपर्ने माग गरेका छन् ।

अख्तियारलाई छानबिनमा सहयोग गर्न मुख्यमन्त्रीले तत्काल राजीनामा दिएर सहज बनाउनुपर्ने उनको भनाइ छ ।साइकल खरिद प्रक्रियाको मात्र होइन, मुख्यमन्त्री कार्यालयबाट सञ्चालित अन्य योजना तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयमा समेत छानबिन गरी अनुसन्धान गर्न उनले अख्तियारलाई सुझाए ।

प्रकाशित मिति: Oct 1, 2021

प्रतिक्रिया दिनुहोस्