Logo
२ जेष्ठ २०८१, बुधबार
(April 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न चीनमा सम्झौता

१७ बैशाख, विराटनगर । चिनिया कम्पनीसँगको साझेदारीमा विराटनगरमा काेशी एनके माेटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ ।

चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा कोशी एन के मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो ।

नेपालमा आइतबारबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ । लगानी सम्मेलन चलिरहेको समयमा साेमबार चीनकाे फुजियन प्रान्तमा रहेकाे स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिले चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौता गरेका हुन् । दुई कम्पनीले पहिलाे चरणमा तीन अर्ब लगानी गर्नेछन् ।

एक वर्षभित्र विराटनगरमा चार पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य रहेकाे कोशी एन के मोटर्स प्रालिका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए ।

काेशी माेटर्सले चिनिया कम्पनीसँगकाे सहकार्यमा बस उत्पादन गर्ने लक्ष्य लिएकाे छ । सम्झाैता अनुसार उत्पादन सुरु भए काेशी माेटर्स ठूला सवारी उत्पादन गर्ने पहिलाे कम्पनी हुनेछ ।

स्यामन गोल्डेन चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी र पार्ट्स उत्पादन गर्ने चिनियाँ कम्पनी हो । याे कम्पनीले अन्य विद्युतीय सवारी उत्पादकलाई पनि गाडीका पार्टसहरु बिक्री गर्छ ।

नेपालकाे आवश्यकता र परिवेश अनुसार चिनियाँ र कोरियन प्रविधिमा आधारित चार पाङ्ग्रे विद्युतीय सवारी उत्पादन हुने पुरीले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडी उत्पादन प्लान्ट स्थापनाका लागि मोरङको बुढीगंगामा १५ विघा जग्गा तयारी अवस्थामा छ ।

एक वर्षभित्र सवारी उत्पादन गर्नेगरी पहिलो चरणमा तीन अर्ब लगानी गरिने अध्यक्ष पुरीले बताए । याे सम्झाैताले आर्थिक मन्दीलाई चिर्दै नेपालमा लगानीकाे वातावरण रहेकाे सन्देश दिने उनकाे भनाइ छ ।

प्रकाशित मिति: Apr 29, 2024

प्रतिक्रिया दिनुहोस्