Logo
२ जेष्ठ २०८१, बुधबार
(April 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४० हजार मत गणना हुँदा दोस्रो स्थानमा खड्का र थेगिमको प्रतिस्पर्धा

इलाम–२ को आधा भन्दा बढी मत गनेर सकिँदा पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् । दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहेको स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले प्रतिस्पर्धा गरेका छन् ।

४ मंसिर २०७९ को आम निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित कांग्रेस उम्मेदवार खड्काको निकटतम प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार थेगिम देखिएका छन् । दोस्रो स्थान कायम राख्न थेगिमसँग कांग्रेस संघर्षरत छ ।

हालसम्म माङसेबुङ, फाकफोकथुम ,चुलाचुली गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ वडा र देउमाई नगरपालिकाको १, २, ३ र ४ नम्बर वडाको मतगणना सकिएको छ ।

हालसम्म एमालेका उम्मेदवार सुहाङ नेम्बाङले १६ हजार २१९ मत पाएका छन् । उपनिर्वाचनमा खसेको ६९ हजार २८७ मतमध्ये ३९ हजार ९६१ मत गणना हुँदा नेम्बाङ भन्दा धेरै पछि रहेका खड्काले १० हजार ५५७ मत ल्याएका छन् । दुई उम्मेदवारको मतान्तर ५ हजार ६६२ छ ।

खड्कालाई स्वतन्त्र उम्मेदवार थेगिमले ८ हजार ८२५ मत ल्याएर पछ्याइरहेका छन् । आधा मतसंख्या गणना हुँदा कांग्रेस र स्वतन्त्र उम्मदेवारको मतान्तर १ हजार ७३२ छ ।

गत स्थानीय तहमा जितेका वडा तथा पालिकामा कांग्रेसका उम्मेदवारले पाए अनुसारको मत खड्काले बचाउन सकेनन् । गाउँपालिका अध्यक्ष र अधिकांश वडाध्यक्ष जितेको स्थानमासमेत कांग्रेस तेस्रो स्थानमा पुगेको छ ।

गाउँपालिका अध्यक्ष र ६ मध्ये ५ वटा वडाध्यक्ष जितेको चुलाचुली गाउँपालिकामा कांग्रेस तेस्रो स्थानमा खुम्चियो । एमालेले चुलाचुलीमा कुल मत ४ हजार ७४ पाउँदा कांग्रेसले २ दुई हजार ५८६ मत पायो । स्वतन्त्र उम्मेदवारले कांग्रेसलाई पछि पार्दै यस पालिकामा ३ हजार २९९ मत ल्याए ।

माङ्सेबुङ गाउँपालिकामा प्राप्त नतिजाले कांग्रेस थप पछि धकेलिन पुग्यो । स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष सहित सबै वडामा पराजित भएको हुँदा तुलनात्मक रुपमा कांग्रेस यहाँ कमजोर थियो ।

पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार थेगिमले ह्वात्तै मत बढाउँदा एमालेसँगको मतान्तर कम भयो स्वतन्त्र उम्मेदवारले कांग्रेसलाई नजिकबाट पछ्याए ।

माङ्सेबुङमा स्वतन्त्र उम्मेदवार थेगिमले कांग्रेस र एमाले उम्मेदवार भन्दा बढी मत पाएका थिए । थेगिमले २ हजार ६३९, एमालेले २ हजार ५९१ र कांग्रेसले १ हजार ४८० मत पाए । यस पालिकाको गणना सकिँदा कांग्रेससँग स्वतन्त्र उम्मेदवारको मतान्तर २०७ मात्रै थियो ।

सुरुवाती मतगणनामा फाकफोकथुमबाट कांग्रेसले अग्रता लिएको थियो । त्यो अग्रता दुईटा वडामा भन्दा बढी रहन सकेन । फाकफोकथुमको वडा नम्बर १, २ मतगणना सकिँदासम्म अग्रता लिइरहेका खड्कासँग मतान्तर नेम्बाङले ३ नम्बर वडामा पुग्दासम्म घटाइसकेका थिए ।

यी तीन वडाको मतगणना सकिँदा डम्बरको १ हजार ६५८ र नेम्बाङले १ हजार ६३० मत पाएका थिए । फाकफोकथुम गाउँपालिकाको सबै मत परिणाम आइसक्दा खड्का १ हजार १५५ मतले पछि परिसकेका थिए ।

एमालेले ४ हजार ४१३ मत पाउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले ३ हजार २५८ मत पायो । गत स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष जित्न नसकेको कांग्रेसले १, २, ४ र ७ को वडाध्यक्ष पद जितेको थियो ।

माई नगरपालिकाका वडा नं ६, ७ र ८ बाट पनि कांग्रेसले सन्तोषजनक मत पाउन सकेन । अघिल्लो चुनावमा वडा नम्बर ६ को वडाध्यक्ष जितेको कांग्रेसलाई वडा नम्बर ७ मा पुग्दा स्वतन्त्र उम्मेदवारले पनि पछि पारे ।

प्रकाशित मिति: Apr 29, 2024

प्रतिक्रिया दिनुहोस्